arrow

१६ दिनदेखि माथिल्लो प्रहरी अधिकृत छैनन्, ११ हजार बढी भर्ना खुल्दै

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
Nepal-police-e1462325536967.jpeg

काठमाडौं । नेपाल प्रहरीको उच्चदेखि तल्लो तहसम्म ठूलो सङ्ख्यामा दरबन्दी खाली हुन पुगेको  छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा मात्रै २२  खाली भएको छ ।  प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उच्च पदसहित प्रहरीमा १४ प्रतिशत दरबन्दी खाली रहेको जानकारी दिए । तल्लोदेखि उच्च पदसम्म दरबन्दी खाली हुँदा कतिपय निर्णय प्रक्रिया र अमनचयन गर्ने कार्यमा असर पुगेको बताइएको छ । मौजुदा प्रहरी कर्मचारी र अधिकृतले नै बाँकी जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता छ ।

उनले भने, “प्रहरी प्रधान कार्यालयले आवश्यक प्रशासनिक काम गरिरहेको छ, नियमित पुलिसिङलाई असर नपरे पनि कानूनले तोकेको र निर्णय लिनुपर्दा सम्बन्धित पद नै हुनुपर्ने भनी उल्लेख भएको ठाउँमा भने अलिकति अप्ठेरो भएको छ ।” त्यसैले अहिले प्रधान कार्यालयले पदपूर्तिका लागि आवश्यक प्रक्रिया शुरु गरेको उनले बताए ।

प्रहरीमा महत्वपूर्ण मानिने कार्य तथा अपराध अनुसन्धान विभाग, प्रशासन तथा मानव स्रोत विभाग र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआइजी प्रमुख हुने प्रावधान छ । महत्वपूर्ण विभागसहितका प्रदेश प्रहरी कार्यालयसमेत निमित्तको भरमा छ । माथिल्लो प्रहरी अधिकृतमा पद रिक्त भएको आज १६ दिन पुगेको छ । धेरैजसो विभागको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट भइरहेको छ ।
प्रहरीको अभिलेखअनुसार नेपाल प्रहरीमा कूल ६९ हजार ५२३ दरबन्दी छ । ती मध्ये ११ हजार २५१ पद खाली छ ।

हाल एआइजीमा तीन र डिआइजीमा १९ दरबन्दी खाली छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा जनपदतर्फ नौ र प्राविधिकतर्फ सात गरी १६, प्रहरी उपरीक्षक (एसपी) मा जनपदतर्फ छ र प्राविधिकतर्फ ११ गरी १७ तथा प्रहरी नायब उपरीक्षक (डिएसपी)मा जनपदतर्फ ३२ र प्राविधिकतर्फ २० गरी ५५ दरबन्दी खाली छ । दुवैतर्फ प्रहरी निरीक्षकमा २१९, प्रहरी नायब निरीक्षकमा ४१७, प्रहरी सहायक निरीक्षकमा एक हजार आठ, प्रहरी हवल्दारमा एक हजार २२२ र प्रहरी जवानमा सात हजार ७७२ दरबन्दी रिक्त छ ।

एआइजीमा कडा प्रतिस्पर्धा
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनका ब्याचका २२ उच्च प्रहरी अधिकृतले ३० वर्षे उमेरहदका कारण गत माघ २८ गते एकैसाथ अनिवार्य अवकाश पाएपछि माथिल्लो तहमा धेरै दरबन्दी खाली हुन पुगेको हो । उक्त समयमा तीन एआइजी र १८ डिआइजीको पद खाली भएको थियो ।

त्यसपछि डिआइजीबाट ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षकमा बढुवा भए । उनको सेवाअवधि आगामी असार २५ सम्म छ । उनको काँधमा एक त प्रहरी समायोजन र अर्को रिक्त पदपूर्ति गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी छ । अबको एआइजी हुने लाइनमा डिआइजीहरु तारिणी लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, नीरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल छन् । सबै एउटै ब्याचका भए पनि विश्वराज पोखरेल भने केही पछि प्रहरी सेवामा प्रवेश गरेका थिए । तर डिआइजी हुँदा उनीहरुको जम्मा पाँच महिनाको मात्रै फरक छ । उनको ब्याची अहिले प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० छन् । पोखरेल भने एक खुड्किलो उक्लिएर डिआइजीमा बढुवा भएका हुन्।

प्रहरी महानिरीक्षक ज्ञवालीका ब्याची लम्साल बढुवाको पहिलो नम्बरमा भए पनि पाँच महिनापछि सँगै अनिवार्य अवकाश लिँदै छन् । डिआइजी तारिणी लम्साल र सूर्य उपाध्याय वर्तमान आइजी ज्ञवालीसँगै अनिवार्य अवकाश पाउने भएकाले उनीहरुबाहेक जो पहिलो नम्बरमा एआइजी छन्, उहाँलाई पाँच महिनापछि २८औँ प्रहरी महानिरीक्षक बन्ने बाटो खुला हुन्छ । त्यसैले अहिलेको एआइजी पदलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

डिआइजीहरु थापा, शाही, कार्की, पाल र पोखरेल कडा प्रतिष्पर्धामा छन् । प्रहरी स्रोतका अनुसार उनीहरु आफ्नो पक्षमा पार्न प्रयासरत छन् ।

एआइजी बन्नका लागि कुन नम्बरमा डिआइजी भएको हो भनेर हेरिँदैन । प्रहरी नियमावलीअनुसार कार्यसम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता, बढुवा समितिको अङ्क, शैक्षिक योग्यता, तालिम, विभूषण, चुनौतीपूर्ण जिम्मेवारी, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र जेष्ठतालाई महत्वपूर्ण आधार लिइन्छ । प्रहरी नियमावली २०७१ मा एआइजी, डिआइजी र एसएसपीका लागि लागि गृहसचिवको अध्यक्षतामा सिफारिस समिति हुने उल्लेख छ ।

एआइजी सिफारिस समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव हुनेछन्  भने डिआइजी र एसएसपीको सिफारिस समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य–सचिव हुने प्रावधान छ । एआइजी मन्त्रिपरिषद्को र डिआइजी मन्त्रीस्तरीय निर्णयबाट बढुवा हुने प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ