काठमाडौं। गायिका आस्था राउतलाई प्रहरीले ४ दिन थुनामा राखी अनुसन्धान गर्ने गरी सोमबार म्याद थप गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालिन युवराज पारस शाहबाट प्रहरीलाई दुर्व्यवहार हुँदा भिजेको मुसो जस्तो भएर केही पनि नगर्ने प्रहरीले सामाजिक संजालमा आवेशमा आएर बोलेकै आधारमा गायिका राउत विरूद्ध भने सिंह जस्तै झम्टिएको छ। राउतलाई ४ दिन थुनामा राख्नका लागि म्यादथप गरेपछि यसलाई ज्यादतिका रुपमा अथ्र्याउन थालिएको छ।
विमानस्थलमा सिक्किम जान लागेकी आस्थालाई प्रहरीले चेकिङका क्रममा दुब्यर्वहार गरेको भन्दै उनले फेसबुकमा प्रहरीप्रति अनास्था फैलाउनेखालको गालीगलौज गरेकी थिइन्। आवेशमा आएर बोलेको भन्दै उनले फेसबुकबाट भिडियो समेत हटाइसकेकी थिइन् भने आफै प्रहरीकहाँ पुगेकी थिइन। भिडियो हटाइसकेपछि प्रहरीले सामान्यरुपमा माफी माग्न लगाएर उनलाई छाड्नुपर्ने हो। तर महानगरीय प्रहरी आयुक्त डीआइजी विश्व पोखरेलको दबाबका कारण काठमाडौं परिसरले उनलाई थुनामा राख्नका लागि म्यादथप गरेको छ।
परिसर प्रमुख एसएसपी उत्तम सुवेदी गायिका राउतलाई अभिभावकसहित आएपछि सामान्य कागज गराएर छाड्ने पक्षमा थिए। तर डीआइजी पोखरेलले आस्था राउतलाई पक्राउ गर्न दबाब दिए। राउत सिक्किमबाट फर्किने दिन डीआइजी पोखरेल पक्राउ गर्ने निर्देशन दिएर आफू पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । चर्चामा आउनका लागि उनी एयरपोर्ट पुगेर पक्राउ गर्न खोजे पनि सो दिन राउत आइनन्।
सोमबार अभिभावकले राउतलाई प्रहरीमा लिएर गएपछि हिरासतमा नराख्ने अपेक्षा गरिएको थियो। तर ४ दिन म्यादथप गरिएपछि उनीमाथि ज्यादती नै गरिएको भन्दै सामाजिक संजालमा बिरोध भइरहेको छ।