arrow

कम्युनिष्टलाई भोट दिएका जनता नै अहिले पछुताएका छन् :  सहमहामन्त्री महत

logo
प्रकाशित २०७६ माघ ४ शनिबार
prakash-sharan-mahat-nc.jpg

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली काँग्रेसमा पछिल्लो चुनाव र त्यसपछि बढ्दो व्यक्तिकेन्द्रित प्रवृत्तिको फाइदा नेपालमा कम्युनिष्टहरुले उठाएका बताएका छन्। मुस्लिम संघ स्यांजाको तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले भने– नेपालमा आफै बलियो भएर र जनताले रुचाएर कम्युनिष्ट शासन आएको होइन, काँग्रेस पार्टीभित्र आफू भए ठीक अरु बेठीक भन्ने प्रवृत्ति तथा काँग्रेसले आफूले गरेको कामको प्रचार गर्न नसक्ने कमजोरीको फाइदा कम्युनिष्टहरुले उठाएका हुन्।

संसारमा दुर्लभ हुदै गएको कम्युनिष्ट शासनको भ्रष्टाचार, कुशासन तथा एकपछि अर्को गरी जनविरोधी कामहरुका कारण जनतामा निराशा र आक्रोस पैदा भएको मात्र होइन कि अघिल्लो चुनावमा कम्युनिष्टहरुलाई भोट दिएका जनता अहिले आएर निकै पछुताइरहेको उनले बताए। 

उनले जनतामा यो सरकारप्रति बढ्दै गएको निराशाको उदाहरण पछिल्लो उपनिर्वाचन भएको बताए । उनको भनाई थियो, हामीले नजितेको ठाउँहरु धरान र भक्तपुरमा जित्यौँ र अरु ठाउँमा पनि हाम्रो जीत हुने थियो तर सरकारका मान्छे र नेकपाका कार्यकर्ताहरुले जनतालाई घरघरमा पुगेर थर्काएर त्रास फैलाए । 

पुतलीबजारमा शनिबार आयोजित सो सभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सहमहामन्त्री डा महतले भने– चुनवका बेला गर्नै नसक्ने कामका एजेण्डा देखाएर जनतालाई लोभ्याए तर अहिले भोट दिएकै जनता उनीहरुदेखि अवाक भएका छन्, पछुताइरहेका छन् । सरकारका यस्तै क्रियाकलापको भण्डाफोर गर्न र जनताका गुनासा र उनीहरुका समस्याहरु बुझ्न पनि कांग्रेसले अब देशभर अभियान चलाउनु पर्ने उनले बताए । 

नेपाली काँग्रेसले विसं २०४६ सालको परिवर्तनपछि देशको शिक्षा, स्वास्थ्य, पूर्वाधार आदि क्षेत्रमा धेरै काम गरेको, प्रमुख प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गरेको, संविधान सभाको निर्वाचन गरेको, विसं २०४७ र २०७२ का संविधान उसैको नेतृत्वमा जारी भएको तर पनि काँग्रेसको आफैले प्रचार गर्ने नगरेका कारण जनतामा पुग्न नसकेको उनको भनाई थियो । 

डा.महतले काँग्रेसका सबै कार्यकर्ताहरुलाई आफ्ना कामको प्रचार गर्न कम्युनिष्टहरुको शैली अपनाउन पनि सुझाव दिए । कम्युनिष्टहरुले आफूले गर्दै नगरेको काम त जनतालाई झुक्याएर बताएका छन् तपाईँहरुले कमसेकम आफूले गरेको काम त जनतालाई थाहा दिनोस् उनले भने ।   

सभापति देउवाले पर्टीमा सहमति कायम गरेर र सबैलाई समेटेरै अघि बढ्छु भन्दाभन्दै ढिला भएको उनले बताए । उहाँ सबैलाई मिलाएर लानेमा हुनुहुन्छ । अब पार्टी अधिवेशनमा गइरहेको छ र नेपाली काँग्रेसका सचेत कार्यकर्ताहरुले आफ्नो नेता छान्नेछन् यसमा खासै विवाद गर्नुपर्ने केही छैन उनले भने । 

मतका आधारमा काँग्रेस अहिले पनि देशको सबैभन्दा ठूलो पार्टी रहेको उनले बताए । उनले भने–विसं २०७० को चुनावमा २९ प्रतिशत मत ल्याएको काँग्रेस पछिल्लो चुनावमा ३६ प्रतिशत मत पाएको छ र काँग्रेस नै सबै भन्दा धेरै मत ल्याउने पार्टी हो। तर अब कम्युनिष्टहरु मिलेर चुनावमा गएकोले अब अर्को चुनावमा काँग्रेसले कम्तीमा पनि १० प्रतिशत भोट बढाउनेगरी लाग्नुपर्ने उनले बताए। 

उनले पार्टीको विधानमा अब आठओटा सहमहामन्त्री हुने प्रावधान राखिएको र त्यसमा एकजना मुस्लिम समुदायबाट पनि हुने प्रावधान रहेको भन्दै यसका लागि मुस्लिम समुदायलाई शुभकामना पनि दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ