arrow

‘केक काटेर जन्मदिन मनाउने हाम्रो संस्कृति हैन, होइन कमरेड यो’ –अष्टलक्ष्मी शाक्य

‘त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो सोच यो । नेपाल भनेको आमा हो ।’

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
astalaxmi-shakya.JPG

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ एवं प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको जन्मोत्सवप्रति कटाक्ष गरेकी छिन् । 

उनले एक कार्यक्रममा संवोधनका क्रममा ओलीले केक काटेर जन्मोत्सव मनाएको प्रति कटाक्ष गर्दै केक काटेर जन्मदिन मनाउने आफूहरुको संस्कार नभएको समेत बताएकी छिन् । 

उनले केकको प्रसंग निकाल्दै भनिन्, ‘मलाई व्यक्ति मतलब छैन, हाम्रो संस्कार, शैली, सोचहरु कसरी विकसित भइरहेको छ गलत ढंगले, सामाजिक चिन्तनबाट मैले अलिकति उजागर गर्ने अनुमति चाहन्छु । मैले सचिवालय बैठकमा पनि भनें जन्मदिन मनाउनुस् ।’

उनले अगाडि छोरीहरुप्रति विभेद गरिएकोबारे पनि भनिन्, ‘हाम्रो सामन्ती व्यवस्थामा त छोरीहरुले जन्मदिन मनाउन पाउँदैन । छोरीहरुले जन्मदिन मनाउनु हुँदैन । त्यो छैन व्यवस्था । छ भने यदाकदा ।’

अझ स्पष्ट पार्दै उनले भनिन्, ‘तर पुरुषहरुको, छोराहरुको जन्मदिन मनाउने चलन छ । जन्मदिन मनाउनुस्  । हाम्रो यो बहुजाति भएको देशमा आफ्नै आफ्नै संस्कृति छ परम्परा छ । आफ्नै संस्कारहरु छन् । त्यो हामीले लोभ गर्नु हुँदैन । कसैले सगुन दिने चलन छ । कसैले टीका लगाउने चलन छ । कसैले बाहिरको मान्छे बोलाएर खुवाउने चलन होला ।’

केक काट्ने चलन भने नभएको भन्दै उनले बताइन्, ‘तर मलाई थाहा छैन । केक काटेर जन्मदिन मनाएको थाहा छैन । अन्यथा नठान्नु होला । केक काटेर जन्मदिन मनाउने यो हाम्रो संस्कृति हैन । होइन कमरेड यो ।’

ओलीले आफ्नो जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा गत आइतबार चार वटा हेलिकप्टरको प्रयोग गरी आठराईमा पुगेर नेपालको नक्सा इंकित गरिएको केक काटेर खाएका थिए । 

शाक्यले गहिरो झापड हान्दै भनेकी छिन्, ‘त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो सोच यो । नेपाल भनेको आमा हो । मैले यत्तिमात्र भन्न चाहें ।’

ओलीको केक र जन्मोत्सवमा भएका गतिविधिलाई लिएर चर्को आलोचना भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ