arrow

ब्रेन ट्युमरबाट कांग्रेस नेताको मृत्यु

सभापति देउवाद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७६ फागुन ४ आइतबार
gayanman.jpg

काठमाडौं ।  लामो समयदेखि ब्रेन ट्युमर रोगबाट पीडित ज्ञानेन्द्रमान सिंह राउतको निधन भएको छ ।  नेपाली कांग्रेस उदपुरका पूर्व महासमिति सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका पूर्व सचिव एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रहेका राउतको शनिवार भक्तपुरको बालकोटमा निधन भएको हो ।

राउतको काठमाडौँको मेडिसिटी र भारतमा उपचार हुदै आएका थियो । उदयपुर जिल्ला साविक कटारी गा.वि.स. वडा नं. ४ निवासी राउत वि.सं. २०१३ सालमा जन्मिएका थिए ।

राउतको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुरले दुःख व्यक्त गरेका छन्  । आइतबार सभापति देउवाले शोक विज्ञप्ति वारी गर्दै  दुःख व्यक्त गरेका हुन्  । शोक विज्ञप्तिमा भनिएको छ “नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य, नेपाली कांग्रेस केन्द्रीय कार्यालयका पूर्व सचिव एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्रमान सिंह राउतको निधनको खबरले म अत्यन्त दुःखीत भएको छु । स्वर्गीय राउतले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”

वि.सं. २०२९ सालमा नेपाल विद्यार्थी संघमा प्रवेश गरेर राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका स्वर्गीय राउतले २०३३ सालमा शान्ति सुरक्षा ऐन अन्तर्गत जलेश्वर कारागारमा करीब ९ महिना वन्दी जीवन व्यतित गरेका थिए ।

 २०३४ मा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य, दुई कार्यकालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरको सचिव, २०४६ सालको ऐतिहासिक आन्दोलनमा पटक–पटक हिरासत, २०५० देखि २०५१ सम्म सुकुम्बासी समस्या समाधान आयोग उदयपुरको सदस्य, २०५३ देखि २०५९ सम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सचिव,  २०५७ मा नेपाली कांग्रेसको महासमिति सदस्य थिए ।

राजनीतिक शास्त्रमा एमए गरेका राउत २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उदयपुरको कटारी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार थिए ।

 स्वर्गीय राउतले नेपालको प्रजातान्त्रिक-लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको श्रीमती र तीन छोरी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ