कोरोनाले अहिले नै महामारीको रूप लिएको छैन : डब्लुएचओ
प्रकाशित २०७६ माघ २१ मंगलबार
747
Shares
चीनबाट सुरू भै विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरि महामारीको रूप नलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार बताएको छ ।
डब्लुएचओको सङ्क्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले भने, “अहिले हामी कोरोना भाइरसको सङ्क्रमणको माहामारीको अवस्थामा छैनौ ।”
“तर हामी सङ्क्रमणको महामारीको जोखिमको बहुकेन्द्रित चरणमा रहेका छौ,” उनले भने ।
कोरोना भाइरसका कारण चीनमा ४२५ जनाको मृत्यु भएको छ भने कम्तीमा २० हजार व्यक्ति यसको सङ्क्रमणका कारण उपचार गराइरहेका छन् । चीनको मध्य क्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरसका विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भएपनि त्यहाँ सङ्क्रमण महामारीको रूपमा नरहेको उनको भनाइ रहेको छ ।
ब्राएन्डले भने, “चीनको हुबेईमा शीघ्र सङ्क्रमण भइरहेको भएपनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै रहेको छ ।”
यसैबीच्मा चीनका अधिकारीहरूले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गरेका र अन्य प्रभाबित मुलुकहरूले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानीहरू अपनाएको पाइएको छ ।
चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न वा यस भाइरसलाई पूर्ण निर्मूल पार्न सफलता मिल्नेमा हामी विश्वस्त छौँ ।