arrow

महरा निस्किएपछि गृहजिल्लामा खुशीयाली

तुलसीपुरचोकमा दीप प्रज्वलन

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
krishna-bahadur-mahara-new.jpeg

घोराही ।  बलात्कारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौंले सफाइ दिएपछि उनको निर्वाचन क्षेत्र दाङका मतदाताहरुले खुशीयाली मनाएका छन् ।

सोमबारै न्यायाधीश अम्बरराज पौडेलको इजलासले प्रमाणका आधारमा पूर्वसभामुख महरालाई सफाइ दिने फैसला गरेको थियो । “घटनाको अनुसन्धानका क्रममा भएको बयान र अदालतमा गरिएको बयान तथा पीडितले गरेको वकपत्र अध्ययन गर्दा एवं घटना भएको दिन आफ्नो कोठामा प्रतिवादी आउँदै नआएको पीडितको स्पष्ट बयान सफाइ पाउने आधार हो”, अदालतमा श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, “जाहेरवाला पीडितले कुटपिट गरेकोलगायतको अभियोग दाबीबमोजिमको प्रयास नगरेको पीडितको वकपत्र र बयानमा स्पष्ट छ ।”
 
संसद् सचिवालयको एक महिला कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको आइतबार अन्तिम बहस शुरु भएको थियो ।

दाङ क्षेत्र नं २ बाट निर्वाचित सभासद् महराले सफाइ पाउँदा समग्र दाङ र राप्तीबासीलाई फाइदा पुगेको महराका मतदाता एवम् नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रतिकृया दिए ।

‘दाङको समग्र विकासका लागि कुन दल वा नेतामा विभाजित हुनुहुँदैन उहाँ विकास प्रेमी नेता हो, उहाँ निर्दोश भएको अदालतले प्रमाण दिइसकेको छ,’ प्रियासनले भने, ‘दाङको विकासका लागि सबै दलहरु एक हुनुपर्छ ।’

अर्का मतदाता वामदेव रिजाल ‘देवदास’ ले महरालाई दुःख दिएर राजनीतिक अभिष्ट पूरा गर्न चाहने देशी विदेशी प्रतिकृयावादी तत्वहरुले षडयन्त्र रचेको बताए । महराले यस क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुपर्ने रिजालको भनाई छ ।

महरा दाङको मात्र नभएर समग्र मुलुककै विकासमा योगदान दिने व्यक्तित्व भएको पत्रकार केशरमान विसीले बताए। उनले महरालाई फसाउनेहरुको क्रमशः भण्डाफोर गरिदै जाने प्रतिकृया दिए ।

यसैबीच महरालाई अदालतले दिएको खुशीयालीमा मतदाताहरुले आज बेलुकी ५ बजे घोराहीको तुलसीपुरचोकमा स्वस्फ्रूतरुपमा दीप प्रज्वलन गर्ने भएका छन् ।

दीपेश पोख्रेलको संयोजनमा दीप प्रज्वलन कार्यक्रम हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ