खोकी लाग्दैमा र नाकबाट पानी बग्दैमा कोरोना भनेर नआत्तिम
यमुना भण्डारी,
प्रकाशित २०७६ फागुन ३ शनिबार
1.2k
Shares
काठमाडौं। ‘खोक्दैमा, नाकबाट पानी बग्दैमा र हाच्छ्युँ गर्दैमा कोरोना भनेर नआत्तिम’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन यस्तो सुझाव दिन्छन् आम नागरिकलाई। यद्यपि, उनले चीनसँग सीमा जोडिएको हुनलाले सचेत रहनुपर्नेमा भने विशेष जोड दिए । हाम्राकुरासँग उनले भने, ‘मैले स्वास्थ्यकर्मी होस् वा आम नागरिक सबैलाई यही भन्ने गरेको छुँ ।’
चीनबाट यसअघि फर्किएका एउटा युवकलाई नोवेल कोरोना भाइरस पुष्टि भएको थियो । उनको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भयो, डा. पुनले भने, ‘जम्मा तीन दिन बसेहोलान् ती व्यक्ति । राम्ररी उपचार भएर घर फर्किए । एउटा फ्लू जस्तै त हो नि, आत्तिनु पर्ने कुरै छैन ।’ फरक यत्ति हो, लक्षण देखिनेवित्तिकै डाक्टर कहाँ जानै पर्छ । डा. पुनले अगाडि थपे, ‘ढिला भए कडा हुँदै जाने र जोखिम बढ्दै जाने सम्भावना रहन्छ ।’
चीनमा अध्ययन गर्न गएका विद्यार्थीलाई नेपाल फर्काउने प्रक्रिया सुरु हुनासाथ अनेकथरी कुराहरु चले । नेपालमा पहिलोपटक मान्छेलाई राख्न छुट्टै क्वारेन्टाइन नै बनाइएपछि मान्छेहरु झन सशंकित भएका छन् । भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनलाई लिएर नेपाल मजदुर किसान पार्टी लगायतले विरोध नै गरे ।
तर, यो विषयमा पनि आत्तिनु पर्ने र डराउनु पर्ने कुरै नरहेको डा. पुनले बताए । उनले उदाहरण दिँदै भने, ‘चीनमा आफ्ना नागरिक भएका सबै मुलुकले फर्काए । खै त ? ती मुलुकमा कोरोना फैलिएको सुनिएको छैन । सबै मुलुकले आफ्ना नागरिक फर्काउँदा हामी चुप लागेर बस्ने कुरा पनि भएन । अहिले उनीहरुलाई फर्काउन भएको ढिलाईलाई पनि मान्छेले शंकाका दृष्टिले हेरिरहेका छन् । तर, यो समय पूर्ण तयारी गर्नका लागि र क्वारेन्टाइन व्यवस्थित बनाउनका लागि खर्च भएको रुपमा लिनु पर्दछ।’ डा. पुनले सरकारी तहमा राम्रै तयारी भएको विश्वास समेत लिए । कोही पनि आत्तिनुपर्ने र डराउनु पर्ने कुनै वैज्ञानिक र तथ्यगत आधार आफुले नदेखेको उनले बताए।
कसरी सर्छ ?
डा. पुनले तथ्य नै प्रस्तुत गरेर भने, ‘प्रत्यक्ष सम्पर्कबाट मात्रै सर्छ । हावाका माध्यमबाट र कसैले हेर्न जाँदैमा वा संक्रमितलाई राखिए छेउको बाटो हिँड्दा नै सर्ने भन्ने देखिएको छैन ।’ यसमा डराउनु पर्ने कारण नै छैन । पछिल्लो समय गाउँमा पनि कोरोना पो को कि भनेर शंका गर्ने अवस्था आयो तर त्यसरी गाउँगाउँमै फैलिनलाई चीनको वुहानकै जस्तो कण्डिसन हुनु पर्ने होला, उनले जिज्ञासा सहितको तर्क गरे ।
मास्कमा डा. पुनको धारणा
काठमाडौं उपत्यकामा धूलोकै कारण पनि मान्छेहरु अक्सर मास्क लगाउँछन्। छिमेकी चीनमा कोरोनाको ‘महामारी’फैलिएपछि नेपालमा पनि मास्क विक्रि ह्वात्तै बढ्यो । एकै दिन २० कार्टुनसम्म मास्क विक्रि गरेको अनुभव सुनाउने व्यापारी पनि अहिले काठमाडौमै छन्। नाम उल्लेख नगर्न भन्दै ती व्यापारीले भने, ‘मैले एकै दिन २० कार्टुन मास्क बेचेंको थिए । त्यो चीन पठाउने एजेन्टहरुले किनेको हुनुपर्छ। अहिले पनि मास्क विक्रि घटेको छैन।’ चीनतिर मास्क विक्रि गर्नेहरु सक्रिय भएको भन्दै सरकारले भन्सारमा प्रतिबन्ध लगाउने निर्णयसम्म गर्नु परेको थियो । तर, पछि सरकार आफैले मास्क सहयोग गरेको छ।
अहिले अधिकांश मान्छे मास्क लगाएरै हिँड्छन्। १० रुपियाँ पर्ने मास्क एक पल्ट लगाएपछि धूलोले भोलिपल्ट लगाउन लाहेक रहँदैन। भोलिपल्ट अर्को किन्नु पर्ने हुन्छ। सस्तो खालको फाइबर मास्क एन–९५ जस्तो सुरक्षित समेत हुँदैन भनिन्छ। मास्कबारे डा. पुनको धारणा फरक छ। धूलोका कारण मास्क लगाउनै पर्ने अवस्था एउटा हो, उनले भने, ‘कोरोनाकै डरका कारण मास्क लगाएर हिँड्नु पर्छ भन्ने चाँहि होइन। मास्क लगाउनु राम्रै हो। कोरोनालाई नै लक्षित गर्दै मास्क लगाउनु पर्छ जस्तो लाग्दैन।’
दुबैतिरबाट सावधानी अपनाउनु पर्छ
सावधानीका सन्दर्भमा डा. पुनले सरकारी तह र व्यक्तिहरु आफै अलर्ट हुनु पर्ने हो तर, डराउनु पर्दैन, भने । डा. पुनले अगाडि थपे, ‘चीनको वुहानको जस्तो अवस्था भएको भए कता जाने ? के गर्ने कता दौड्ने भन्ने हुन्थ्यो । तर, त्यस्तो अवस्था होइन ।’
अभिभावकलाई सरकारको अपिल
स्वास्थ्य मन्त्रालयले चीनबाट फर्काइने नागरिकका अभिभावकलाई विमानस्थल र क्वारेन्टाइनमा गएर भेटघाट नगर्न आग्रह अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जारी गरेको अपिलमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमको कारणले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा समेत परिवारका सदस्यहरुलाई भेट्ने प्रबन्ध नगरिएकाले उक्त स्थानहरुमा भेटघाटको प्रयास नगरिदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ।’
मन्त्रालयलले प्रभावितहरुलाई फिर्ता ल्याउने कार्यका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको तथा अन्तर्राष्ट्रिय स्वास्थ्य नियम २००५ ले तोकेको प्रावधान अनुसार क्वारेन्टाइन व्यवस्थापनको काम पूरा गरेको जानकारी समेत दिएको छ।
यस्तै, रोकथामका लागि सम्पूर्ण सावधानीहरु अपनाइएकाले क्वारेन्टाइन वरपर बस्ने समुदायले भयभित हुनु पर्ने अवस्था नरहेको र आपसी सद्भाव र भाइचाराको भावना अनुरुप संयमित व्यवहार गरिदिन समेत मन्त्रालयले अपिल गरेको छ। क्वारेन्टाइनमा १४ दिन राख्ने प्रबन्ध गरिएको जानकारी दिँदै मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले अस्पतालहरु तयारी अवस्थामा राखिएको र क्वारेन्टाइनमा बस्दा पनि चिकित्सको निगरानीमा राखिने जानकारी दिए।