arrow

गुटले बुनेका चक्रव्युहमा फस्दै नेकपा

सभामुख काण्डले नेकपामा निम्त्यायो संकट

logo
माधव प्रसाद चम्लागाई,
प्रकाशित २०७६ माघ ४ शनिबार
oli-prachanda.gif.gif

काठमाडौं। तत्कालीन सभामुख कृष्ण बहादुर महरा यौन काण्डमा मुछिएपछि बिगत चार महिनादेखि राष्ट्रिय राजनीति यसैको वरिपरि घुमिरहेको छ। महराले सभामुख पद त गुमाए गुमाए उपसभामुख शिवमाया तुम्बाहाम्फेले समेत उपसभामुख गुमाउने निश्चित प्रायः छ । एउटै दल तथा एउटै लिङ्गको सभामुख र उपसभामुख नहुने हुँदा संसदमा बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सभामुख गुमाउन चाहदैन् । तर नेकपाका शीर्ष नेता रहने सचिवालयले उपसभामुखबाट राजिनामा दिन निर्देशन दिदा पनि तुम्बाहाम्फे टसमस नगरी सचिवालयलाई नै चुनौती दिइरहेकी छिन् । 

अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका केपी ओली आफू उपस्थित नभएको सचिवालयको बैठकको निर्णय गर्नेले नै समाधान गरुन भन्दै कानमा तेल हालेर लामो समय बसे । भित्री आशय पनि सके सुवास नेम्वाङलाई नसके शिवमाया तुम्बहाम्फेलाई नै सभामुख बनाउने रणनीतिमा उनी देखिए। कृष्ण बहादुर महरा सभामुख हुँदा प्रधानमन्त्रीलाई असहयोग गरेको बिगत सम्झदै कुनै हालतमा पनि सभामुख पूर्वमाओवादी पक्षलाई नदिने कुरा नजिकलाई भनिरहेका थिए । महरासग तर्सिएका ओली बिरामी भएर थलिरहेको अवस्थामा समेत न्वारन देखिको शक्ति लगाएर पूर्वमाओवादीलाई नदिन उद्यत छन् ।

प्रचण्ड पनि कार्यकारी अध्यक्ष भएको शक्ति देखाउन पूर्वमाओवादी भित्रबाटै सभामुख बनाउन सबै खाले दाउ लगाइरहेका छन् । सुवास नेम्वाङलाई जुनसुकै हालतमा रोक्न र माओवादी भित्रका जसको नाममा भए पनि सहमति गर्न उनका नजिककाले दवाव सिर्जना गरेका छन् ।  उनलाई पूर्वमाओवादीबाट सभामुख बनाउन नसके नजिककाले साथ छोड्ने तथा पार्टीमा दोस्रो दर्जा पुनः दर्ज हुने मनोवैज्ञानिक दवाव समेत रहेको छ । त्यसैले प्रचण्डले ओलीसगको वार्तामा सभामुखको लागि अग्नी सापकोटा, देव गुरुङ तथा हरिवोल गजुरेल मध्ये जसको नाममा सहमति भएपनि मान्ने बताइरहेका छन् । त्यसैगरी वार्ता गर्दै जाँदा उपसभामुख शिवमायाको संभावना बढेको भान भयो भने पूर्वमाओवादी तर्फकै पम्फा भुषालको नाम अघि सार्ने गरेका छन् । प्रभावशाली नेताहरु माधव कुमार नेपाल, बामदेव गौतम र झलनाथ खनाल समेत ओलीसग चिढिएका बेला ओलीलाई ठेगान लगाउने यही सही मौका बन्न सक्ने उनको बुझाइ रहेको देखिन्छ ।   

प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सभामुख चयन प्रकृयालाई जुँगाको लडाई बनाउदै एकपछि अर्को दाउ चालिरहेका छन् । ओली र प्रचण्डको यो लडाईबाट आफूलाई फाइदा पुग्ने आंकलनको साथ माधव कुमार नेपाल, बामदेव गौतमहरु आआफ्नै रणनीतिमा छन् । राष्ट्रपतिले आफू अनुकूल रिजल्ट निकाल्न सेरोमोनियल भन्ने बिर्षिएर पार्टीभित्रको राजनीतिमा भिडिरहेकी छिन् । उनले अध्यक्षद्धय ओली र प्रचण्डलाई बोलाएर स्पष्ट रुपमा शिवमायाको पक्षमा लविङ गरेकी छिन् । सभामुख आफू अनुकूल बनाउन एकले अर्कोपक्षको बिरुद्ध दाउ हान्दै जाँदा सिङ्गो पार्टी नेकपा नै चक्रब्युमा फसेको छ । संघीय संसद नेकपाको शीर्ष नेताको अकर्मण्यताको कारण बन्धक बनेको बनेकै छ । नागरिक भने नेकपा भित्र देखिएको यि बिषयलाई मज्जा मानेर हेरिरहेका छन् । 

महिनौदेखि सभामुखको गाँठो फुकाउन बिभिन्न तहमा भएका बैठक, छलफल, वार्ताहरु सकारात्मक भने पनि निर्णयमा पुग्न फलामको चिउरा चपाउनु सरह बनेको छ । ओली र प्रचण्ड बिच भएका एकल तथा सहयोगी सहितका दर्जनौ डिनर मिटिङहरुले पनि गाँठो फुकाउन सकेका छैनन । केही दिनदेखिको सम्वादविहिनता तोड्दै गत बिहिवार भएको ओली र प्रचण्ड बिचको घन्टौ लामो मिटिङ तथा सुक्रबार दिउसो  भएको वार्तामा सहमति नभएपछि आज बेलुका चिसो मौसमलाई चुनौती दिदै वालुवाटारमा शीर्षनेताहरु सहितको डिनर मिटिङ आयोजना गरी टुग्याउने प्रयासमा जुटेका छन्। यसवाट सभामुखले निम्ताएको समस्या क्रोनिक बन्दै एकअर्काले थापेका जालका कारण नेकपा चक्रब्युहमा  फस्दै गरेको सहजअनुमान लगाउन सकिन्छ। 

महिनौदेखि सभामुखको उम्मेदवार सत्ता पक्षले छान्न नसकेपछि नेकपाको गुटको जुँगाको लडाईले संघीय संसद बन्धक बनाइराखेको भन्दै आवाज बुलन्द बन्दै गएको छ। नेकपाले सभामुखको उम्मेदवार छान्न नसकेपछि संसद महिनौसम्म सूचना टासेर स्थगित हुँदा सार्वजनिक महत्वका बिधेयक अडकिएको तथा संसदले बिजनेश नपाउदाँ राष्ट्र र नागरिकसग सरोकार राख्ने बिषयहरु ओझेलमा परेको दोष नेकपालाई लाग्न थालेको छ। अधिकारकर्मी तथा नागरिक तहवाट पनि नेकपाले संसदलाई बन्धक राखेको भन्दै आक्रोश पोखिरहेका छन् । सभामुखको समस्या यो दुई दिनमा चिर्न नसक्ने हो भने माघ ६ गतेको लागि डाकिएको संसदको बैठक समेत स्थगित गर्न उपसभामुखलाई नेकपाको शीर्ष तहले दवाव दिनेछ । उनी मान्न तयार हुनुको बिकल्प रहनेछैन् । भष्ट्राचार, बेथिति र अकर्मण्यताले जेलिएको नेकपाको शीर्ष तह बिरुद्ध आवाज बुलन्द बन्दै जाँदा तत्काल ठुलो असर केही नदेखिए पनि नागरिकमा निराशा बढ्नाले भबिश्यमा भने ठुलै क्षति ब्यहोर्नु पर्ने अनुमान जो कोहीले लगाउन सक्छन्। 

हुन त कतिपयले प्रचण्डले कार्यकारी अध्यक्ष लिने सहमति गर्दा नै सभामुख पूर्वएमाले पक्षलाई दिएको आरोप लगाउनेहरु पनि छन् । यस भन्दा अघि पनि ओलीले प्रस्ताव गरेका सुवास नेम्वाङलाई सभामुख बनाउन सहमति नजिक प्रचण्ड पुगेका थिए । तर एकाएक पूर्वमाओवादी पक्षका नेताले संबैधानिक अंगमा पूर्वमाओवादी पक्षको कोही पनि नहुने गरि सहमति गरिए तल्लो तहका पूर्वमाओवादी कार्यकर्तासम्म नकारात्मक असर पर्ने भन्दै प्रचण्डलाई खुट्टा नमकाउन दवाव दिएका थिए । खुट्टा कमाए भबिष्यमा साथ दिन नसक्ने भनेपछि प्रचण्ड झस्किएका थिए । प्रतिनिधि सभाको सभामुख छोडे राष्ट्रियसभाको अध्यक्ष दिन सकिने कार्ड समेत ओलीले प्रचण्डलाई फालेको केही नेताहरुको  बुझाई छ। यो बिकल्पमा सहमति बन्न सक्ने ति नेताले अनुमान काटेका छन् ।

राष्ट्रपति, महिला अधिकारकर्मी तथा सामाजिक सञ्जाल समेतको समर्थनको कारण उपसभामुख आफै सभामुख बन्न ढुक्क सहितको उत्साहित देखिन्छिन् । नेकपाको हाइकमाण्ड रहेको सचिवालयले राजिनामा माग्दा समेत के कारणले राजिनामा दिनुपर्ने हो ? अरुले गरेको अपराधको सजाय मैले भोग्नु पर्ने ? मैले के कारणले राजिनामा दिनुपर्ने हो खुलाएर जानकारी दिनुहोस ? पहिला तपाइहरु मिलेर उम्मेदवार तयार गर्नुहोस अनि राजिनामाबारेमा सोचौला भनेर पासा शीर्षतह तिर नै फालेर सचिवालयको निर्णयलाई चुनौती दिएकी थिइन्।

सचिवालयले निर्णय गरिसकेकोले बैठकमा उपस्थित शीर्ष तहका नेतालाई उनको हठको समर्थन गर्न नैतिक संकट पर्नेछ । त्यसमाथि जे निर्णय हुन्छ त्यसलाई मेरो समर्थन हुन्छ भनेर सचिवालय बैठकमा उपस्थित नभएका प्रधानमन्त्री ओलीले जसले निर्णय गर्यो उसैले मिलाउ भन्ने खालको अभिब्यक्ति नजिककाहरुलाई दिइरहेको बाहिर आएसगै प्रचण्ड र माधव कुमार नेपालले सम्झाउने नमानेमा उपसभामुखलाई समानुपातिक सुचीबाट हटाउने बिषयमा एकमत भएको बाहिर आएको छ । यदी यो तहसम्म पुगेमा नेकपालाई ठूलो क्षति हुने देखिन्छ । महिला अधिकार र समावेशिताको हिमायती हामी नै हौ भन्ने नेकपा प्रदेश १ र बाग्गमती प्रदेशको मन्त्रीमण्डल तथा शीर्ष नेताहरु रहने ९ सदस्यीय सचिवालयमा एकजना पनि महिला अटाउन नसक्नुले उनीहरुको सक्कली रुप छर्लङ्ग भएको छ।

अझ संघीय मन्त्रीमण्डलमा पनि २३ जना मन्त्रीमा जम्मा २ जनामात्र महिलामन्त्री हुनुले भोट माग्नेबेलामा दिएको आश्वसन तथा संबिधानले राखेको मर्मसग पटक्कै मेल खादैनन् । अव यो मुद्धामा पनि महिला भएकै कारण कानुन पढेकी, सक्षम, बिश्वबिद्यालयमा प्राध्यापन गरेकी तथा पार्टीमा लामो समय लागेकी महिलालाई कुनै कसुर बिना गलहत्याउने हो भने हाम्रो भबिष्य पार्टीमा भोली के होला भनेर महिला नेतृहरु भालेवादी सोच भएकाहरुले रोक्न खोजे भन्दै नेतृत्वप्रति खनिएका छन् । आधा आकाश ओगट्नेका महिलाहरुसग नेकपाले अवको दिनमा के भनेर भोट माग्ला भन्ने प्रश्न पनि खडा भएको छ।

राजनीतिमा असम्भव भन्ने केही हुदैन्। केही पाइला पछि हटेर छलाङ मार्ने दिशामा नेकपाको डिनर मिटिङ सफल बनोस । सभामुख काण्डले यो चार महिनासम्म पार्टी भित्र निम्त्याएको समस्याले पार्टीलाई नागरिकतहसम्म कति क्षति गर्यो भनेर थाहा पाउन निर्वाचनसम्म कुर्नुपर्ला तर मेरो गोरुको बाह्रै टक्का भनेर एकअर्का बिरुद्ध जाल बुनिरहने हो भने शीर्षतहमा देखिएको अबिश्वास र एकअर्काप्रति मनोबैज्ञानिक त्रासले निम्त्याएको चक्रब्युह भित्र नेकपा फस्दै जाँदा हुने क्षति भने आँकलन गर्न अब टाढा जानु पर्दैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ