arrow

'प्रधानमन्त्रीको आठराईको भोज विदाई भोज, वामदेव किन पटक–पटक मर्न तयार ?'

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
Bamdev-Gautam-Kp-Oli.jpeg

काठमाडौं । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्रीय कार्यकाल करिब–करिब समाप्त भएको गम्भिर टिप्पणी गरेका छन्  । मंगलबार रिपोर्टर्स क्लबको कार्यक्रममा उनले भने,‘नेकपा बन्नुभन्दा पनि ओली र प्रचण्डबीच भएको ७ बुँदे सहमतिको ५ नम्बर बुँदामा नै आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । त्यसो भएका हुनाले ओलीजीले प्रधानमन्त्री चलाएको करिब करिब अढाई वर्ष पुग्न लाग्यो, अर्को कुरा उहाँको कार्यशैली र स्वास्थ्यको कुराले पनि उहाँको कार्यकाल अब समाप्त भयो भन्ने मेरो बुझाई हो ।’

केसीले प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीले गरेका पछिल्लो कामले पनि प्रधानमन्त्रीको शोभा नदिएको आरोप लगाए । उनले भने,‘उहाँले निर्जन पहाडमा गएर डेढ करोडको जन्मोत्सव मनाउनुभयो । सायद उहाँले अन्तिम भोजको आयोजना गर्नुभएको होला । अब उहाँले विश्राम लिँदा नै राम्रो हुन्छ । त्यसो गर्दा उहाँको लागि मात्रै होईन, सबैको लागि राम्रो हुन्छ ।’ उनले सँगै रहेका नेकपाका सांसद विडारीलाई देखाउँदै भने,‘विडारीजीलाई पनि राम्रै हुन्छ, अबको कानूनमन्त्री नै उहाँ हो । अरुका छोरा, बुहारी पनि मन्त्री बन्न पाउँछन् । उनीहरुले पनि मौका पाउँछन् (हाँस्दै)...।’

उनले केपी शर्मा ओलीपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल नै अबको प्रधानमन्त्री हुने ठोकुवा गरे । उनले भने,‘सायद अहिलेको समय भनेको उपयुक्त समय हो, प्रधानमन्त्रीले विश्राम लिने । उहाँको आठराईको भोज पनि विदाई भोज हो भन्ने मलाई लागेको छ ।’

उनले राष्ट्रिय सभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउनेगरि संविधान संशोधन गर्नको लागि नेकपाले कार्यदल गठन गरेको विषयमा टिप्पणी गर्दै त्यसमा आफ्नो आपत्ति जनाए । उनले भने,‘हुन त यहाँ अघि विडारीजीले दुई तिहाई बहुमतले हामी जे पनि गर्न सक्छौं, कम्युनिष्ट व्यवस्था पनि ल्याउन सक्छौं र राजसंस्थापनि ल्याउन सकिन्छ भन्नुभयो, त्यो उहाँहरुले गर्न सक्नुहुन्न । जुन जगमा यो संविधान बनेको छ, त्यसले न्यायिक सर्वोच्चता, विधिको शासन, आवधिक निर्वाचनको कुरा गरेको छ। उहाँहरुले भनेजस्तो गर्न सक्नुहुन्न । त्यो गर्न उहाँहरुसँग म्याण्डेट छैन् ।’

यदि त्यसो गर्ने हो भने जनतासामू ती एजेण्डा लैजानुपर्नेमा उनको जोड छ । केसीले राष्ट्रियसभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउने भनेर संविधान संशोधनको लागि नेकपाले गठन गरेको कार्यदल तुहिएको सुनाए । उनले भने,‘कार्यदलमा हुनुहुन्छ भनेर नाम आएको दुई जना सदस्य सुवास नेम्वाङ र खिमलाल देवकोटाले त हामी कार्यदलमा बस्दैनौं भनेर भनिसकेपछि, यो कार्यदलको औचित्य सकियो ।’

उनले यसअघिपनि वामदेव गौतमले संसद बन्नको लागि प्रयत्न गरेको सुनाउँदै वामदेव किन नजन्मँदै मर्नुहुन्छ ? भन्दै आश्चर्य प्रकट गरे । उनले थपे,‘उहाँ किन पटक–पटक मर्न तयार हुनुहुन्छ ? म आश्चर्यमा परेको छु ।’ उनले आवश्यक कुराको लागि संविधान संशोधन गर्न सकिने भएपनि कुनै अमुक व्यक्तिको लागि संविधान चलाउने कुरा असंभव भएको तर्क गरे ।

उनले भने,‘यो विषय तल भएकै छैन् । वामदेवको यत्रा तिघ्रा भएको व्यक्ति किन राष्ट्रियसभामा जानुपर्यो ? हचुवाको भरमा एउटा तिघ्रेलाई प्रधानमन्त्री बनाउने कुरा मान्न सकिँदैन् । यो संविधान संशोधनको लागि गठन भएको कार्यदल भनेको कागजी घोडा मात्रै हो । कार्यदल गठनबारे माईन्युट भएकै छैन् भनेर नेकपा सचिवालयका सदस्य तथा महासचिव विष्णु पौडेलले नै भनिसके ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ