arrow

बालुवाटारको जग्गा फिर्ता गर्नेलाई कारवाही नभएजस्तो यस प्रकरण नहोस् :कांग्रेस सचेतक

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
puspa_bhusal.JPG

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बालुवाटारको जग्गा फिर्ता गर्नेलाई कारवाही नभएजस्तो यस प्रकरण नहोस् भनि सरकारलाई सचेत गराएकी छन् । प्रतिनिधिसभाको बैठकमा सांसद भुसालले सेक्युरिटी प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै सोबारेमा प्रधानमन्त्रीले सदनमा आएर सत्यतथ्य जानकारी गराउनुपर्ने माग गरिन्।

उनले भनिन्, “स्वीस कम्पनीको एजेण्ट विजय मिश्र र सञ्चारमन्त्रीबीचको संवाद आजको सञ्चारमाध्यमममा सार्वजनिक भएको छ । सञ्चारमन्त्रीले रु ७० करोड कमिसन माग गरेको घटनाले मुलुकको राजनीति तरङ्गीत भएको छ, यसमा प्रतिपक्षी दलको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्रीज्यूले यसअघि संसद्मा भ्रष्टाचार गर्ने जोसुकैलाई कारवाही गर्छु भन्नुभएको थियो । अब प्रधानमन्त्रीले संसद्मा आएर जनतालाई आश्वस्त हुने गरी यसबारेमा जानकारी गराउनुपर्छ ।”

सञ्चारमन्त्रीको बर्खास्तीले मात्र कांग्रेस चुप लागेर नबस्ने बताउँदै सांसद भुसालले बालुवाटार जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेलाई कारवाही नभएजस्तो यस प्रकरण नहोस् भन्ने चेतावनीसमेत दिइन् । भुसालले सो प्रकरणबारे निष्पक्ष छानविन गरी कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै आफ्ना माग पूरा नभएसम्म बैठक अगाडि बढाउनका लागि सहयोग गर्न नसकिने बताइन् ।

सभामुखले मन्त्री बाँस्कोटाको राजिनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको र बैठक सञ्चालन गर्नका लागि सहयोग गर्न पटकपटक आग्रह गरे पनि कांग्रेसका सांसदहरु उभिरहेपछि बैठक स्थगित गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १३ गते दिउँसो १ बजे बस्नेछ ।

 



नयाँ