arrow

कोरोना भाइरस प्रभावित हुवेईमा कति छन् नेपाली ? कसरी हुँदैछ उद्दार ? 

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
corona-virus.jpg

काठमाडौं । कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई सरकारले नेपाल फर्काउने प्रयास ढिला गरी थालेको छ । 

कोरोना भाइरस प्रभावित क्षेत्र हुवेई प्रान्तमा रहेका नेपाली नागरिकमध्ये संक्रमण नभएका आफ्ना नागरिकलाई मात्र सरकारले स्वदेश फिर्ता गर्न लागेको हो । 

सरकारलाई सुरुवातदेखि नै संक्रमित स्थलबाट नेपालीको उद्दार गर्न माग गरिए पनि सरकारले बेवास्ता गरेको थियो । विज्ञहरुले समेत आफ्नो परिवार पनि त्यतै रहेकाले कुनै समस्या नहुने र बचेर बस्नुपर्ने तर्क गर्दै सरकारलाई गलत सुझाव दिँदै आएका थिए । 

ढिला गरी चीनस्थित नेपाली राजदूतावासले शनिबार सूचना प्रकाशित गर्दै हुवेई प्रान्तमा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउने जनाएको थियो । 

त्यहाँ रहेका नेपालीले आफू असुरक्षित रहेको भन्दै सरकारलाई नेपाल फर्काउन आग्रह गर्दै आएका थिए । नेपाल फर्कन इच्छुकले आइतबार बिहान ९ बजेसम्म फर्म भरिसक्नुपर्ने दूतावासले जनाएको छ ।

दूतावासले जारी गरेको सूचनामा नेपाल फर्कन चाहने नेपालीले अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । संक्रमण भइसकेकालाई भने चीनमा नै राखेर उपचार गरिने भएको छ ।

कोरोना संक्रमित वुहानमा हाल १ सय ८९ जना नेपाली रहेको तथ्यांक दूतावाससंग छ । चीनको वुहान सहर क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई फिर्ता गर्न दुईवटा जहाज तयारी अवस्थामा राखिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार वुहानमा रहेका नेपालीलाई उद्धारपछि नेपाली सेनाको ब्यारेक, ट्रेनिङ सेन्टर वा विद्यालयमा सुरक्षित तरिकाले राख्नका लागि अन्तरमन्त्रालय र समितिहरूमा छलफल चलिरहेको छ । 

उद्धार गरिएका नेपालीहरूलाई दुई सातासम्म अब्जरभेसनमा राख्नुपर्ने इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ । 

सरकारी अस्पतालहरूले समेत नेपालीहरूलाई ल्याइए आइसोलेसन वार्ड तयारी अवस्थामा राखिने बताउँदै आएका छन् । 

चिनियाँ दूतावासले नेपाल फर्कन चाहनेले फर्म भर्नु भनी भन्नुभन्दा सबैलाई नेपाल ल्याउने नभन्नु भने भाषिक रुपमा दुःखद पक्ष हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ