arrow

मदन भण्डारीको ‘शालिक’ तथा ‘मदन स्मृति पार्क’ निर्माण

logo
रासस,
प्रकाशित २०७६ फागुन ६ मंगलबार
madan-bhandari.jpg

धुलिखेल । धुलिखेल नगरपालिका–११ काभ्रेभञ्ज्याङमा जननेता मदन भण्डारीको ‘शालिक’ तथा ‘मदन स्मृति पार्क’ निर्माण गरिएको छ ।

वाग्मती प्रदेश सरकार र धुलिखेल नगरपालिकाको रु २५ लाखको संयुक्त लगानीमा जननेता मदन भण्डारीको शालिक तथा मदन स्मृति पार्क निर्माण गरिएको हो ।

वाग्मती प्रदेशको रु १५ लाख र नगरपालिकाको रु १० लाख गरी कूल रु २५ लाखको लगानीमा शालिक तथा पार्क निर्माण गरिएको धुलिखेल नगरपालिका–११ का वडाध्यक्ष विष्णु धितालले बताए । करिब पाँँच रोपनी क्षेत्रफलमा निर्माण भएको सो पार्कलाई थप व्यवस्थित पार्ने कार्यलाई अगाडि बढाइसकेको उनले बताए ।

बिपी राजमार्ग र ऐतिहासिक एवं धार्मिकस्थल नमोबुद्ध जाने काभ्रेभञ्ज्याङ चोक सबैका लागि उपयुक्त हुने भएकाले नगरपालिकाको योजना अनुरुप प्रदेश सरकारको रु १५ लाख बजेट व्यवस्थापन गरी शालिक तथा पार्क निर्माणको कार्यलाई सहयोग गरेको वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामाले बताए ।

धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन र मनोरञ्जन प्रदान गर्नका लागि नगरपालिकाभित्र २६ वटा पार्क निर्माण गरिसकेको बताए । धुलिखेलको देवीस्थान डाँडामा रु पाँच करोडको लागतमा पार्क निर्माण भइरहेको उल्लेख गर्दै उनले प्रत्येक महिना एउटा पार्क उद्घाटन गरेर ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ भरिमा नयाँ १२ वटा पार्क निर्माण गर्ने योजनामा रहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ