arrow

अकुपाई टुँडिखेल अभियानले भन्यो : अब प्रदेश र केन्द्रीय सरकारले नै टुँडिखेलको संरक्षण गर्नुपर्छ (विज्ञप्तीसहित) 

logo
प्रकाशित २०७६ माघ १८ शनिबार
occupy-tundikhel.jpg

काठमाडौं। अकुपाई टुँडिखेलले अब प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा गरेको छ। शनिबार काठमाडौंको खुल्लामञ्चमा अकुपाई टुँडिखेलले एक कार्यक्रमको आयोजना गरेर आगामी योजनाहरु सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

अकुपाई टुँडिखेलका अभियन्ताहरुले अहिलेसम्म आफूहरुले स्थानीय सरकारसँग पटक–पटक टुँडिखेलको संरक्षणको लागि हारगुहार गरेको तर कुनै सुनुवाई नभएकोले बाध्य भएर प्रादेशिक सरकार (बाग्मती प्रदेशको सरकार) र केन्द्रीय सरकारलाई नै अब यसको संरक्षणको लागि आग्रह गरिने जानकारी दिएका हुन्। 

त्यस्तै, अभियानले टुँडिखेलको अतिक्रमण गम्भीर मानव अधिकारको उल्लङ्घन भएकोले राष्ट्रिय मानव अधिकार आयोगमा डेलिगेसन गई तत्काल सरकारलाई सो अतिक्रमण हटाउन सिफारिस गर्न लगाउने पनि आगामी कार्यक्रम तय गरेको छ। युनेस्कोमा डेलिगेसन गई टुँडिखेलको मूर्त अमूर्त सम्पदाप्रति संवेदनशील हुन ध्यानाकर्षण गराउने र चेतनशील नागरिक, नागरिक समाज, राजनितिज्ञ, पत्रकारहरूबाट आएको सुझावलाई आत्मसाथ गर्दै मुक्त टुँडिखेलको लागि सङ्घर्ष गर्ने पनि अरु कार्यक्रम रहेको अभियानले जानकारी गराएको छ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले टुँडिखेलको संरक्षणको लागि आफूले सुरुदेखि नै आवाज उठाउँदै आएको सुनाउँदै यो अभियानलाई सार्थक बनाएरै छाड्ने स्पष्ट पारे। उनले भने,‘म संसदको वातावरण समितिमा रहँदापनि यो बारेमा बोलेको थिएँ। मैले निरन्तर आवाज उठाउँदै आएको छु।’ टुँडिेलको संरक्षणको लागि आफूले संसदमा समेत आवाज उठाउने उनले प्रतिबद्धता जनाए। 

कार्यक्रममा मानवअधिकारकर्मी प्राध्यापक कपिल श्रेष्ठले टुँडिखेलको संरक्षण गर्नु मानवअधिकारको रक्षा पनि भएको स्पष्ट पारे। उनले भने,‘यो काठमाडौंको लाईफलाईन हो । यसको रक्षा गर्नु हामी सबै सचेत नागरिकको कर्तव्य र दायित्व हो। यो अभियानलाई सफल बनाउनुपर्छ । तीनै तहका सरकार हाम्रो मागप्रति गम्भिर होउन्।’

त्यस्तै, वीर अस्पतालका पूर्व निर्देशक डा. भूपेन्द्र बस्नेतले टुँडिखेल स्वास्थ्यको दृष्टिकोणले पनि अध्यावाश्यक र महत्वपूर्ण स्थान् भएको सुनाउँदै यसको संरक्षण गर्नु सबैको दायित्व भएको सुनाए । उनले भने,‘नेपालमा वीर अस्पताल भनेको स्वास्थ्य क्षेत्रको हब हो, भोलिका दिनमा वीर अस्पतालमा कुनै प्राकृतिक कारणले उपचार गर्न सकिएन भनेपनि टुँडिखेलमा अस्थायी केन्द्र बनाएर उपचार गर्ने सरकारको रणनीति छ। यो कुरालाई सबैले ध्यान दिनुपर्छ ।’

संस्कृति तथा इतिहासविद् योगेन्द्र श्रेष्ठले टुँडिखेल मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण स्थल भएको सुनाउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भने,‘दुईमाजु, गुरुमापा, पाँचार्य यस्ता विभिन्न सांस्कृतिक पर्वहरु यो ठाउँमा हुने गरेका छन्। त्यसैले यो क्षेत्रलाई पुरानै स्वरुपमा फर्काउनुपर्छ ।’ 

कार्यक्रममा अभियानका प्रवक्ता सञ्जय अधिकारीले जारी विज्ञप्ती वाचन गरेका थिए । उक्त अभियानले पुर्ण टुँडिखेल कायम गर्न लगाउने र सो क्षेत्रमा भएको सम्पूर्ण अतिक्रमण तत्काल हटाइ सो क्षेत्रको मुर्त तथा अमुर्त अवयवहरूको अस्तित्व संरक्षण र संवर्द्धन गर्न लगाउने तथा काठमाडौं महानगरपालिकाको अनुगमन समितिको अनुगमन प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न जनदबाब दिनको लागि यही माघ २३ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेट्ने कार्यक्रमसमेत तय भएको प्रवक्ता अधिकारीले जानकारी दिए । 

अभियानले अहिलेसम्म हाँसिल गरेको उपलब्धिमा खुल्ला ठाउँको पक्षमा जनमत निर्माण गरेको, स्थानीय सरकारलाई झकझक्याई उत्तरदायी बनाउने प्रयास गरेको, पूर्व प्रधानमन्त्री, तत्कालीन शहरी विकास राज्यमन्त्री, पूर्व मन्त्रीलगायत प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभाका निर्वाचित जनप्रतिनिधि लगायतका राजनीतिज्ञहरुलाई भेटेको र उनीहरुलाई झक्झकाएको, नागरिक समाजका अगुवाहरुलाई भेटेर झक्झकायो, वडा नं २८ लाई यो सम्बन्धमा संवेदनशिल बनाई टुँडिखेलको अतिक्रमण हटाउन सहकार्य गरेको, का.म.पामा पटक पटक निवेदन दर्ता गरी न्यायिक समितिको संयोजक लगायतबाट अनुगमन गराई सोको प्रतिवेदन पेश गराइएको र वीर अस्पतालको भवन निर्माणको क्रममा राखिएको सामाग्री तथा कामदारको वासस्थान सो सरोकारवालासँगको सहकार्यमा हटाउन सुरुवात गरेको उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ