arrow

तस्करीको छोगडा बरामद भएपछि पर्सा प्रहरीमा हंगामा

logo
प्रकाशित २०७६ माघ १२ आइतबार
dig-padam-karki.jpg

बीरगंज । दुई नम्बर प्रदेशका प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्कीले भन्सार छली गरी सामान आयात निर्यातमा कडाइ गरेपछि प्रहरी भित्रै एकपछि अर्को पात्र र प्रवृती उदाङ्गो हुँदै गएका छन् । कार्कीले २ नम्बर प्रदेशमा तस्करीको लाइन पूरै बन्द गरिदिएपछि जिल्लाका प्रहरी प्रमुखहरुको कमाउधन्दा समेत बन्द भएको चर्चा छ। 

पर्सामा तस्करसँग मिलेर सेटिङमा छोगडा भारततर्फ पठाउने प्रहरी निलम्बनमा परेका छन् । संजय साह र दिनानाथ साहले प्रहरीसँग सेटिङ गरी छोगडा तस्करी गर्दै आएका थिए । यसरी छोगडा तस्करी हुने गरेको सूचना प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआइजी कार्कीलाई थियो । साहद्वयले रानीघाटमा छोगडाको गोदाम राखी पोखरीया, भिस्वा हुँदै भारततर्फ पठाउने गरेका थिए । 

पर्साका एसपी सोमेन्द्रसिंह राठौरले आफू सरुवा भएसँगै लगेका सई बिदुर शिवाकोटी, घुमुवा सिपाही बिजय यादव र सुरेन्द्र कार्कीले साहसँग मासिक रुपमा दररेट तोकी घुस लिएर छोगडा तस्करी भारततर्फ गराउन सहयोग गर्दै आएको आरोप लाग्दै आएको थियो। 

उनीहरुले माघ ८ मा ना ५ च ३५४५ नम्बरको ट्रकमा १६ क्वीन्टल छोगडा राखी माथि भुजाका बोराले छोपेर भारततर्फ लैजान लागेका थिए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक शाहले ट्रकमा भएको सामानको बारेमा सोधपुछ गर्दा ब्यापारी साहले भुजा हो भनि टार्न खोजेका थिए। शंका लागी इन्स्पेक्टर शाहले आफ्नै रोहबरमा चेकजाँच गर्दा १६ क्वीन्टल छोगडा भेटिएपछि इन्स्पेक्टर शाहले डीआईजी कार्कीलाई जाहेरी गरेका थिए। 

डीआइजी कार्कीले घुमुवा सिपाही बिजय यादवलाई शुक्रबार जनकपुर प्रदेश कार्यालयमा तानी निलम्बन गरेका छन् । छोगडा बरामद हुनासाथ डीआइजी कार्कीले निलम्बन गर्ने संभावना देखेपछि सई बिदुर शिवाकोटीलाई ३ दिनअघिको मिति राखी एसपी राठौरले अपराध अनुसन्धान महाशाखामै काजफिर्ता गरेको प्रहरी भित्रै चर्चा छ। सई शिवाकोटीलाई एसपी राठौरले नै आफू सरुवा भएपछि पर्सामा काज लगी घुमुवा इन्चार्ज राखेका थिए । राठौरले शिवाकोटीलाई माघ ५ को मिति राखी काजफिर्ता गरेका थिए । 

छोगडा तस्करीमा संलग्न सिपाही सुरेन्द्र कार्कीलाई भने निलम्बन गरिएको छैन । डीआइजी कार्की चितवनको एसपी हुँदा सुरेन्द्र सवारीचालक भएकाले उनलाई जोगाएको आरोप छ । सुरेन्द्र कार्कीलाई पनि एसपी राठौरले अपराध महाशाखाबाटै पर्सामा लगेका थिए । 

राठौरले पर्सा सरुवा हुनासाथ आफूँसँगै लगेका सई शिवाकोटी फिर्ता भइसकेका छन् । इन्स्पेक्टर असरफ अली अन्सारी शिवाकोटीसँग बाझाबाझ भएपछि यसअघि नै फर्किसकेका छन् । अन्सारीलाई पनि राठौरले अपराध अनुसन्धानबाटै पर्सामा लगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ