arrow

उपप्रधानमन्त्री पोखरेल र प्रधानसेनापति थापासंग बङ्गलादेशी सेना प्रमुखद्धारा छुट्टाछुट्टै भेट

logo
प्रकाशित २०७६ माघ २६ आइतबार
nepal-bangladeshi.jpg

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमदले शिष्टाचार भेटवार्ता गरेका छन् ।  

भेटमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको र द्विपक्षीय सम्बन्ध जनस्तरसम्म विस्तार भएको उल्लेख गरेको मन्त्रालयले जनाएको छ । 

दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले संयुक्त सैनिक अभ्यास तथा तालीममार्फत दुई देशको सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका थिए । 

सो अवसरमा बङ्गलादेशका सेना प्रमुख अहमदले बङ्गलादेशको स्वतन्त्रतालाई समर्थन गर्ने नेपाल सातौँ राष्ट्र रहेको कुरा उल्लेख गर्दै दुई देशबीच विगत पाँच दशकदेखि अत्यन्त घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका थिए । 

साथै उनले नेपाल र बङ्गलादेशका सेनाबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउँदै जान आवश्यक रहेको उल्लेख गरेका थिए । 

यसैबीच आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापा र बङ्गलादेशका सेना प्रमुख अहमदबीच पनि शिष्टाचार भेटवार्ता भएको छ । 

नेपाल भ्रमणमा रहेका सेनाप्रमुख अहमद र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ