काठमाडौं । मन्जिभसिंह पुरीको अवकाशसँगै भारतले नेपालमा नयाँ राजदूतका रुपमा विनयमोहन क्वात्रालाई काठमाडौ पठाएको छ । क्वात्रालाई भारतीय विदेश मन्त्रालयले जनवरी ३० मा नेपालका लागि राजदूत नियुक्तिको निर्णय गरेसँगै क्वात्रा आइतबार फ्रान्सबाट सिधै काठमाडौं आएका हुन्।
तीन दशकदेखि भारतीय विदेश सेवामा कार्यरत क्वात्राले संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, फ्रान्सजस्ता राष्ट्रमा काम गरेका छन् । भारतका एक अनुभवी कुटनीतिज्ञका रुपमा चिनिने क्वात्राको अनुभवले उनको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास कुटनीतिका जानकारहरूले गरेका छन् ।
क्वात्रा सन् १९८८ समूहबाट लागि भारतीय विदेश सेवामा प्रवेश गरेका अधिकृत हुन् । काठमाडौं आउनुअघि उनी फ्रान्समा राजदूत थिए । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) जस्ता संयुक्त राष्ट्र संघका विभिन्न अंगमा पनि काम गरेका छन् । चीन र अमेरिकामा भारतीय कूटनीतिक नियोगलाई सफल रुपमा उभ्याउन उनको उल्लेख्य योगदान रहेको कुटनीतिक वृतमा चर्चा हुने गरेको छ । भारत र क्यानडा सम्बन्धलाई पनि उचाईंमा पुर्याउन भूमिका खेलेका थिए । जेनेभामा मानव अधिकार आयोगमा कार्यरत रहँदा उनले ग्रेजुएट स्कूल अफ इन्टरनेशनल स्टडीजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा गरे। दक्षिण अफ्रिका र उज्बेकिस्तानमा कूटनीतिक मिसनहरूमा पनि उनले काम गरेका छन्।
भारतमा आतंकवाद विरोधी विभागका इन्चार्ज र प्रधानमन्त्री कार्यालयमा सह सचिवको पद सम्हालेका क्वात्राले २००६ देखि २०१० सम्म नेपालको सार्क सचिवालयमा व्यापार, अर्थव्यवस्था र वित्त ब्यूरोको प्रमुखको रूपमा प्रतिनिधित्व गरेका थिए।
भारतीय विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान डिभिजनको नेतृत्व पनि गरेका क्वात्राले व्यवसाय प्रशासनमा स्नातकोत्तर र अर्थशास्त्रमा एमफिल डिग्री गरेका छन्।