arrow

समुदायमा गुठी हस्तान्तरणपछि संरक्षणमा स्थानीयको चासो

logo
सुशीला रेग्मी,
प्रकाशित २०७६ माघ १८ शनिबार
guthi.jpg

रामपुर। रामपुरको धार्मिक नगरी रामघाटको पुरानो लक्ष्मीनारायण गुठी समुदायमा हस्तान्तरण गरेपछि संरक्षणमा स्थानीयको चासो बढेको छ। पौराणिककालदेखि नै रेग्मी परिवारले मात्र सञ्चालन गर्दै आइरहेको गुठी समुदायमा हस्तान्तरण भएपछि स्याहार संरक्षण तथा विकासमा रामपुरका स्थानीय लागेका छन्।

विसं १८७० तिर स्थानीय तुल्सीराम रेग्मीलाई राति सपनामा भगवान् रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजाआजा गर्न भनेपछि विसं १८८९ मा मन्दिर स्थापना गरेका हुन्। गुठीको नामबाट सञ्चालित यस मन्दिरमा रेग्मी परिवारको मातहतमा रहेर पूजाआजा भइरहेको थियो। विसं २०७५ साउन २६ गते रेग्मी परिवारले यस गुठीलाई सबैको साझा बनाउन समुदायमा हस्तान्तरण गरेको लक्ष्मीनारायण गुठी सञ्चालक समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउछन्।

“रेग्मी परिवारबाट मात्र सञ्चालित हुँदा स्याहार संरक्षणको अभाव, भौतिक पूर्वाधारमा कसैले चासो नदिनु र गुठीलाई सबैका साझा बनाएर पर्यटकीय तथा धार्मिक क्षेत्रका रुपमा विकास गर्न समुदायमा हस्तान्तरण गरेका छौँ”, उनले भने। गुठी समुदायमा हस्तान्तरण भएपछि रामपुरवासीले यहाँको पर्यटन तथा धार्मिक विकासमा धेरै चासो र सहयोग गर्न थालेको उनले बताए।

लक्ष्मीनारायण मन्दिर सञ्चालनका लागि रामपुर नगरपालिका वडा नं ४ र ५ मा दर्ता भएको करिब एक हजार रोपनी र दर्ता नभएको एक हजार १०० रोपनी जग्गा छ। जग्गा मोहीले बुझाउनुपर्ने कुत नबुझाउँदा भने मन्दिर सञ्चालनमा समस्या परेको छ। गुठीको नाममा रहेको जग्गा भोगचलन गर्ने मोहीबाट वर्षमा ७० मुरी धान मन्दिरमा बुझाउनु पर्नेछ।

केही मोहीले समयमा नै जग्गाको कुत नबुझाउँदा मन्दिरको पूजापाठमा समस्या परेको मोही प्रतिनिधि कीर्तिनाथ श्रेष्ठ बताउछन्। “मोहीले भगवान्को नाममा रहेको जग्गाबाट जीविका चलाउने तर थोरै आयस्था भगवान्को नाममा केहीले छुट्याएर नदिँदा मन्दिरमा पूजापाठ चलाउन समस्या छ”, उनले भने। मोहीले तोकेको समयमा गुठीलाई बुझाउनुपर्ने आयस्था नुबझाउँदा बेला बेलामा विवाद बल्झिने गर्दछ। गुठीको नाममा रामपुर नगरपालिका–४ खोप्टारमा करिब १० रोपनी जग्गा पर्खालले घेरिएको र हाल जीर्ण अवस्थामा रहेको एउटा धर्मशाला पार्टी भवन पनि छ।

कालीगण्डकी बेँसीको पवित्र तीर्थस्थलका रुपमा रहेको रामघाटको ऐतिहासिकतालाई जोगाउन पुरानै शैलीमा लक्ष्मीनारायण मन्दिर निर्माण गरिएको छ। भूकम्पले क्षति पुगेको मन्दिरलाई पुनः निर्माण गरी पुरानै आकार दिइएको छ। पुरातात्विक विभागबाट आर्थिक वर्ष २०७५-०७६ मा रु १५ लाख र आव ०७६-०७७ मा रु २८ लाख गरी रु ४२ लाखको लागतमा मन्दिर निर्माण गरिएको समितिका सचिव मीनराज रेग्मीले बताए।

रामपुरको चिनारीका रुपमा रहेको पुरानो जीर्ण मन्दिरलाई पुरानै कलात्मक शैलीमा निर्माण गरिएको छ। यहाँ रामनवमी, कृष्णाजन्माष्टमी, अक्षयतृतीया पर्व र नयाँ वर्षका दिन विशेष मेला लाग्छ। विसं २०७४ देखि दशवर्षे गुरुयोजना तयार पारेर २७ बुँदामा भौतिक पूर्वाधार निर्माणका काम धमाधम भइरहेको छ।

द्धार, धार्मिक बस्ती, सानो गौशाला, सुन्दर प्रतीक्षालय, त्रिदेव मन्दिर, विवाहमण्डव, योग गृह, ज्येष्ठ नागरिक स्याहार केन्द्र, सभाहल, अतिथिगृह, किरियाघर, पानी ट्याङ्की, वनभोजस्थल, गुरुकूल शिक्षाको शुरुआत, शौचालय र भान्साघर निर्माण गर्ने गुरुयोजनामा समेटेर काम गरिएको छ।

पुरानो लक्ष्मी नारायणको मन्दिर, मन्दिर प्रवेशद्वार, पुरानो पौवा, पानीको फोहरासहित शालिकराम स्तम्भ, पानीको ट्याङ्की, दुई कोठे आरसिसी धर्माश्रम, १०८ पिपलका बगँैचा, फलफूलका बगैँचा, नदीको किनारमा रहेको प्रतीक्षालय, मन्दिर परिसरभित्रको पुजारी बस्ने र साँधुसन्त बस्ने दुई घर, मन्दिर परिसरको पर्खाल र चौतारी निर्माण गरी संरक्षण गर्न थालिएको छ।

एक-एक वटा पुजारी र महन्त निवास, शालिकराम स्तम्भ निर्माण, शौचालय, धर्मआश्रम, पानी ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको छ। पौराणिक किम्वदन्तीअनुसार त्रेतायुगमा भगवान् राम वनवास जाँदा कालीगण्डकीको यस रामघाट क्षेत्रमा आएर बसोबास गरेको र उनले दैनिक यही घाटमा स्नान गरेको हुँदा यस घाटको नाम रामघाट हुन गएको हो।

कालीगण्डकीमा स्नान गरी नदीको पवित्र जल लक्ष्मीनारायण मन्दिरमा चढाएर रामपुर नगरपालिका ३ र ४ मा पर्ने सीताकुण्डमा पुगेर जल मिसाएर पूजाआजा गरी पुनः लक्ष्मीनारायण मन्दिरमा नै आएर पूजा गर्ने चलन रहेको छ। यसो गरेमा पुण्य प्राप्ति हुने विश्वास गरिन्छ। रामघाट पौराणिककालदेखि नै तीर्थस्थलको रुपमा चिनिँदै आएको पवित्र धार्मिक तीर्थस्थल हो। भगवान् रामचन्द्रले त्रेता युगमा वनवासको क्रममा रामघाटमा स्नान गरेको, ऋषिमुनि बोलाइ यज्ञ गरेको नजिकै रहेको रामगुफामा बसोबास गरेको तथ्य पाइन्छ।

द्वापर युगमा पाण्डव पनि यही ठाउँमा स्नान गरेको र शुक्ला गण्डकीको पानी कृष्णगण्डकीको रामघाटमा ल्याउन तनहुँको भिमादमा बाँध बाँधेको र शिवजीको बाणको सहयोगबाट जल आउने गरेको तथ्य गङ्गामहात्म्ये, बराहपुराण र शिव पुराणमा उल्लेख छ।

पुराणकै तथ्यअनुसार रामघाटमा सदा ३३ कोटी भगवान्ले बास बस्ने पवित्रस्थल भनी उल्लेख गरेको पाइन्छ। त्यसैले रामघाट क्षेत्र पूर्वी पाल्पाकै सबैभन्दा पुरानो पौराणिक कथामा उल्लेख भएको भगवानको पनि तीर्थस्थल भएको मानिन्छ। सर्वसाधारण पहिले पहिले पैदल हिँडेर एक दुई दिनको समय खर्चिएर बासै बस्ने गरी दर्शन गर्न आउने गरेको बूढापाका बताउँछन्।

रामपुर नगरपालिकाले रामघाट क्षेत्रलाई उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा समावेश गरेको छ। कालीगण्डकी तट, कालीगण्डकीको करिडोर नजिकै रहेकाले पनि यो क्षेत्रमा अवलोकन गर्न जानेको अहिले चहलपहल बढ्दैछ।

मन्दिरसम्म पुग्ने सडक सुविधा भएपछि यहाँ घुम्न जाने पनि बढेका छन्। विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिन रामघाट परिसर घुम्न पुगेका आन्तरिक पर्यटक कालीगण्डकी, रामघाटको रमाइलो दृश्यसँग लोभिन पुग्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ