रुसी र युक्रेनी राष्ट्रपतिबीच कैदी फिर्ताबारे छलफल
एएफपी,
प्रकाशित २०७६ फागुन ३ शनिबार
697
Shares
किभ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोडिमिरबीच टेलिफोन कुराकानी भएको छ। उनीहरूबीच कैदी साटासाट गर्ने बारेमा कुराकानी भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
केही महिना अगाडि उनीहरूबीच भएको सहमतिअनुसार दुवै देशले एक अर्काले बन्धक बनाएकाहरूलाई क्रमिक रूपमा रिहा गर्ने बारेमा अहिले छलफल भएको हो। फ्रान्सको राजधानी पेरिसमा भएको वार्तामा दुवै देशका राष्ट्रपतिले युद्धविराम गर्ने सहमति गरेका थिए।फ्रान्स र जर्मनीका नेताको मध्यस्थतामा रुस र युक्रेनका बीचमा भएको युद्ध अन्त्य गर्ने प्रयास भइरहेको छ।
युक्रेनको पूर्वी क्षेत्रमा युक्रेनका सुरक्षाकर्मी र रुसको साथ पाएको बिद्रोही समूहबीच पाँच वर्षदेखि भएको युद्धका कारण १३ हजार मानिसको मृत्यु भइसकेको छ। दुई नेताबीचको अहिलेको कुराकानीमा अर्को बैठक तत्काल गर्ने बारेमा पनि छलफल भएको अधिकारीहरूले जानकारी दिएका छन्।
अघिल्लो बैठकमा भएका सहमति कार्यान्वयतर्फ लैजाने प्रतिबद्धता जनाउँदै उनीहरूले कुराकानी टुङ्ग्याएका थिए। उनीहरूबीचको टेलिफोन कुराकानीका बारेमा रुसी राष्ट्रपतिको कार्यालयले भने कुनै जानकारी दिएको छैन।