arrow

उपाध्यायको क्यान्सर अस्पतालमा निधन, देउवा दु:खी

logo
प्रकाशित २०७६ फागुन २ शुक्रबार
durga-updhaya.jpg

काठमाडौं । राष्ट्रिय सभाका  सांसद एवं नेपाली कांग्रेस रुपन्देहीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको शुक्रबार निधन भएको छ । लामो समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित उपाध्यायको शुक्रबार बिहान चीतवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले भने 'राष्ट्रिय सभाका वर्तमान सांसद एवं नेपाली कांग्रेस रुपन्देहीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनको खबरले म अत्यन्त दुःखीत र स्तब्ध भएको छु । स्वर्गीय उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पुर्‍याउनु भएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । पार्टी र मेरो व्यक्तिगत तर्फबाट उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।'

पिता जंगीप्रसाद उपाध्याय र माता सोनमति उपाध्यायको सुपुत्रका रुपमा वि.सं. २०२६ सालमा जन्मिका उपाध्याय वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका थिए ।

 वि.सं. २०५४ को स्थानीय निर्वाचनमा रुपन्देही जिल्लाको साविक मधुवनी गा.वि.स.मा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । वि.सं. २०६७ को बाह्रौं महाधिवेशन र २०७२ को तेह्रौं महाधिवेशनमा उनी दुई कार्यकाल क्षेत्रीय सभापति समेत थिए ।

वि.सं. २०७४ मा उनी नेपाली कांग्रेसको तर्फबाट प्रदेश नं. ५ बाट राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएका थिए । हाल उनी लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य तथा विभिन्न समाजिक संघ संस्थामा संलग्न थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ