arrow

तीन डीआईजी एआईजीमा सिफारिस

logo
नारायण ढुङ्गाना,
प्रकाशित २०७६ फागुन १५ बिहिबार
police-news-aa-a.jpeg

काठमाडौं। नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक (डीआइजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरिएको छ। गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिको आजको बैठकले उनीहरुलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भएका लम्सालले ६८ दशमलव ६६ प्रतिशत अङ्क प्राप्त गरेका छन्। हाल नेपाल प्रहरीका प्रवक्ता रहेका थापाले ६८ दशमलव ५५ र प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा दरबन्दी पालले ६७ दशमलव ५५ अङ्क प्राप्त गरेका छन्। लम्साल भने हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसँगै अवकास पाउने भएकाले अबको प्रहरी महानिरीक्षक (आईजीमा) थापा र पालमध्य एक जना हुछन्। उनीहरु २०४९ सालको एउटै ब्याची हुन्।

अङ्कका आधारमा थापा एकतहमाथि रहेकाले उनका लागि बाटो खुला भएको छ। एआईजीको लाइनमा डीआइजीहरु नीरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेल पनि थिए।

प्रहरी नियमावलीअनुसार कार्यसम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता, बढुवा समितिको अङ्क, शैक्षिक योग्यता, तालीम, विभूषण, चुनौतीपूर्ण जिम्मेवारी, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र ज्येष्ठतालाई महत्वपूर्ण आधार लिइन्छ। प्रहरी नियमावली २०७१ मा एआईजी, डीआइजी र एसएसपीका लागि लागि गृहसचिवको अध्यक्षतामा सिफारिस समिति हुने उल्लेख छ।

एआईजी सिफारिस समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव हुने तथा डीआईजी र एसएसपीको सिफारिस समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक सदस्य–सचिव हुने प्रावधान छ। एआईजी मन्त्रिपरिषद्को र डीआइजी मन्त्रिस्तरीय निर्णयबाट बढुवा हुनेछन्।

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनका ब्याचका २२ उच्च प्रहरी अधिकृतले ३० वर्षे उमेर हदका कारण गत माघ २८ गते एकैसाथ अनिवार्य अवकाश पाएपछि माथिल्लो तहमा धेरै दरबन्दी खाली हुन पुगेको हो। उक्त समयमा तीन एआईजी र १८ डीआइजीको पद खाली भएको थियो। त्यसपछि डीआइजीबाट ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएको हो । उहाँको सेवाअवधि आगामी असार २५ सम्म छ।

नेपाल प्रहरीमा उच्चदेखि तल्लो तहसम्म १४ प्रतिशत दरबन्दी खाली छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदमा मात्रै २२ खाली भएको छ । तल्लोदेखि उच्च पदसम्म दरबन्दी खाली हुँदा कतिपय निर्णय प्रक्रिया र अमनचयन गर्ने कार्यमा असर पुगेको बताइएको छ।

प्रहरीमा महत्वपूर्ण मानिने कार्य तथा अपराध अनुसन्धान विभाग, प्रशासन तथा मानव स्रोत विभाग र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजी प्रमुख हुने प्रावधान छ। अहिले महत्वपूर्ण विभागसहितका प्रदेश प्रहरी कार्यालयसमेत निमित्तको भरमा छ । माथिल्लो प्रहरी अधिकृतमा पद रिक्त भएको आज १६ दिनमा तीन एआईजी सिफारिस गरिएको हो।

प्रहरीको अभिलेखअनुसार नेपाल प्रहरीमा कूल ६९ हजार ५२३ दरबन्दी छ । तीमध्ये ११ हजार २५१ पद खाली छ । हाल एआईजीमा तीन र डिआईजीमा १९ दरबन्दी खाली छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा जनपदतर्फ नौ र प्राविधिकतर्फ सात गरी १६, प्रहरी उपरीक्षक (एसपी) मा जनपदतर्फ छ र प्राविधिकतर्फ ११ गरी १७ तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मा जनपदतर्फ ३२ र प्राविधिकतर्फ २० गरी ५५ दरबन्दी खाली छ । दुवैतर्फ प्रहरी निरीक्षकमा २१९, प्रहरी नायब निरीक्षकमा ४१७, प्रहरी सहायक निरीक्षकमा एक हजार आठ, प्रहरी हवल्दारमा एक हजार २२२ र प्रहरी जवानमा सात हजार ७७२ दरबन्दी रिक्त छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ