काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएको आतङ्कवादी हमलाको भत्सर्ना गर्नुभएको छ।
पूर्वप्रधानमन्त्री कोइरालाले फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डलाई आज शोक सन्देश पठाई शोकको यस घडीमा गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
आतङ्कवाद शान्ति, विधिको शासन र विकासका निम्ति चुनौती भएको उल्लेख गर्दै सभापति कोइरालाले नेपाली काँग्रेस कुनै पनि खालका आतङ्ककारी क्रियाकलापहरुको घोर भत्सर्ना गर्दछ भन्नुभएको छ।
यसैबीच नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पनि गएराति फ्रान्समा भएको आतङ्कवादी हमलाको भत्सर्ना गर्नुभएको छ। नेपाली काँग्रेसको विदेश विभाग प्रमुखसमेत रहनुभएकी कोइरालाले शुक्रबार मध्यरातमा फ्रान्सको राजधानी पेरिसमा भएको घटनाको शनिवार विज्ञप्ति जारी गरी निन्दा गर्नुभएको हो।
उहाँले शुक्रबार राति दर्जनौँ विस्फोट भएको घटनाबारे दुःख व्यक्त गर्नुभएको हो। जर्मनी र फ्रान्सबीच मैत्रीपूर्ण फुटबल भइरहेको राष्ट्रिय रङ्गशाला बाहिर विस्फोट गर्ने जस्ता आतङ्कवादी गतिविधि विश्वकै लागि चुनौतीपूर्ण रहको उल्लेख गर्नुभयो । रासस