शङ्कर भण्डारी भन्छन् – काँग्रेस अग्रपङ्क्तिमा रहेकै कारण सबै परिवर्तन सम्भव
प्रकाशित २०७६ फागुन ८ बिहिबार
903
Shares
दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले हरेक परिवर्तनको आन्दोलनको अग्र नेतृत्व नेपाली काँग्रेसले गरेको दाबी गरेका छन् ।
तनहुँको ऋषिङ गाउँपालिका–८ को नवनिर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले काँग्रेस अग्रपङ्क्तिमा रहेकै कारण सबै परिवर्तन सम्भव भएको हो भने ।
केन्द्रीय सदस्य भण्डारीले भने,“ १०४ वर्षे राणाशासनको अन्त्य, २०४६ सालको आन्दोलन, ६२–६३ को जनआन्दोलन, तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र नयाँ संविधान जारी गर्ने कामको नेतृत्व काँग्रेसले गरेको हो ।”
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, संविधानसभा सदस्य झुलबहादुर आले, जिल्ला समन्वय समितिका सदस्य निलबहादुर थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेललगायतले जनताको भावना बुझेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए ।
रु ४० लाखको लागतमा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष भविसरा आलेले जानकारी दिए । आफ्नै वडा कार्यालय भवन भएपछि जनतालाई सेवा प्रवाह गर्न सहज हुने उनले बताए ।