अन्ततः ४२ वर्ष वर्गीय आन्दोलनमा होमिएका योद्धा प्रेमसिंहले लिए कम्युनिष्ट राजनीतिबाट संन्यास
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ माघ २८ मंगलबार
480
Shares
कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा स्थायी बसोबास गर्दै आफ्नो जीवनका ४२ वर्ष वर्गीय मुक्तिका लागि लडेका बामपंथी नेता प्रेमसिंह साउँदले आफुले कम्युनिस्ट राजनीति त्यागेको सोमबार एक कार्यक्रमकाबीच घोषणा गरेका छन् ।
६१ वर्षिय वामपंथी नेता साउँदको दार्चुला को रिठा चौपाटा मा जन्म भएको थियो । युवा अवस्थादेखिनै वामपंथी राजनीतिमा साउँद होमिएका हुन् । उनले ०३४ सालमा १९ वर्षको उमेरमा भारतको कोलकत्तामा प्रवासमा रहेका बेला नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
सोमबार बेल्डाँडीमा रामलिला समितिको आयब्यय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा आफुले वामपंथी राजनीति त्यागेर धार्मिक र सामाजिक कार्यमा बाँकी जीवन लगाउने घोषणा गरेका हुन् ।
बेलडाँडी रामलिला समितिका उप संयोजक समेत रहेका साउँद ०५३ देखि ०६३ सम्म तत्कालिन नेकपा एमालेको बेल्डाँडी सचिव, ०६३ देखि ०६८ सम्म क्षेत्रीय उपाध्यक्ष, ०६८ देखि ०७३ सम्म क्षेत्रीय अध्यक्ष रहेर कम्युनिस्ट आन्दोलनमा आफुलाई समाहित गरेका थिए ।
कम्युनिष्टले वर्गीय कुरा गरेर धोका दिनेमात्र काम गरेको आफुले ४२ बर्षिय राजनीतिक जीवनमा सोझो र इमान्दार भएका कारण कम्युनिष्टहरुले धोकैधोका दिएको दुखेसो सार्वजनिक गरे ।
सोमबार एक कार्यक्रमकाबीच साउँदले अब कम्युनिष्टमा नरहेर नितान्त समाजसेवामा लाग्ने बताएका छन् । पार्टीमा भएको बेला पनि सामाजिक सेवामा बढी रुची राख्ने साउँदले राजनीति फोहरी खेल भएको बताउँदै राजनीतिनै नगर्ने बताएका छन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै साउँदले आफु निरन्तर समाज सेवामा लाग्ने बताए ।