arrow

नेकपा कार्यालयमा नेता गौतम र रेग्मीको विवाह

logo
रासस,
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
Marriage-._.jpg.jpeg

पोखरा । अनेरास्ववियुका केन्द्रीय सदस्य शेखर गौतमले प्रगतिशील विवाह गरेका छन् । विवाहका नाममा हुने भड्किलो खर्च रोक्दै उनले दाङकी सामना रेग्मीसँग शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको कार्यालय शान्तिवनमा विवाह गरेका हुन् ।

बेहुला गौतमले लामो समयदेखि राजनीतिबाट सामाजिक रुपान्तरणका लागि लडेका अनुभव सुनाउँदै विवाहलाई भड्किलो नबनाएको बताए । सामनासँग आफ्नो विचार मिलेकाले विवाह सम्भव भएको भन्दै उनले यो प्रगतिशील विवाहलाई जीवनको अनन्तकालसम्म सुन्दर बनाउने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी दुलही सामनाले पनि भड्किलो खर्च विवाहमा आवश्यक नरहेको भन्दै शुभेच्छुक बीचको प्रगतिशील विवाह दुवैको रोजाइ भएकाले खुशी रहेको बताइन् ।  

विवाह समारोहमा खेलकूदमन्त्री जगत विश्वकर्माले उनीहरुलाई वैवाहिक जीवनको शुभकामना दिँदै संस्कार र संस्कृतिका नाममा हुने भड्किला गतिविधिलाई सचेत युवाले रोक्न सक्नुपर्ने धारणा राखे। विवाह एकअर्काको साथ र विश्वासले दिगो हुने भएकाले फजुल खर्च विवाहमा आवश्यक नरहेको उनले बताए ।

नेकपा केन्द्रीय सदस्य एवं प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले गौतम सामना समाजमा उदाहरणीय पात्र भएको भन्दै वैवाहिक जीवनको शुभकामना व्यक्त गरे ।

 गौतमका बुबा रुद्रनाथ गौतमले छोरा–बुहारीको खुशी नै आफ्नो खुशी भएकाले छोराको प्रगतिशील विवाहबाट आफू खुशी रहेको बताए ।

 सो वैवाहिक समारोहमा अनेरास्ववियुका केन्द्रीय संयोजक ऐनकुमार महर, नेकपा महानगरपालिका अध्यक्ष दीपक पौडेल लगायतले पार्टी नेता तथा कार्यकर्ता आफन्त शुभेच्छुकहरुले नवजोडीलाई वैवाहिक जीवनको शुभकामना दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ