arrow

नेपाल प्रेस युनियनको महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
Press-Union.jpg.jpeg.jpeg

चितवन । नेपाल प्रेस युनियनको नबौ महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा हुने भएको छ । चितवनको भरतपुर भएको केन्द्रीय कार्यसमितिको वैठकले सो निर्णय गरेको हो ।

युनियनको प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार ५०० भन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताउनुभयो ।

हालसम्म ७० शाखामा अधिवेशन भई सकेको छ । बाँकीमा माघभित्र अधिवेशन सक्ने बैठकले निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । महाधिवेशन सम्पन्न गर्न अध्यक्ष सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने बैठकले निर्णय गरेको शिवाकोटीले जानकारी दिनुभयो ।

अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव शिवाकोटी रहेको तीन सदस्यीय विवाद समाधान समिति गठन भएको छ। महासचिव शिवाकोटीको संयोजकत्वमा साङ्गठनिक, कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक र उपमहासचिव प्रेम केसीको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति बैठकले गठन गरेको छ ।

बाँकी १५ शाखाको अधिवेशन तथा बाँकी रहेको शाखाको सदस्यता शुल्क माघ मसान्तभित्र केन्द्रीय कार्यालयमा नबुझाएमा महाधिवेशनमा मतदानको अधिकार नहुने बैठकले निर्णय गरेको छ । बैठकले चितवन शाखालाई उत्कृष्ट शाखा घोषणा गर्ने निर्णय गरेको छ ।

नेपालगञ्जमा हुने नवौँ महाधिवेशनले युनियनको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

यसअघि बैठकको शुभारम्भ गर्दै अध्यक्ष सिग्देलले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने माग गर्नुभयो ।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष सुरेश आचार्य, महासङ्घका महासचिव रमेश विष्ट, युनियन चितवनका अध्यक्ष अनिल ढकालले सरकारले ल्याएका विधेयक जनपक्षीय हुनुपर्ने धारणा राख्नुभयो ।

यसअघि युनियनको आठौँ राष्ट्रिय महाधिवेशन विसं २०७१ भदौ २१ र २२ गते पोखरामा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ