काठमाडौं। नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान बस्दैछ। बैठक बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो। यो बैठकले सभामुखको पदमा उम्मेदवारी दिने बारेमा निर्णय गर्ने बताइएको छ। कांग्रेसले सचेतक पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको बताइएको छ। यद्यपि यसको निर्णय भइसकेको छैन। यसको निर्णय बैठकपछि गरिने नेताहरुले बताएका छन्। कांग्रेस संसदीय दलको कार्यालयले सभामुखको विषयमै छलफल हुने बताएको छ।
मंगलबार बिहान १० देखि दिउँसो २ बजेसम्म सभामुखका लागि उम्मेदवारी दिने कार्यतालिका संसद सचिवालयले जारी गरेको छ। माघ १२ गते निर्वाचन हुनेछ। कांग्रेसले यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा उम्मेदवार उठाएको थिएन। यसपटक लोकतान्त्रिक पद्दति अनुसार उम्मेदवारी दिने बताइएको छ। संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्पष्ट बहुमत रहेको छ। नेकपाले अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउँदैछ।
द्वन्द्वकालीन मुद्दाका आरोपी सापकोटालाई विधि निर्माण गर्ने थलो संघीय संसद प्रतिनिधिसभाको सभामुख बनाउने निर्णयसँगै नेकपाको लोकतन्त्र, शान्ति र मानव अधिकारप्रतिको विश्वासमै प्रश्न उब्जिएको आवाज मानवअधिकारकर्मीहरुले उठाइरहँदा कांग्रेसले उम्मेदवार खडा गर्छ कि विरोध गर्छ भन्ने प्रश्न पनि खडा भएको छ। सापकोटाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।