arrow

सेक्युरिटी खरिद प्रकरणमा गोकुल बाँस्कोटामात्र नभई ओली नै संलग्न भएको आशंका – रामचन्द्र पौडेल 

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
ramchandra-poudel-final.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद घुस प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा मात्रै संलग्न नभएको भन्दै यसको लहरो टाढैसम्म गएको बताएका छन्। 

सोमबार पार्टीको १४ औं महाधिवेशनका लागि चुनावी रणनीति बनाउन अनामनगरमा खोलेको सम्पर्क कार्यालयमा पत्रकारहरुसँगको भेटघाटमा पौडेलले ७० करोड रुपैयाँ घुस प्रकरणमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नै संलग्न भएको हुन सक्ने आशंका व्यक्त गरे । 

उनले भने, ‘अहिले जुन कमिसन प्रकरण बाहिर आएको छ त्यसमा एउटा व्यक्तिमात्रै संलग्न छैन । ‘त्यति ठूलो रकमको बार्गेनिङमा माथिल्लो नेतृत्व संलग्न छ।’

उनले सरकार र नेकपा नै संस्थागत भ्रष्टाचारलाई प्रश्रय दिन लागिपरेको बताए । रामचन्द्र पौडेलले सरकार एकपछि अर्को विवादित काण्डमा जाकिँदै गएको र संस्थागत भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाए । 

पौडेलले नेपाल ट्रष्टको सम्पत्ति यती समूहलाई दिएर ओली सरकारले कमिसन असुल्ने काम गरिरहेको भन्दै संस्थागत भ्रष्टाचार गरेर पैसा जम्मा गर्ने र सत्ता बलियो बनाउने काम भइरहेको टिप्पणी गरे । 

पौडेलले राष्ट्रपतिलाई सक्रिय बनाउन खोजिएको आरोप लगाउँदै नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्न कार्यदल बनाएर नेकपाले जनताको मतको अपमान गरेकोसमेत आरोप लगाए । 

पौडेलले बहुमत छ भन्दैमा सरकारले मनपरि गर्न नपाउने भन्दै अब जनता नै जाग्नुपर्ने बेला आएको बताए । ओली सरकारकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा पर्न लागेको भन्दै पौडेलले जनमतको दुरुपयोग गर्दै सर्वसत्तावादको अभ्यासको थालनी हुन लागेको संकेत देखिँदै गाएको बताए । 

नेकपाले विस्तारै राष्ट्रपतिलाई कार्यकारी बनाउने योजनामा कसरत गरिरहेको आरोप लगाउँदै पौडेलले यसलाई रोक्नुपर्ने भन्दै आग्रहसमेत गरेका छन् । उनले कम्युनिष्टको एकमात्र मन्त्र सर्वसत्तावादबाट नियन्त्रित व्यवस्था लागू गर्ने खेल भइरहेको आशंका पनि व्यक्त गरेका छन् । 

पौडेलले कांग्रेसलाई एक ढिक्का भएर सरकारका गलत कामको प्रतिरोध गर्न पनि आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ