arrow

बिदुरका पूर्व मेयर कमानसिंहको ठगी काण्ड

logo
प्रकाशित २०७६ माघ १४ मंगलबार
dhanamaya.jpg

काठमाडौं । आफूलाई बेलायत पठाइदिने प्रलोभन देखाएर बिदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह लामाले ठगी गरेको भन्दै नुवाकोटकी धनमाया तामाङले कारबाहीको माग गरेकी छिन् । रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गर्दै तामाङले ठगीको रकम फिर्ता दिलाइदिन र दोषीलाई कारबाहीको माग गरेकी हुन् ।

‘मलाई बेलायत लैजान्छु भन्दै कमानसिंह लामाले नौ लाख ५२ हजार रुपैयाँ ठगी गरे,’ धनमायाले भनिन्, ‘मैंले न्याय पाउनुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ ।’ आफ्नो आर्थिक अवस्था कमजोर भएपनि विदेश गएर अवस्था सुधार्न सकिन्छ कि भनेर आफन्तसँग सरसापटक गरेर रकम जोहो गरेर लामालाई दिएको र ठगीमा परेर समस्यामा परेको बताइन् ।  आफूलाई दुई पटक गरी एक लाख मात्र फिर्ता गरेको भन्दै बाँकी रकम जतिसक्दो छिटो फिर्ता दिलाइदिन जिम्मेवार निकायसँग सहयोगको आग्रह समेत गरिन् । रकम फिर्ता गरिसकेको भन्ने नक्कली प्रमाण देखाएर हिंडेको भन्दै कमानसिंह लामालाई किर्ते हस्ताक्षर समेत गरेको बताइन् ।  लिएको रकम फिर्ता गर्न लामाले चेक दिएको तर चेक साट्न जाँदा बैंकमा रकम नभएर बाउन्स भएको बताइन् ।

आफूसँग रकम लिएर विदेश पठाउन नसकेको र रकम फिर्ता माग्दा अनेकन बहाना झिकेको उनको भनाई थियो । पटक पटक टेलिफोन सम्पर्क गरी रकम फिर्ता गर्न भन्दा मोबाइल समेत ब्लक गरिदिएको र भेट्न समेत नदिएको गुनासो गरिन् । उनले भनिन्, ‘मलाई रकम फिर्ता नदिने नियतले कमानसिंह लामा सम्पर्कबाहिर छन् ।’ पत्रकार सम्मेलनमा पूर्व मेयर कमानसिंह लामाविरुद्ध कडा रुपमा प्रस्तुत भएकी उनले चर्को आलोचना गरिन् । उनले भनिन्, ‘कमानसिंह लामा ठग र जालीफटाहा हुन् । आफूसँग रकम लिएको केही दिनमै लामा फरार भएको आरोप लगाइन् ।’

निकै खोजीपछि मात्र बल्ल भेट्न पाएको र पैसा फिर्ता दिन १५ दिनको म्याद राखेपछि चेक दिएको तर चेकमा रकम नभएको उनको भनाई थियो । तामाङले चेक बाउन्स भएको पीडा सुनाइन् । उनले भनिन्, ‘एकपछि अर्को तरिकाले मलाई झुक्याउने र ठगी गर्ने गतिविधि भयो ।’ आफूलाई पटक पटक झुक्याएपछि  ७ मंसिरमा मुद्दा दर्ता गरेको जानकारी गराइन् ।

आफू जस्तो कमजोर आर्थिक अवस्थाका मानिसबाट रकम ठगी गरेर कमानसिंह लामाले अपराध गरेको  आरोप लगाइन् । उनले भनिन्, अहिले मसँग आफ्नो बच्चालाई दुध समेत खुवाउने पैसा छैन तर कमानसिंह मेरो रकम लिएर घुमिरहेका छन् ।’ आफूमाथि ठगी गरेको सबै तथ्य प्रमाणहरु सुरक्षित रहेको उनको भनाई थियो । कमानसिंह लामालाई आफ्नो अगाडि ठगी गरेको होइन भनी प्रमाणित गर्न चुनौती समेत दिइन् । उनले भनिन्, ‘मसँग सबै प्रमाण छ त्यसैले यहाँहरुले सत्य तथ्य लेखिदिनुहोस् ।’  तामाङले छिटो भन्दा छिटो आफूले न्याय पाउनु पर्छ भन्दै सरकार र सरोकारवालासित सहयोगको अपिल गरेकी छिन् । आफूले दुईपटक गरी एक लाख रुपैयाँ मात्र बुझेको स्वीकार्दै बाँकी रकम नपाएको प्रमाण समेत प्रस्तुत गरिन् ।
 
कार्यक्रममा किरण सिंहले धनमाया तामाङले छिटो भन्दा छिटो न्याय पाउनु पर्नेमा जोड दिए । यस्तै किसिमको ठगीमा विभिन्न मानिसहरु चपेटामा परेको भन्दै न्याय दिलाउन जिम्मेवारी निकायसँग आग्रह गरे । धनमायाको कीर्ते हस्ताक्षर लिएर चार लाख ५२ हजार तिरिसकेको लामाले बताउँदै हिंडेको भन्दै धनमायाले केवल ५०–५० हजार गरी दुई पटक मात्र रकम दिएको प्रमाण रहेको जानकारी समेत दिए । उनले भने, ‘धनमाया तामाङ जस्तो विपन्न आर्थिक अवस्थाकी महिलालाई यस प्रकारको यातना सहनु परेकोमा सरकार गम्भीर बनेर कारबाही गरोस् ।’ कीर्ते हस्ताक्षर गर्ने कार्यमा विदुर नगरपालिका तरुण दल इकाई सदस्य आशिष थापा संलग्न रहेको उनको भनाई थियो । आफूमाथि ज्यान मार्ने धम्की दिएको आरोप आएको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिए । उनले भने, ‘गरिबमाथि अन्याय गर्ने कामनसिंह लामा र आशिष थापा नै अन्यायमा परेको भन्दै भ्रम छर्दैं हिंडेका छन् ।’       

 पूर्व मेयर कमानसिंह लामाले भने आफूलाई अन्य व्यक्तिको लेनदेनमा मुछेर बदनाम गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् । उनले धनमाया तामाङ र कृष्ण तामाङको लेनदेनको विवादमा आफूलाई मुछेर बदनाम गर्न खोजिएको भन्दै न्यायका लागि अदालतदेखि मिडियासम्म जान बाध्य भएको बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ