arrow

सभामुख बन्न दुईदिन रहदा सापकोटालाई पक्रन माग

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
agnidev.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पोलिटब्युरो सदस्य अग्नी सापकोटालाई पक्राउको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटाबिरुद्ध अदालतमा रिट दायर गरेका हुन् ।

सभामुखका एकल उम्मेदवार उनी निर्विरोध निर्वाचित भइसकेका छन् । तर औपचारिक घोषणा भने आइतबार हुदैछ । आइतबार प्रतिनिधि सभाको बैठकमा सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिदैछ ।

शुक्रबार व्यक्ति हत्या आरोपी सापकोटालाई सभामुख बनाउन लागेको भन्दै उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो । सापकोटालाई  तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरिएको छ ।  

यसअघि इन्सेकले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका आरोपित सापकोटालाई सभामुख बनाउने निर्णयमा पुनर्विचार गरी कानुनी शासनको सम्मान गर्न माग गरिसकेको छ ।

इन्सेकको अभिलेख अनुसार तत्कालीन छत्रेबाँझ गाविस–५ दाप्चाका अर्जुनबहादुर लामालाई २०६२ वैशाख १६ गते दिउँसो कृष्ण मावि दाप्चाको प्राङ्गणबाट माओवादी कार्यकर्ताहरूले अपहरण गरेका थिए । कृष्ण मावि, दाप्चाको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाचित भएपछि आयोजित स्वागत कार्यक्रममा सरिक भइरहेको बेला माओवादी कार्यकर्ताहरूको अपहरणमा परेका पीडित लामाको २०६२ असार महिनामा माओवादी नियन्त्रणमा नै मृत्यु भएको थियो ।

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार घटनाको दुई महिनापछि अग्नि सापकोटा उपस्थित एक कार्यक्रममा लामालाई पनि उपस्थित गराइएको थियो । त्यसयता कतै नदेखिएका लामालाई अपहरणको नौ महिनापछि २०६२ पुसमा माओवादी नेता सूर्यमान दोङले ‘अर्जुनलाई सफाया गरिएको’ सार्वजनिक गरेका थिए ।

पतिको अपहरणपछि माओवादीले हत्या गरेको भन्दै २०६४ असार २१ गते लामाकी पत्नी पूर्णीमायाले जिल्ला प्रहरी कार्यालय, काभ्रेमा दिएको किटानी जाहेरी प्रहरीले लिन अस्वीकार गरेपछि सोसम्बन्धमा पीडित र मानव अधिकारकर्मीले सर्वोच्च अदालत गुहारेका थिए ।

सर्वोच्च अदालतले २०६४  फागुन २७ गते जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले सापकोटा र अर्का नेता सूर्यमान दोङसहित ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी लिँदै पक्राउ पूर्जी जारी गर्‍यो । त्यसयता आरोपितहरू कोही पनि नभेटिएको भन्दै प्रहरीले सबैलाई फरार सूचीमा राखेको छ । माओवादीले सेनाले प्रहार गरेको मोर्टारमा परी लामाको मृत्यु भएको बताउने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ