खोकीको औषधि किन्ने बहाना बनाउँदै भारत पुग्छन् नेपाली महिला

नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन

निरा गौतम, प्रकाशित मिति : २०७६ माघ ७ मंगलबार

रुपन्देही । करीब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल– भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने बसमा सम्पर्क गरी पठाएका रहेछन् ।

सीमानाकामा प्रहरी तथा सङ्घसंस्थाका पदाधिकारीले सोधपूछ गरे खोकीको औषधि किन्न सुनौली जान लागेको भनी झुटो बोल्न दलालले सिकाए अनुसार आफू रुपन्देहीमै बस्ने र सुनौलीमा औषधि सस्तोमा पाइने भएकाले किन्न जान लागेको बताइन् । माइती नेपालका कर्मचारीले उनलाई धेरैबेर लगाएर सोधपूछ गरेपछि आफ्नो इलाम घर भएको र रोजगारीका लागि विदेश जान लागेको भेद खुलाइन् । पछि उनलाई माइती नेपालले परिवारको जिम्मा लगायो ।

तीन महिना अगाडि रुपन्देहीको धकधइका दुई किशोरीलाई दुइ महिलासँग रुपन्देहीको भगवानपुर नाकाबाट भारत जाँदै गर्दा भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रमा रोक्यो । सोधपूछका क्रममा आफूहरु आमा छोरी भनेर बताए पनि पटक पटक कुरा फेरेपछि उनीहरुलाई माइती नेपाल भैरहवाको जिम्मा लगाइएको थियो । पछि सोधपूछ गर्दै जाँदा रुपन्देहीको कञ्चन गाउँपालिकाका दुई महिलाले धेरै धन कमाउने प्रलोभन देखाई कक्षा ८ पढ्ने र अर्की एसइई दिएर बसेकीे किशोरीलाई भारत लैजान लागेको थाहा भयो । भारतमा झारफुक गरे प्रशस्त पैसा झर्छ भनी ललाइफकाई लैजान लागेको अवस्थामा प्रहरीले उद्धार गरेपछि उनीहरु बेचिनबाट बचे । बेचबिखनका लागि लैजाने दुई महिला अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नियन्त्रणमा छन् । उनीहरूविरूद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलिरहेको छ ।

गत कात्तिक १५ गते भारतको मुम्बईबाट २२ वर्षीया महिलालाई दुई वर्षीया छोरीसँगै उद्धार गरियो । चितवनको भरतपुर घर भएकी तिनले विगत तीन वर्षदेखि मुम्बईमा देहव्यापारमा गर्दैआएकी थिइन् । भारतीयसँग विवाह गरेकी उनलाई जबर्जस्ती श्रीमान्ले देहव्यापारमा लगाएका थिए । विभिन्न सङ्घसंस्था र भारतीय प्रहरीको सहयोगमा माइती नेपालको सम्पर्कमा आएपछि सोधपूछ गर्दा आफ्नै श्रीमान्ले भारत लगेर देह व्यापारका लागि बाध्य बनाएको तथ्य खुल्यो ।

छोटो समयमै प्रशस्त धन कमाउने प्रलोभनमा फस्दा विभिन्न जिल्लाका महिला तथा किशोरीहरु भारतमा बेचिन पुगेका छन्, यो क्रम रोक्न सकिएको छैन । माइती नेपालका संयोजक माया क्षेत्री भन्छिन् – “रोजगारीमा जाने महिलालाई दलालले लिएर आउँदैनन् । होटलमा सम्पर्क गर्छन् । काठमाडौँ बोलाउँछन् । एक–ढेड महिना कोठामा राख्छन् । अब नेपालको बाटो जान पाइएन भारतबाट जानुपर्छ भनेर भारतमा लगेर बेच्छन् ।” उनले खुल्ला सिमानाका कारण नेपालका महिलाहरु सजिलै भारत पुग्ने गरेको बताटन् ।  

माइती नेपाल भैरहवाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सीमा क्षेत्रबाट ८१ जना र भारतका विभिन्न स्थानबाट सात जनाको उद्धार गरिएको छ ।

आर्थिक वर्ष २०७२-७३ मा २८९ जनालाई सीमा क्षेत्र र ३५ जनालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएको थियो । आव २०७३-७४ मा सीमा क्षेत्रबाट २५० जना र भारतबाट नौ जनाको उद्धार गरिएको छ । यस्तै, आव २०७४-७५ मा सीमा क्षेत्रबाट २७२ जना  र भारतबाट १० जनाको उद्धार गरिएको छ ।  आव २०७५-७६ मा भारतीय क्षेत्रबाट उद्धार गरिएकाको सङ्ख्या ५० रहेको छ भने सीमा क्षेत्रबाट २५३ जनाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । यो सङ्ख्या माइती नेपालको सम्पर्कमा आएकाहरूको मात्र हो ।

भारत जान सीमानाकासम्म आउने महिला तथा किशोरीको साथमा केही हुँदैन । कागजपत्र र कपडा समेत दलालको नियन्त्रणमा हुने गरेको संयोजक क्षेत्रीको अनुभव छ ।

नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कको आधारमा नेपालमा वार्षिक २०० देखि ३०० को सङ्ख्यामा मानव बेचबिखनको उजूरी पर्ने गरेको छ  । प्रहरीको तथ्याङ्क अनुसार नेपालमा एक वर्षमा झण्डै १४ हजार मानिस हराउने र केवल ४७ प्रतिशत मात्र फेला पर्ने गरेको देखिन्छ ।

मानव बेचविखनविरुद्ध क्रियाशील नागरिक सङ्गठनहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार सीमा निरीक्षण तथा अनुगमनका क्रममा मात्र शङ्का लागि १० हजार भन्दा बढी व्यक्तिलाई सीमा नाकाबाट फिर्ता गरिएको छ । प्रहरीको तथ्याङ्क अनुसार दुई हजार १०४ जनालाई सीमा नाकाबाट फर्काइएको छ । नेपाल सरकारकै नेतृत्वमा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुक लैजान लागिएका ३०० भन्दा बढी ब्यक्तिलाई उद्दार गरिएको छ ।  

प्रदेश नं ५ को प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार आर्थिक वर्ष २०७४-७५ मा ९० र आव २०७५-७६ मा ४९ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका छन् । यो वर्ष १५ वटा मुद्दा दर्ता भइसकेका छन् जसमध्ये रुपन्देहीका धेरै छन् । खुल्ला सिमानाका भएका कारण यसो भएको बुझिन्छ ।  

मूलतः यौन बजार, बाध्यकारी कृषि श्रम, घरेलु कामदार तथा भारत हुँदै तेस्रो मुलुक लैजानका लागि महिला बेचबिखन हुने गरेको प्रहरी कार्यालय दाङका प्रवक्ता पोखरेलले बताए । “ग्रामीण भेगका सामान्य लेखपढ गरेका महिलाहरु दुःख नगरी पैसा कमाउन सकिन्छ भन्ने प्रलोभनमा फस्छन् र बेचबिखनमा पर्छन्,” उहाँले भन्नुभयो ।
नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्राप्त तथ्याङ्क अनुसार अघिल्लो आवमा मानव बेचबिखन विरुद्धको उजूरी ३०५ रहेको थियो । आव २०७४-७५ र २०७५-७६ को असार  मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने प्रदेश नं ५ मा सबैभन्दा बढी १२२ वटा उजूरी परेको देखिन्छ ।

मानव बेचबिखन विरुद्धका उजूरीहरुको विगत पाँच वर्षका तथ्याङ्कलाई केलाउने हो भने कुल पीडित एक हजार ४८९ मध्ये सबैभन्दा धेरै ६४० (४२.९८ प्रतिशत) जनालाई लोभ लालसा देखाएर र ५०२ (३३.७१ प्रतिशत) जनालाई ललाइफकाई  बेचबिखन गरिएको पाइएको छ । मानव बेचबिखनका तरीकाहरुमा नक्कली विवाह (३.१६ प्रतिशत), रोजगारी (३.९० प्रतिशत ),  विदेश घुम्ने  र बहानामा (२.३५ प्रतिशत) रहेको देखिन्छ  ।

हतियारपछि मानव तस्करी नै विश्वको सबैभन्दा बढी नाफामूलक ब्यवसायको रुपमा रहेको छ  । मानव बेचबिखन व्यक्तिविरुद्ध हुने एक अपराध मात्र नभई यो मानव अधिकार र मानव मर्यादा तथा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको गम्भीर हनन पनि हो । मानव बेचबिखनको सवाललाई राज्यको दायित्वसहित मानव अधिकारमुखी दृष्टिकोणबाट सम्बोधन गरिनु पदर्छ भन्नुहुन्छ, मानव अधिकार आयोग प्रदेश नं ५ का उपनिर्देशक पवन भट्ट ।

उनले भने – “फौजदारी अपराधसँग सम्बन्धित विषयहरु सङ्घीय र प्रदेश सरकारका साझा अधिकारको सूचीभित्र रहेको भए पनि यस विषयमा सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले गर्ने कार्यक्रम तथा अधिकार क्षेत्र स्पष्ट किटिएको छैन । त्यसो भएर प्रदेश सरकार तथा स्थानीय सरकारहरुले यस विषयमा कार्य गर्न सकेका छैनन् ।”
 
स्थानीय तह सञ्चालन ऐनले मानव बेचबिखनको अन्त्य गर्ने कार्य गर्न वडा समितिलाई जिम्मेवार बनाएको छ  । यद्यपि त्यसअनुरुप स्थानीय तहका सरकारहरुले कार्यक्रमहरु सञ्चालन गरेको पाइँदैन ।  

रुपन्देहीमा माइती नेपाल सहित साना हात, थ्री एन्जल्स, एबिसी नेपाल, आफन्त नेपाल र शुभ अवसर ग्रामले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा काम गर्छन् । यी मध्ये चार वटा संस्थाले नेपाल भारत सीमा क्षेत्र बेलहियामा निगरानी गरिआएका छन् । रुपन्देहीमा बेलहियासहित कक्रहवा, भगवानपुरलगायत दर्जनौं सीमानाका छन् । सबै संस्थाहरुले एकै ठाउँमा बसेर निगरानी गर्दा मानव तस्करहरुले अन्य नाका प्रयोग गर्ने गरेको पाइएको छ ।  
नेपालभित्रै हुने मानव बेचबिखन नीतिगत र नियामक निकायको दृष्टिमा पर्न नसक्दा हजारौं महिला तथा बालबालिका नेपालभित्रै भइरहेको मानव बेचबिखनको शिकार भइरहेका छन् । यो धन्दाका हाँगाहरु डान्सबार, दोहोरी, डिस्कोसम्म फैलिएका छन् ।

नेपालको संविधान २०७२ ले मानव बेचबिखनलाई एक गम्भीर अपराधको रुपमा पहिचान गर्दै यस विरुद्धका प्रावधानहरुलाई मौलिक हक तथा राज्यका नीति अन्तर्गत राखिएका छन् । यद्यपि विद्यमान ऐनले मानव बेचबिखनका समग्र सवालहरुलाई अधिकारमुखी ढङ्गले सम्बोधन गर्न सकेको देखिँदैन ।

नयाँ