arrow

ललिता प्रकरणमा माधवकुमारबिरुद्ध स्टाटस लेखेको भन्दै प्रभू साहलाई कार्वाहीको तयारी

अख्तियारको निश्पक्षता बारे प्रश्न उठाउने नेकपा नेतालाई स्पष्टिकरण

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
prabhu-shah.jpg.jpeg

राजविराज । अख्तियारको निश्पक्षता बारे प्रश्न उठाउदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना प्रदेश २ का अध्यक्ष प्रभू साहलाई कार्वाही गर्ने तयारी गरेको छ । यसअघि प्रदेशको अध्यक्ष पदबाट राजिनामा दिएका साहको राजीनामा स्वीकृत नगरेको पार्टीले अहिले आएर उनलाई कार्वाही गर्ने तयारी गरेको छ ।

अध्यक्ष साहले ललिता निवास जग्गा प्रकरणमा आफ्नै पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबिरुद्व फेसबुकमा स्टाटस लेखेको भन्दै पार्टीले उनलाई कार्वाही गर्ने तयारी गरेको हो । पहिलो चरणमा साहसँग नेकपाको सचिवालयले स्पष्टिकरण मागेको छ । गत फागुन १० गतेको नेकपा सचिवालयको बैठकले साहसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । उनलाई स्पष्टिकरण सोध्ने निर्णय गर्नेमा सचिवालयका सबै नेता एकमत देखिएका छन् ।

साह तत्कालिन नेकपा माओवादी केन्द्रका नेता हुन् । पार्टी एकीकरणपछि स्पष्टिकरण दिनुपर्नेमा पहिलो नेता नै उनी बनेका छन् । उनी तत्कालिन माओवादीका र अहिलेका नेकपाका समेत अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वास पात्र थिए । तर उनलाई स्पष्टिकरण सोध्ने निर्णयमा प्रचण्डले पनि सहमति जनाएको नेकपा स्रोतले जनाएको छ ।

पछिल्लो पटक पार्टीमा आफ्नो प्रभुत्व जमाउन प्रचण्ड माधव कुमार नेपालतिर नजिकिएका छन् । तर साहले नेता नेपालकै बिरोध गरेर फेसबुकमा स्टाटस लेखेपछि प्रचण्ड उनलाई कार्वाही गर्ने तयारी  देखिएका छन् । सचिवालय बैठकले नेता साहलाई पठाएको पत्रमा ‘तपाईले पार्टीका वरिष्ठ नेता कमरेड माधव नेपालका विरुद्धमा सामाजिक सञ्जालमार्फत अनुचित र आधारहीन आरोप लगाउनुको कारण के हो ?, तपाईंलाई पार्टीले किन कारबाही नगर्ने ?” उल्लेख गरिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धानले कांग्रेसका नेता विजय कुमार गच्छदारसहितकाबिरुद्व मुद्दा चलाएपछि नेकपा प्रदेशका अध्यक्ष साहले यो प्रकरणमा त्यस बेलाका प्रधानमन्त्री समेत रहेका नेता नेपाल र बाबुराम भट्टराईबिरुद्व समेत मुद्दा चलाइनुपर्ने आशय प्रकट गर्दै गत माघ २६ गते फेसबुकमा स्टाटस लेखेका थिए ।

‘ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद छ’ अध्यक्ष साहले सामाजिक संजाल फेसबुकमा लेखेका थिए, “प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो ?”

अध्यक्ष साहले अख्तियारले हिजोको सामन्ती व्यवस्थामा राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधानलाई गणतन्त्रमा पनि पुनरावृत्ति गरिनुलाई लज्जास्पद भन्दै प्रधानमन्त्रीलाई नै सबै अधिकार रहेको सन्दर्भमा प्रधानमन्त्रीलाई निर्दाेष भन्नु ठीक नभएको बताएका थिए ।

ललिता निवास जग्गा प्रकरणमा कार्यकारी सर्वाधिकार प्रधानमन्त्रीमा निहित रहेको प्रधानमन्त्रीय शासन प्रणालीमा सही वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्रीमा हुने कुरा स्पष्ट रहेको उनले बताउँदै लेखेका थिए, “यदी संविधान र कानुन यसको बाधक हो भने यस्तो व्यवस्था हामीलाई चाहिँदैन । ‘सानालाई ऐन, ठुल्लालाई चयन’ कम्युनिष्ट सरकारका लागि सुहाउने विषय किमार्थ हुन् सक्दैन् । यस विषयमा सम्बन्धित सबैको ध्यान जानु जरूरी छ ।”

स्पष्टिकरण सोधिएको बिषयमा अध्यक्ष साहसँग प्रतिकृया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।बर्तमान नेकपा नेतृत्वको सरकारका बेथिति बढ्दै जाँदा त्यसको बिरोध गर्नेलाई कार्वाहीको दायरामा ल्याउने नीति नेकपाले बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ