arrow

प्रदेशको सीमाङ्कनमा परिवर्तन हुनसक्छ : प्रचण्ड

logo
रासस,
प्रकाशित २०७६ माघ २५ शनिबार
prachanda211.jpg

बेत्रावती। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमाङ्कनमा परिवर्तन हुनसक्ने बताएका छन्। नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आजदेखि शुरु भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश नं ५ र प्रदेश नं २ का केही जिल्लाका जनताको मागअनुसार राजधानीको नाम र केन्द्रमा देखिएको समस्याका कारण प्रदेशको सीमाङ्कन फेरबदल हुनसक्ने सङ्केत दिए।

“प्रदेश नं ५ का बाँके र बर्दियाका जनताले राजधानी र केन्द्र आफूहरुको मागअनुसार नभए प्रदेश नं ५ मा बस्न नचाहेको बताउँदै आएका छन्” उनले भने, “प्रदेश नं २ को बारा, पर्सा र रौतहटका जनताको पनि फरक धारणा आएकाले अहिलेको प्रदेश संरचना परिवर्तन हुनसक्ने देखिएको छ।”

वाग्मती प्रदेशको नाम र केन्द्र चयनमा प्रदेशसभाका सदस्यको चाहनाअनुसार पार्टीको केन्द्रीय कमिटीले सहजीकरण गरेर समस्या समाधानमा सहयोग पुर्‍याएको उनको भनाइ छ। वाग्मती प्रदेशको नाम र केन्द्र पार्टीको केन्द्रीय तहबाट भएको चयनले पायक नपर्ने स्थान राखेको भनेर उठेका जिज्ञासाप्रति इङ्गित गर्दै पूर्वप्रधानमन्त्री दाहालले केन्द्रको राजधानी काठमाडौँबाट समेत अन्यत्र सार्न यसअघि विभिन्न समिति र विज्ञको सुझाव आएको स्मरण गराउँदै प्रदेशको भूगोल र सीमाङ्कनका सम्बन्धमा नजिक र टाढा एवं नाम यो वा त्यो भयो भनेर नअल्झिन आग्रह गरे।

“आफूले सपनाको रुपमा देखेको ल्हासा–लुम्बिनी रेलमार्ग निर्माण, छहरे–टोखा सुरुङमार्ग, मध्यपहाडी सडकमार्गलगायतका संरचनाका निर्माणले भूगोलको दूरी सीमाको आधारमा नजिक र टाढाको रुपमा लिनु पर्दैन” उनले भने, “मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन सकारात्मक सोचका साथ आ–आफ्नो पेशामा आत्मनिर्भर बन्नुपर्छ, परिवर्तन र विकास टाढा छैन।”

आजदेखि शुरु भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगितामा जिल्लामा रहेका सबै स्थानीय तहबाट एक–एक समूह गरेर १२ समूहको सहभागिता रहेको आयोजक पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए। उनको अनुसार प्रतियोगिता ‘लिग’ र ‘नकआउट’ चरणमा प्रतिस्पर्धा गराउन लागिएको छ। प्रतियोगितामा उत्कृष्ट हुने समूहलाई रु एक लाख, दोस्रो हुने समूहलाई रु ७५ हजार र तेस्रो हुनेलाई रु ५० हजार पुरस्कार तोकिएको छ।

यसैबीच पञ्चकन्या गाउँपालिकाले १३औँ सागमा नेपाललाई स्वर्ण पदक जिताउन सफल हुनुभएका पञ्चकन्या गाउँपालिका–४ थप्रेक निवासी अनु अधिकारीलाई नगद रु ५० हजारसहित नेकपाको अध्यक्ष दाहालमार्फत सम्मान गरिएको छ। यस्तै, रजत पदक विजेता अनिता अधिकारी (भण्डारी) लाई नगद रु ३० हजारले सम्मान  गरिएको छ।

नुवाकोट जिल्लामा जन्मेर १३औँ सागमा स्वर्ण पदक विजेता अभिषेक रिजाल, लक्ष्मी मगर र बुद्धिबहादुर तामाङलाई नगद रु १५ हजार तथा रजत र कास्यपदक विजेता मीना ग्लान, कृष्णबहादुर तामाङ, सञ्जित डङ्गोल, अस्मिता राई, अञ्जु तामाङ, रेजिन रिमाल र राजीव पुडासैनीलाई रु १० हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ