arrow

दुई वर्षमा उपत्यकाभित्रका ढुंगेधाराबाट पानी आउने

logo
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
dhunge-dhara.jpg

काठमाडौं । काठमाडौं उपत्यकाममा सुकेर रहेका ढुंगेधारा तथा पोखरीहरु लाई रिचार्ज सिस्टममा लगेर आम उपभोक्तालाई खानेपानी सेवा पुर्‍याउने खानेपानी मन्त्रालयको योजना रहेको छ ।

ढुंगेधारा र पोखरीहरुको संरक्षण गर्ने खानेपानी मन्त्रालयको योजनामा प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरको महालक्ष्मी नगरपालिकाबीच शुक्रबार समझदारी भएको छ ।
 
खानेपानी मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे । मध्यपुर थिमी र महालक्ष्मी नगरपालिकाभित्र रहेका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण र पुनर्निर्माण आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धता दुवै नगरपालिकाले गरेको छ ।

बोर्डले उपत्यकाभित्रका १० वटा नगरपालिकाहरुमा रहेका ढुंगेधारा र पोखरीहरुको अवस्था बारे अध्ययन गरेर संरक्षणका लागि सबै नगरपालिकाहरुसँग समझदारी गर्ने योजना अनुरुप पहिलो चरणमा यी दुई नगरपालिकासँग समझदारी गरेको हो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै खानेपानी मन्त्री मगरले उपत्यकाभित्रका सबै ताल तलैया पोखरी र ढुंगेधाराहरुको संरक्षण र सौन्दर्यीकरण गर्दै जाने बताइन्। मन्त्रालयको योजना अनुसार नै ढुंगेधारा र पोखरीहरुको संरक्षणमा जुट्न सबै स्थानीय तह र समुदायको सहयोग अति आवश्यक रहेको उनले बताइन् ।

‘प्राचीन शैली र कला कौशलमा निर्माण भएका ढुंगेधारा तथा पोखरीहरुको संरक्षण गर्दै जाने हाम्रो योजना छ ।’ मन्त्री मगरले भनिन्, ‘हाम्रो ऐतिहासिक सम्पदासँग जोडिएका यस्ता ढुंगेधारा र पोखरीलाई जीवन्तता दिन खोजेका छौं । कतिपय ढुंगेधारा तथा पोखरीहरु सुकेका छन् तिनीहरुलाई रिचार्ज सिस्टममा लगेर आम उपभोक्तालाई खानेपानी सेवा पुर्‍याउने हाम्रो योजना हो ।’

‘ढुंगेधारा पोखरीको पानी प्रयोग गरे बापत कुनै शुल्क लिंदैनौं । उनले जोड दिंदै भनिन्, ‘ पानी निशुल्क प्रयोग गर्न पाउनुपर्छ भन्ने हाम्रो चाहना हो, किनकी यो सेवा हो । सबै स्थानीय तह र समुदायसँग सहकार्य गरेर नै अबको दुई वर्षमा यस्ता सम्पदाहरुको संरक्षण गर्दै अघि बढ्ने हाम्रो योजना छ ।’
 
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्रेष्ठले आफ्नो नगरपालिकाभित्र रहेका सबै ढुंगेधारा र पोखरीहरुको संरक्षण दुई वर्ष भित्र गरिसक्ने प्रतिबद्धता जनाए । उनले यो कार्यलाई विशेष प्राथमिकता दिएर अघि बढ्ने र यसका लागि समयमै बजेट विनियोजन हुनुपर्ने बताए।

त्यस्तै मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले ढुंगेधाराको पुनर्निर्माण र पोखरीहरुको संरक्षण गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । आम स्थानीय उपभोक्ताहरुको सहभागितामा यो अभियानलाई पुरा गरेर छाड्ने अठोट गरे ।
 
बोर्डले काठमाडौं उपत्यका भित्रका महानगर सहित १० वटै नगरपालिका भित्र रहेका कूल ५ सय ७३ ढुंगेधारा र २ सय ७३ पोखरीहरुको विस्तृत अध्ययन र नक्सांकन गरेको थियो । जसमध्ये ४ सय ७९ वटा ढुंगेधाराहरु स्थलगत रुपमा भेटिएका र ९४ वटा ढुंगेधाराहरु हराएको अध्ययनले देखाएको छ । त्यसैगरी १ सय ९३ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएका र ४० वटा पोखरीहरु हराएको बोर्डले जनाएको छ ।

मध्यपुर थिमी नगरपालिका भित्र ५९ वटा ढुंगेधाराहरु रहेका छन् भने १७ वटा पोखरीहरु छन् जसमा ३ वटा पोखरीहरु लोप भएका छन् । त्यस्तै महालक्ष्मी नगरपालिकाभित्र १० वटा ढुंगेधारा र १४ वटा पोखरीहरु स्थलगत रुपमा भेटिएको देखिएको छ भने ६ वटा पोखरीहरु विभिन्न कारणले लोप भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ