arrow

कांग्रेस संसदीय दलको कार्यलयमा श्रद्धाञ्जली सभा

उपाध्यायको निधन कांग्रेसलाई मात्र नभई राष्ट्रलाई समेत क्षति : सभापति देउवा

logo
प्रकाशित २०७६ फागुन ५ सोमबार
ss_2076.11_.5_a_.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेस नेता स्व. दुर्गा प्रसाद उपाध्यायले कांग्रेसलाई मात्र नभई राष्ट्रलाई समेत क्षति पुगेको बताएका छन् ।

उपाध्यायको निधन प्रति नेपाली कांग्रेस संसदीय दलले सोमबार दलको कार्यालय सिंहदरबारमा श्रद्धाञ्जली सभा कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।

मन्तव्य राख्ने क्रममा सभापति देउवाले स्व. दुर्गा प्रसाद उपाध्याय विकास प्रेमी, जुजारु एवं लोकप्रिय नेता भएको र उनले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र पार्टीको संगठनमा सक्रिय योगदान पुर्‍याएको स्मरण गरे। उनको असामयिक निधनले नेपाली कांग्रेसलाई मात्र नभई राष्ट्रलाई समेत अपुरणीय क्षति पुगेको बताए ।  
श्रद्धाञ्जली सभामा कांग्रेस सभापति एवं संसदीय दलका नेता  शेरबहादुर देउवा, महामन्त्री  डा. शशांक कोइराला, कोषाध्यक्ष  सीतादेवी यादव, राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता  सुरेन्द्र राज पाण्डे, संसदीय दलका प्रमुख सचेतक  बालकृष्ण खाण, सचेतक  पुष्पा भुषाल गौतम साथै प्रतिनिधि सभा, लेखा समितिका सभापति  भरत कुमार शाहले शोक मन्तव्य राखेका थिए ।

शोक प्रस्ताव
राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका नेता माननीय दुर्गा प्रसाद उपाध्यायको गत फागुन २ गते भएको असामयिक निधनले हामीलाई स्तब्ध तुल्याएको छ ।  वि.स. २०२६ सालमा साविक मधुबनी ७, रुपन्देहीमा जन्मनु भएका स्व. उपाध्याय वि.स. २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नं. ५ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनु भएको थियो ।

वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि नेपाली कांग्रेस पार्टीमा सक्रिय रहँदै आउनु भएका स्व. उपाध्याय सरल एवं भद्र व्यतिmत्वको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँले नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनहरुमा सदैव अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

स्व. उपाध्याय वि.सं. २०५४ को स्थानीय निर्वाचनमा रुपन्देही जिल्लाको साविक मधुवनी गा.वि.स को उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । नेपाली कांग्रेसको वि.सं. २०६७ को बाह्रौं महाधिवेशन र २०७२ को तेह्रौं महाधिवेशनमा उहाँ दुई कार्यकाल क्षेत्रीय सभापति समेत हुनुहुन्थ्यो । उहाँले संगठन विस्तार र सुदृढिकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

उहाँ राजनीतिमा मात्र नभएर सामाजिक कार्यहरुमा पनि सक्रिय रहँदै आउनु भएको थियो ।  उहाँ लुम्बिनी विकास कोषको कार्यकारणी सदस्यका साथै अन्य विभिन्न सामाजिक संघसंस्थामा समेत संलग्न हुनुहुन्थ्यो । उहाँको निधनले राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ ।

उहाँको निधनप्रति नेपाली काँग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ ।  दुःखको यस घडीमा उहाँको आत्माको चीरशान्तिको कामना एवं शोक सन्तप्त सम्पूर्ण परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दै नेपाली कांग्रेस संसदीय दल यो शोक प्रस्ताव परित गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ