arrow

पाँच डिआइजी रिक्त, १२ एसएसपीको दाबी

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
armed-police-force.png

काठमाडौँ । सशस्त्र प्रहरी बलमा रिक्त ५ डीआइजीका लागि १२ एसएसपी प्रतिस्पर्धामा छन् । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई थाईल्याण्ड भ्रमणबाट  फर्किएकाले अब बढुवा प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ । 

गृहसचिव बढुवा समितिका अध्यक्ष हुन्छन् । कतिपयले सशस्त्र र नेपाल प्रहरी दुवैको बढुवा प्रक्रिया तत्काल सुरु नगर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएको चर्चा पनि चलाएका छन् । 

नेपाल प्रहरीमा पनि रिक्त १० एसएसपीका पदमा बढुवा हुनसकेको छैन । अब २१ दिन मात्र कार्यकाल रहेका नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल अवकाश नभएसम्म बढुवा नहुने अड्कलबाजी पनि गर्न थालिएको छ । त्यसो त गृहसचिव राई पनि १५ दिनपछि अर्थात् माघ २२ मा ५ बर्षे पदावधिका कारण अवकाश हुँदैछन् ।  

सशस्त्रका ६ डीआइजी अवकाश भए पनि पाँच जनाको मात्रै पद रिक्त भएको हो । भ्रष्टाचार काण्डमा निलम्बनमा परेका डिआइजी अरविन्द धिताल विशेष पदमा रहेका कारण उनको अवकाशसँगै सो पद स्वतः खारेजीमा परेको छ । 

यसअघि रामप्रकाश श्रेष्ठ अवकाश भएको लामो समयसम्म पनि बढुवा हुन सकेको थिएन । त्यसपछि अर्का डीआइजी राजुराम सुवाल अवकाशमा परेपछि २ पद रिक्त भयो । 

२०७६ पुस ११ मा अर्का डिआइजी वसन्तकुमार बानिया ३० वर्षे सेवा अवधिका कारण अवकाश भए । नियमावली संशोधन नभएपछि पुस १६ गते डिआइजीहरू सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरविन्द धिताल पदावधिका कारण अवकाश हुन पुगेका थिए ।

५ डीआइजीका लागि सशस्त्र प्रहरीका १२ एसएसपीहरु लबिईङमा छन् । बरिष्ठताकै आधारमा हेर्दा एसएसपी भरत श्रेष्ठ पहिलो नम्बरमा छन् । तर उनको शैक्षिक योग्यता आईए पासमात्रै भएका कारण उनको बढुवा हुने संभावना छैन । यसअघि पनि आइएस्सीमात्रै पढेका कारण सञ्जय राणा बढुवा हुनबाट बन्चित भएका थिए । 

श्रेष्ठपछि बरिष्ठताका आधारमा एसएसपीहरु हरिशंकर बुढाथोकी, कृष्णभक्त बज्राचार्य, राजेन्द्र बस्नेत, हरिश्चन्द्र अधिकारी, वंशीधर दाहाल र किशोर प्रधान रहेका छन् । बुढाथोकी, बज्राचार्य, बस्नेत र अधिकारी सेनाबाट सशस्त्रमा आएका हुन् । दाहाल र प्रधान नेपाल प्रहरीबाट आएका हुन् । 

रिक्त ५ डीआइजीमा बरिष्ठताका आधारमा दाबेदार ६ एसएसपी छन् । ती ६ मध्ये ५ मात्र बढुवा हुुनेछन् । एक एसएसपी छुट्नेछन् । सेनाबाट आएका ५ मध्ये ४ र प्रहरीतर्फबाट आएका १ एसएसपी पर्न सक्नेछन् । 

बुढाथोकी, बज्राचार्य, बस्नेत र अधिकारीसहितको सिनियर टोलीभन्दा झन्डै साढे २ बर्ष पछि एसएसपी भएका अभिकुमार खत्री, शम्भु सुवेदी, गणेश ठाडा मगर, दुर्गाप्रसाद भट्टराई, कमल गिरी र राजेन्द्र शाक्यहरु पनि डीआइजी बढुवाको लागि शक्तिकेन्द्र धाइरहेका छन् । उनीहरु गृहमन्त्रालयका सचिव प्रेमकुमार राई र ऊर्जामन्त्री बर्षमान पुनमार्फत् बढुवाका लागि सोर्स लगाउँदै आएका छन् । 

सशस्त्र प्रहरी बलले समयावधि पुगेका र बढुवाका दाबेदार एसएसपीहरूलाई आफ्नो विगतको कार्यसम्पादन र गरेका कामहरुको विवरण पेश गर्न १५ दिने सूचना निकालिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ