arrow

पदबहालीपछि महानिरीक्षक ज्ञवालीद्वारा मन्दिरमा पूजाअर्चना

logo
प्रकाशित २०७६ माघ २९ बुधबार
thakur.JPG

काठमाडौं । प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका ठाकुर प्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  मंगलबार मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा ज्ञवालीलाई नियुक्ति गरेको थियो । नियुक्तिसँगै २७ औं महानिरीक्षक बनेका छन् ।

गृहमन्त्रालयमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरे । सुशोभन समारोहमा गृहसचिव न्यौपानेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना  गरे ।

कार्यक्रममा महानिरीक्षक ज्ञवालीले प्रतिबद्धतालाई कार्यान्वयन गर्दै प्रहरी संगठनलाई अझ उच्च मनोबलयुक्त र सक्षम संगठनको रुपमा विकास गर्न सम्पूर्ण लगन, मेहनत, तत्परता, ईमानदारिता, कार्यकुशलता र क्रियाशीलता वहन गर्ने अपेक्षा रहेको बताए ।

नेपाल प्रहरीका सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई अझ उत्प्रेरित गर्नुपर्ने, व्यावसायिक बनाउनुपर्ने, अपराध र विध्वसांत्मक गतिविधि नियन्त्रण गर्न अझ सक्रिय हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गृहसचिव न्यौपानेले मानवअधिकारको सम्मान लगायत न्यूनतम मानवोचित विषयबस्तुलाई समेत केन्द्रविन्दुमा राख्दै सबै सुरक्षा निकायहरुवीच सूचनाको आदान प्रदान, समन्वय एवम् सहकार्य सहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त  गरे ।

नेपाल प्रहरी नेपालको संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको संरक्षण गर्न दृढसंकल्पित रहेको उल्लेख गर्दै प्रहरी महनिरीक्षक ज्ञवालीले अवाञ्छित, ध्वंसात्मक र संविधान विपरितका गतिविधिलाई पूर्ण नियन्त्रण, निस्तेज गरी कानुनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहेको बताए ।

नेपाल प्रहरी जस्तोसुकै चुनौतिमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलकासाथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सबै दर्जा प्रतिबद्ध रहेको उल्लेख  गरे । नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यावसायिक र पारदर्शी तवरबाट सम्पादन हुने उल्लेख गर्दै गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही उत्कृष्ट संगठनको रुपमा नेपाल प्रहरीलाई स्थापित गराउन सक्रिय रहने दृढता उनले व्यक्त  गरे । नेपाल प्रहरीको सांगठनिक सुदृढिकरण र कर्मचारीको वृत्तिविकासमा थप जोड दिनु आजको आवश्यकता रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायहरुको मार्गनिर्देशन, सद्‍भाव र सहकार्य रहिरहने विश्वास उनले व्यक्त  गरे ।

कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

महानिरीक्षक ज्ञवालीले गृह मन्त्रालयमा बुधबार आयोजित समारोहमा दर्ज्यानी चिन्ह पाएसँगै बुधबारै आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् । ज्ञवालीलाई  प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए ।

स्वागत पश्चात प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नुका साथै अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण  गरे ।

विसं २०२२ असोज २८ गते प्युठानमा जन्म भई २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका महानिरीक्षक ज्ञवाली २०५८ बैशाख १८ गते प्रहरी नायव उपरीक्षक, २०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका  ज्ञवालीले विभिन्न ३३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन्। ज्ञवाली दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्रसंघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, प्रवल जनसेवाश्री पदक लगायतका विभूषणबाट विभूषित छन् । यसैगरी उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत दर्जनौ नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ