arrow

राजपामा लफडै लफडा, अध्यक्ष मण्डल भित्र सरकारमा जाने कि नजानेबीच बिवाद

logo
राजु रिमाल,
प्रकाशित २०७६ माघ १९ आइतबार
RJP-flag.jpg

काठमाडौं। राष्ट्रिय जनता नेपालका अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा सरकारमा जाने लागे पछि पार्टीभित्र फेरि अर्को लफडा सुरु भएको छ।

राजपाका ३ जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति निकाली अहिलेको अवस्थामा वर्तमान सरकारमा नजान पार्टी नेतृत्वलाई दबाब दिएका छन्। यसअघि राजपाका ७ जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तथा महासचिवहरुले पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्र लेखि यही स्थितिमा सरकारमा नजान चेतावनी दिएका थिए।

स्रोत भन्छ, राजपाका अध्यक्ष मण्डलका ६ नेतामध्ये महन्थ ठाकुर र महेन्द्र यादव यही स्थितिमा सरकारमा जानु हुँदैन भन्ने अडानमा छन् भने महतो, भण्डारी, झा र यादव तत्काल सरकारमा जाने पक्षमा उभिएका छन। यस विषयमा पार्टीभित्र गम्भिर विवाद सुरु भएको छ।

आगामि चैत ६ सम्म अध्यक्ष मण्डलको संयोजकमा महेन्द्र यादव हुने छन्। त्यसपछि राजपाको नेतृत्व फेरिने छ। चैत ६ देखि भण्डारी अध्यक्ष मण्डलका संयोजक हुने छन्। भण्डारी अध्यक्ष मण्डलका संयोजक भएका बेला राजपा सरकारमा जाने सम्भावना भएको राजपाका एक पदाधिकारी बताउछन्। ती पदाधिकारी भन्छन,‘ चैत ६ सम्म राजपा सरकारमा जान्न।

किनभने यही स्थितिमा सरकारमा जानु हुँदैन भन्ने लाइन लिएका महेन्द्रले पार्टीको नेतृत्व गरेका छन, तर चैत ६ पछि राजपा सरकारमा जाने सम्भावना बढी छ।’ यसैबीच, राजपाका तीन जिल्ला अध्यक्षले पार्टी नेतृत्वलाई सरकारमा नजान आग्रह मात्र गरेका छैनन, समाजवादी पार्टीसँग तत्काल वार्ता प्रक्रिया अघि बढाउन दबाब दिएका छन्।

राजपाका काभ्रेका अध्यक्ष सबर प्रजापति, भक्तपुरका अध्यक्ष उपेन्द्रप्रसाद यादव र काठमाडौका अध्यक्ष दानेन्द्र जोशीले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति निकाली विचार मिल्ने अधिकारवादी तथा पहिचानवादी शक्तिसगँ एकता, मोर्चावन्दी र सहकार्य गर्नको लागि तुरून्त वार्ताको वातावरण बनाउन  माग गरेका छन्।

विज्ञप्तिमा उनीहरूले समाजवादीको नाम लिएका त छैनन त विचार मिल्ने पार्टी भन्दै समाजवादीलाई इगिंत गरेका छन्। पार्टीले उठाएका माग सम्बोधन नभएसम्म सरकारमा नजान उनीहरुले  नेतृत्वलाई दबाब दिएका हुन्। राष्ट्रिय सभाको निर्वाचन पछि सरकारमा जाने विषयमा राजपा भित्र विवाद भएको बेला ३ जिल्ला अध्यक्षहरूले सरकारलाई भन्दा समाजवादीसँगको एकीकरण प्रक्रियालाई प्राथमिकता दिन दबाब दिएका छन्।

राजपका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला अध्यक्ष प्रजापतिले यही स्थितिमा सरकारमा जानु हुँदैन भन्ने राजपाका आम कार्यकर्ताको भावना रहेको बताउदै कार्यकर्ताको भावना बुझेर आफूहरुले पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराएको बताए। कार्यकर्ताको भावना पार्टी नेतृत्वले बुझ्नु पर्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ