arrow

डोलासँगै मिथिला परिक्रमा गरिरहेका साधुको मृत्यु

बर्षाका कारण भक्तजनहरुको बिजोग

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ फागुन १४ बुधबार
dola-sadhu.JPG

जनकपुर ।  मिथिलाको महाकुम्भसमेत भनिने मध्यमा परिक्रमाका क्रममा एक जना तिर्थालुको निधन भएको छ। मिथिला बिहारी नगरपालिका कचुरीका साधु निर्धन यादवको  भारतको कल्याणेश्वरमा निधन भएको हो ।

१५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी उनी मिथिला बिहारी डोलासँगै परिक्रमा गरिरहेका थिए । डोलाका सदस्यसमेत रहेका निर्धनको मृत्युको कारण भने खुल्न सकेको छैन। प्रत्यक्षदर्शीहरुका अनुसार  मंगलबार बिहान आगो सल्काएर बसेका उनी केही बेरमै अचानक ढलेका थिए। निर्धनको शव कल्याणेश्वरबाट दाहसंस्कारका लागि परिवारका सदस्यहरुले धनुषाको कचुरी लगेका छन्।

यता मौसम परिवर्तन भई मंगलबार अचानक भएको वर्षाले १५ दिने मिथिला मध्यमा परिक्रमाका सहभागी भक्तजनहरुलाई बिजोग भएको छ। बासको उचित व्यवस्थापन नभएपछि वर्षाका कारण उनीहरु समस्यामा परेका  हुन् ।

आइतबार जनकपुरबाट सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रमा भारत बिहारको गिरिजा स्थान पुगेको छ। मंगलबार त्यहाँ विश्राम गरेपछि परिक्रमा बुधबार महोत्तरीको मटिहानी पुगेका छन ।

मिथिलाको महाकुम्भसमेत भनिने मध्यमा परिक्रमामा लाखौंको संख्यामा तिर्थालु सहभागी छन्। अचानक वर्षा भएपछि बासस्थानको उचित व्यवस्था नहुँदा परिक्रमाका सहभागीहरु पानीमा रुझ्न बाध्य भएका छन्। वर्षासँगै चिसो हावा चलेपछि उनीहरु ओत खोज्दै हिंडेका हुन् ।

कतिपय तिर्थालु आफूसँगै लगेको पाल टाँगेर बसेका छन् भने पाल नभएकाहरु रुखमूनी छेउ लागेर बसेका छन्। मिथिला मध्यमा परिक्रमाका तिर्थालुहरु नेपाल तथा भारतमा गरी कूल १३३ किलोमिटर पद यात्रा गर्नेछन्।

 नेपाल–भारतको सबै भन्दा लामो दूरीको धार्मिक यात्रा रहेपनि दुबैतर्फको सरकारले मिथिला परिक्रमालाई व्यवस्थित बनाउन खासै चासो नदेखाएको तिर्थालुहरुको गुनासो  गरेका छन ।

परिक्रमा नजिकिएसँगै हरेक बासस्थानमा धर्मशाला निर्माण गरिने नेताहरुले भनेपनि हालसम्म कहिँकतै निर्माण हुन नसकेको  तिर्थालुहरु गुनासो गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ