arrow

कोरोनाबाट कसरी बच्ने ?

logo
एजेन्सी,
प्रकाशित २०७६ माघ १२ आइतबार
corona-virus-china-outbreak.jpg

काठमाडौं। पछिल्लो केही सातायता विश्वभर एक घातक भाइरसको सन्त्रास फैलिएको छ। उक्त घातक भाइरसको नाम हो–कोरोना भाइरस। यो भाइरसको कारण मृत्यु हुनेको संख्या शनिवारसम्म ५६ पुगिसकेको छ। साथै १ हजार ९ सय ७५ मा यसको संक्रमण देखिएको छ। यो भाइरस चीनको हुपेई प्रान्तको वुहान सहरबाट फैलिएको हो।

वुहानमा आफ्ना बिरामिको उपचार गराइरहेका ६२ वर्षीय एक डक्टरको पनि भाइरसको कारण ज्यान गएको छ। यो भाइरसको कारण औसतमा ७-८ जनाको हारहारीमा ज्यान जानेको संख्या बढिरहेको छ। संक्रमितको संख्या भने कैयौं गुणाले बढिरहेको छ। यसले मृतकको संख्या दिनानुदिन बढ्दै जाने जोखिम पनि त्यतिकै छ।

गत डिसेम्बरमा अन्तिममा यो भाइरस पहिलोपटक देखिएको थियो। तर, अहिले यो भाइरस विश्वभर फैलिसकेको छ। त्यसैले यसको त्रास पनि विश्वभर फैलिएको हो। यो विषयलाई लिएर विश्वभर सतर्क रहन विज्ञहरुले पनि सुझाव दिइरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो भाइरसको कारण विश्वभर सतर्कता अपनाउनुपर्ने बताइसकेको छ।

डब्ल्यूएचओले यो भाइरस अहिलेसम्म चीनको लागि मात्र स्वास्थ्य आपतकाल रहेको बताउँदै विश्वभर भने यो स्वास्थ्य आपतकालको अवस्था नरहेको उल्लेख गरेको छ। तर, अहिले चीनको लागि आपतकाल बनेको यो भाइरस आगामी दिनमा विश्वको लागि एक चुनौती बन्नसक्ने स्पष्ट छ।

यो भाइरस अन्य सामान्य भाइरसजस्तै एक भाइरस हो। तर, यसले मानिसलाई निकै घातक अवस्थामा पुर्‍याउँछ र यसबाट मानिसको ज्यान पनि जानसक्छ। अहिलेसम्म यो भाइरसको उपचार पनि पत्ता लागेको छैन। यसले पनि यो भाइरसको आतंक अझै बढाएको हो। यो भाइरस चिसोको कारण लाग्छ। यसले मानिसको नाक र घाँटीमा आक्रमण गर्छ। तर, सबै कोरोना भाइरस खतरानक हुँदैनन्। सन् १९६० को दशकमा पहिलोपटक यो भाइरस पत्ता लागेको थियो।

सन् २०१२ मा कोरोना भाइरसकै एक प्रकार मिडिल इस्ट रेस्पाइरेटरी सेन्ड्रोम (मेर्स) बाट करीब ८ सय ५८ जनाको ज्यान गएको थियो। त्यस्तै सन् २००३ मा चीनमा यसकै अर्को प्रकार सार्स भाइरस देखिएको थियो। यो भाइरसबाट ७ सय ७४ जनाको ज्यान गएको थियो।

अहिले चीनमा पाइएको भाइरस नोभल कोरोना भाइरस (२०१९–एनसीओभी) हो। यो भाइरस पनि खतरनाकमध्येकै हो। अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने यो भाइरस निरन्तर बढ्ने क्रममा छ। अहिलेसम्म यसको उपचार पनि पत्ता नलागेकाले यसबाट बच्न बेलैमा सतर्कता अपनाउनु आवश्यक छ। त्यसो त विश्वका धेरै मुलुकले पनि यसलाई रोक्न पहल गरिरहेका छन्।

तर, हावाको माध्यमबाट नै यो भाइरस सर्ने भएकाले यसको रोकथामका लागि विशेष कदम चाल्नुपर्ने आवश्यकता देखिएको हो। चीनले यो भाइरसको कारण प्रभावित बनेका केही सहरका कामहरु बन्द गरेको छ। 

भाइरस आउन नदिन उत्तर कोरियाले आफ्नो मुलुकमा आउने विदेशी पर्यटकमाथि नै प्रतिबन्ध लगाएको छ। संक्रमण बढ्न नदिन चीनले पनि भीडभाड धेरै हुने कार्यक्रममा निगरानी बढाउने र सार्वजनिक भेलालगायत गतिविधिमा कटौती गर्ने भएको छ। धेरै मुलुकहरूले चीनबाट आउने नागरिकहरूको स्क्रिनिङ बढाएका छन्। नेपालमा पनि यो भाइरसको विषयमा सचेतना कार्यक्रम शुरू गरिएको छ।

यो भाइरसकै कारण शुक्रवार चिनियाँ नयाँ वर्ष लुनारको अवसरमा कुनै पनि औपचारिक कार्यक्रम भएनन्। चिनियाँ स्थानीय सञ्चारमाध्यमका अनुसार शुक्रवार चीनको दोस्रो मुख्य सहर शाङ्हाईमा पनि सबै सिनेमाघर बन्द गरिएको थियो। यो भाइरस कहाँबाट आएको हो भन्ने खुलेको छैन। यसले मानिस र जनावर दुवैलाई आक्रमण गर्न सक्छ। 
अहिले चीनमा देखिएको यो भाइरस पनि जनावरबाट नै मानिसमा सरेको अनुमान गरिएको छ। एक अध्ययनले यो भाइरस सर्पबाट मानिसमा सरेको हुन सक्ने देखाएको छ।

जापानमा कोरोना भाइरसका तीन बिरामि देखा परिसकेका छन्। त्यस्तै थाइल्यान्डमा पाँचजना कोराना भाइरसका बिरामि देखिएका छन्। सिंगापुर, फ्रान्स र ताइवानमा पनि तीनजनामा यो भाइरसको संक्रमण देखिएको छ। भियतनाम, दक्षिण कोरिया र अमेरिकामा दुईजनामा यो भाइरसको संक्रमण पाइएको छ। नेपालमा पनि एकजनामा यो भाइरस देखिएको छ। यसले पनि अब नेपालमा पनि सतर्कता अपनाउनु निकै आवश्यक रहेको देखिन्छ। अन्यथा यसले नेपालमा पनि भयावह अवस्था सृजना हुन सक्छ। 

भाइरसका लक्षणहरु–
यो भाइरस लागेपछि अन्य फ्लुजस्तै लक्षणहरु देखा पर्छन्। रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महशुस हुनु यो भाइरसको लक्षण हो। यो भाइरसको संक्रमण बढ्दै गएपछि मानिसमा निमोनिया देखिन्छ। निमोनियाकै कारण मानिसको मृत्यु हुन्छ। 

कसरी सर्छ ?
यो भाइरस पनि अन्य सामान्य रुघाखोकीजस्तै श्वासप्रश्वासको माध्यमबाट सर्छ। तर, यसको सर्ने तरिबारे यकिन पनि हुन भने सकेको छैन। अझै यो भाइरस कसरी सर्छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ। यसको पूर्ण विवरण आएपछि मात्र यो भाइरस कसरी सर्छ भन्ने थाहा पाउन सकिन्छ। यो भाइरस संक्रमितको सम्पर्कले श्वासप्रश्वासको माध्यमबाट स्वस्थ व्यक्तिमा यसको संक्रमण हुने अनुसन्धानले देखाइसकेको छ। अहिले भाइरसबाट ज्यान जानेहरुमा अधिकांश वयवृद्ध र पहिला नै कुनै स्वास्थ्य समस्या रहेका व्यक्तिहरु रहेको पनि बताइएको छ।

बच्न के गर्ने ?
अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन। यो भाइरसले आक्रमण हुनुभन्दा पहिला नै यसबारे सतर्क हुनु नै यसबाट बच्ने तरिका हो। तर, यो भाइरस अत्यधिक तीव्र गतिमा फैलिरहेकाले पनि चिन्ता बढ्दो छ। यो भाइरसबाट बच्न यो भाइरसको संक्रमण भएका मानिसबाट टाढै रहने एक उपाय हो। त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नचलाउने, बाहिरबाट आएपछि राम्रोसँग साबुन पानीले हात धुनेजस्ता उपाय अपनाएर कोरोना भाइरसबाट बच्न सकिन्छ।

यो भाइरस लागिहालेको खण्डमा सामान्य रुघाखोकीजस्तै पर्याप्त मात्रामा रसिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाह अनुसार यसलाई रोकथाम गर्ने औषधि खानुपर्छ।

साथै यो भाइरसबाट बच्न कुनै विशेष किसिमको मास्क नै आवश्यक नरहेको बताएको छ। सामान्य मास्कबाट नै यो भाइरसलाई रोक्न सकिन्छ। साथै, नियमित व्यायाम गर्न र भीडभाडमा आवश्यक परेको खण्डमा मात्र जाने र अस्वस्थ महशुस भए तत्काल चिकित्सककोमा जान सुझाव दिइएको छ। त्यसका साथै विना काम जनावर पालिएको स्थानमा जाने र उनीहरुलाई नचलाउन पनि सुझाव दिइएको छ।

यसो गरेको खण्डमा यो भाइरसले आक्रमण गर्ने जोखिम पनि कम हुन्छ। अहिले यो भाइरसको लागि औषधि निर्माणको लागि वैज्ञानिकहरुको टोलीले काम गरिरहेको छ। यो औषधि निर्माणको लागि तीन महिनाको समय लाग्नसक्ने अनुमान गरिएको छ। त्यसैले अहिले तत्काल यसको समाधान आउने सम्भावना पनि कम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ