arrow

नेकपा प्रवक्ताले नै सुझाए –गुटका आधारमा भविष्य देख्न थालियो भने त्यो भुल हुनेछ 

logo
प्रकाशित २०७६ फागुन १४ बुधबार
narayankaji-shrestha-maobadi.jpg

कास्की । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई गुटबन्दीबाट जोगाउँदै देश र जनताका पक्षमा सोचेर काम गर्नुपर्ने बताएका छन् । 

पार्टी गण्डकी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा मंगलबार पोखरामा उनले बहुमतको सरकार सञ्चालन गर्ने उद्देश्य मात्र पार्टी एकताको नरहेको स्पष्ट पार्दै शक्तिशाली कम्युनिष्ट पार्टीले देश र जनताका पक्षमा उल्लेख्य काम गर्न सक्नुपर्नेमा जोड दिए ।

उनले भने, “कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउँदै सामाजिक न्यायसहितको समृद्धिको वस्तुगत चाहनाले मात्र एकता सम्भव भएको हो । गुटबन्दीको संस्कारलाई अन्त्य गरी पार्टीलाई अघि बढाउनु आवश्यक छ । गुटका आधारमा भविष्य देख्न थालियो भने त्यो भुल हुनेछ ।”

पार्टीका हरेक सदस्यले एकताको मर्म र भावअनुसार कम्युनिष्ट संस्कार र आचरण अनुसरण गर्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले सरकारले केही कठिनाइका कारणले आशातित काम गर्न नसकेपनि अब जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्ने र सरकारलाई सफल बनाइ छाडिने दृढता व्यक्त गरे । पार्टीको पछिल्लो केन्द्रीय कमिटीको बैठकले तीन महिने कार्ययोजना बनाएको जानकारी दिँदै उनले पार्टी, सरकार र जनताको सम्बन्धलाई जीवन्त बनाइने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीका नेता कार्यकर्ता जनताको घरदैलोमा पुग्दै पार्टी र जनताको सम्बन्ध सदृढ गर्ने तथा सरकारका गतिविधको प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याए ।  बैठकमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन पेश गरेका थिए ।    

प्रस्तुत प्रतिवेदनका बारेमा विभिन्न १२ वटा समूह निर्माण गरी छलफल शुरु भएको प्रदेश कमिटी सदस्य रामजीप्रसाद बरालले जानकारी दिए । बैठकमा  प्रदेशका ११ वटै जिल्लाका अध्यक्षले सङ्गठनात्मक अवस्था तथा गतिविधि सहितको प्रस्तुती बैठकमा राखेका थिए । बैठक बुधबार पुनः बस्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ