अख्तियारको व्यवहार भेदभावपुर्ण भन्दै कांग्रेसद्वारा संसद अवरोध
हाम्रा कुरा
प्रकाशित २०७६ माघ २३ बिहिबार
821
Shares
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेको छ । सो पार्टीका सांसदको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो ।
बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर काँग्रेसका सचेतक पुष्पा भुसालले तत्कालीन सरकारले गरेका निर्णयका आधारमा कुनै मन्त्री र सचिवलाई भ्रष्टाचारको आरोपमा मुद्दा दयार गरिएको तर केही राजनीतिक र प्रशासनिक नेतृत्वलाई बचाइएको भनी आपत्ति जनाईन् । आयोगले बुधबार सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा आरोपपत्र दायर गरेको थियो ।
नेत्री भुसालले भनिन्, “राज्यले सबै निकायलाई आफ्नो प्रभाव र नियन्त्रणमा लिन खोजेको छ । यसैको उदाहरणका रुपमा अख्तियारले निर्णय गरेको छ । कसैलाई पाखा र कसैलाई पाखा गरिएको छ । त्यस कारण उसमा राजनीतिक बदनियत देखिएको छ । संवैधानिक अङ्गहरु राजनीतिक प्रभावमा परेर राजनीतिक प्रतिशोध साँध्नु हुँदैन । हामीले यसैका लागि गणतन्त्र र समावेशी संविधान ल्याएको हो ?”