arrow

वानेश्वर प्रहरी वृत्तमा रावतको रहस्यमय मृत्यु, हत्याको आरोप

logo
प्रकाशित २०७६ माघ १९ आइतबार
rawat1.jpg

काठमाडौँ । काठमाडौको बानेश्वरस्थित महानगरीय प्रहरी बृत्तमा एक युवाको हिरासतमा रहेकै बेला रहस्यमय मृत्यु भएको छ । बाजुरा जिल्लाको खप्तडफेडेदह गाउपालिका वडा नं. ५ घर भई काठमाडौमा कक्षा १२ मा अध्ययन गरेका हेमबहादुर रावतको रहस्यमय मृत्यु भएको हो ।

मृतक युवाका आफन्त तथा  शुवेच्छुकहरुले प्रहरीले नै रावतको हत्या गरेको आरोप लगाएका छन् भने प्रहरीले उनले झुण्डीएर आत्महत्या गरेको दावी गरेको छ ।  मृतकका आफन्तले त्रिवि शिक्षण अस्पतालमा गरिएको शवको पोष्टमार्टम रिपोर्टले पनि आत्महत्या नभई प्रहरीकै कुटपिटबाट मृत्यु भएको देखिएको बताएका छन् ।
 
पोष्टमार्टम गर्दा निधारको भित्रि भाग, बंगराको भित्रि भाग, वायाँ घुडाको पछाडी, ढाडको भित्रि भाग, नाक र आँखाको भित्रि भागमा चोट देखिएको र कुइनाको पछाडी पट्टी घिसारिएको चोट देखिएको अफन्तहरुले जनाएका छन् । चोट र घाउहरुको अवस्था हेर्दा झुण्डीएर आत्महत्या गरेको हुनै नसक्ने उनीहरुले बताएका छन् ।

ब्लाङ्केटको छेउको डोरी च्यातेर त्यसले प्रहरी कार्यालयकै शौचालयको झ्यालमा झुण्डीएर रावतले आत्महत्या गरेको प्रहरीको दावी छ । तर रावतका आफन्तहरुले भने पोष्टमार्टम गर्दा घाडीमा चोट नदेखिएको, सामान्य दाग मात्रै देखिएको र आत्महत्या गरेको भनिएको ठाउँमा आत्महत्या गर्न नमिल्ने अवस्था रहेको, झ्यालको जाली फेरिएको लगायतका कारणले आत्महत्या नभई प्रहरीकैकारण उनको मृत्यु भएको जिकिर गरेका छन् ।

प्रहरीका अनुसार, माघ १२ गते आइतबार बिहान साढे ५ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको र सोही राती १२ बजे उपचारका क्रममा निधन भएको थियो। आफ्नो छोराको मृत्यु भएको खवर पाएपछि उनका बुवा जितबहादुर काठमाडौं आएर घटनास्थलको अवस्था र घटना विवरण सुनेपछि सशंकित हुँदै आफ्नो छोराको मृत्य शंकास्पद भएको भन्दै शब इन्कार गरेका थिए ।

रावतका परिवारजनले घटनाको सत्यतथ्य छानविन गरी यथार्थ सार्वजनिक गरिदिन राज्यका सम्बन्धित अधिकारीसमक्ष हारगुहार गरेका छन् । उनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालदेखि गृहसचिव र गृहमन्त्रीलाई घटनास्थलमा जडान गरिएको सिसि टिभी फुटेज र अन्य प्रमाण उपलब्ध गराई दिन र न्याय दिलाइदिन पनि माग गरेका छन् ।

उनको माग अनुसार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुको बैठक बसेर सहायक प्रजिअ जीवनप्रसाद आचार्यको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ । समितिलाई १५ दिन भित्रमा प्रतिवेदन तयार पार्ने जिम्मेबारी दिइएको छ ।

बाजुराका कांग्रेस सांसद बद्री पाण्डे लगायतको पहलमा छानविनको प्रक्रिया अगाडी बढेको र राज्यको नियन्त्रणमा रहेको व्यक्तिको शंकास्पद मृत्यु हुनु आफैमा अन्याय भएकाले क्षतिपुर्ति माग गरिएको आफन्तले बताएका छन् ।  क्षतिपूर्ति नदिदासम्म शव नबुझ्ने रावतका आफन्तले अडान लिएकाले उनको शव अहिले शिक्षण अस्पतालको शव गृहमा रहेको छ ।  

रावतलाई माघ ८ गते लागू औषध अपराधमा पक्राउ परेका दिपक भन्ने उनैको साथीले आफूले ८ हजार रुपैयाँमा रावतसँग लागूऔषध खरिद गरेको जानकारी दिएको आधारमा सोही दिन रावतलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

नयाँ वानेश्वर प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक दुर्गा रेग्मीले यसअघि तीन पटकसम्म चारीको आरोपमा पक्राउ परी धरौटीमा छुटेका रावतलाई लागू औषध कारोबारमा संलग्न रहेको अभियोगमा माघ ८ गते पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखेको जानकारी दिए ।

रावत झुण्डिएको अवस्थामा फेला परेपछि तत्काल उद्दार गरी नजिकैको सिभिल अस्पताल लगेको र थप उपचारका लागि मध्यवानेश्वरस्थित भेनस अस्पताल लगिएको प्रहरीको भनाई छ ।

रावतका आफन्तजनले झुण्डिएको भनिएको स्थानको भौतिक अवस्था र भेन्टिलेशनको जाली फेरिएको तथा सिसि टिभीको फुटेज सार्वजनिक नगरिएको, घाइते अवस्थाको फोटो पनि दिन नसकेको लगायतका कारणले उनको मृत्यु रहस्यमय भएको दावी गरेका छन् । तर प्रहरीले भने थुनुवा कक्षमा अरु १५ जना थुनुवा रहेको र त्यो भिडमा ब्ल्याङकेटको घेरा च्यातेर लगेको दृश्य सिसिटीभीमा नदेखिएको बताएको छ ।

आत्महत्या गरेको विश्वास गर्ने आधार नदेखिएको बरु प्रहरीले यातना दिएको आधारहरु भेटिएकाले प्रहरीकै कारण उनको मृत्यु भएको भन्दै रावतका आफन्तले न्याय दिलाईदिन र उचित क्षतिपूर्ती उपलब्ध गराईदिन माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ