arrow

जाडो विदा : गैडाकोटमा मौलाकालीकाको दर्शन

logo
पूर्णीमा घिमिरे
प्रकाशित २०७६ फागुन १८ आइतबार
Purnima-panthi-ghimire.jpg

यस वर्षको जाडो विदाले हाम्रो यात्राको अवसर जुराई दियो । सपरिवार घुम्न जाने क्रममा हामी यसपटक गैडाकोटको मौलाकालीका देविको दर्शन गर्न पुग्यौं । यसलाई डाडाकालीका पनि भन्ने गरिन्छ । गैडाकोट मधेशको समथर भुभाग सुरु हुने ठाउँ हो । मधेशसँग जोडिएको पहाडको थाप्लोमा केही सय वर्ष अघि सैनीकरुले मौलामा देवीको स्थापना गरि पुजाआजा गर्दै आएको स्थान हो । समथर भुभागमा बस्ने व्यक्तिहरुका लागि यो पहाडको उकालो राम्रै थकाई लाग्ने खालको छ ।

हाम्रो फुपु राधा लम्साल र फुपाजु कृष्णशरण लम्सालको घर गैडाकोटमा छ । हामी समय समयमा गइरहेका हुन्छौं । यस पटक बाबा रामचन्द्र, मम्मी गंगादेवी, भाइ शाश्वत र म माघको जाडो काठमाडौंबाट छल्न चितवन गएका थियौं । बाबाले भाइ र मलाई देवीको दर्शन गर्न जाऔं भन्नु भयो । मम्मीलाई फुपुलाई भान्छामा सहयोग गर्न बस्न भन्नु भयो । हामी विहानको नित्य कर्म सकेर देवीको दर्शन गर्न यात्रा प्रारम्भ गर्‍यौं ।

मौलाकालीकाको फेदसम्म फुपाजु कृष्णशरण पनि हामी सँगै यात्रामा हुनुहुन्थ्यो । सिलान्यासबाट फेदीसम्म आइपुग्दा र फुपाजुको हिडाईमा हिड्दा हामी अलिअलि थाकि पनि सकेका थियौं । फुपाजुको जिउ ठूलै भएपनि निक्कै छिटो र फुर्तीसाथ हिड्नु हुदो रहेछ । उकालोको फेदीमा पुगेपछि, उहाँको राधाकृष्ण मन्दिर निम्वार्क दर्शनमा मिटिङ्ग भएको हुदा त्यसतर्फ लाग्नु भयो । बाबा, भाइ र म सिढि उक्लन थालियो । बाबाले सुरुदेखि नै सिढी गन्न थाल्नु भयो । सत्तरी सिढी चढेपछि गणेशको मन्दीरमा पुग्यौं ।

त्यसपछि तिन खुट्कीला पार गरेपछि राधाकृष्णको मन्दीर आयो । हामीले नमस्कार गर्दै अघि बढ्यौं । पाँच सय बत्तिस सिढी चढेपछि एउटा चौतारो आयो । यो चौतारोमा एकछिन हामीले विश्राम गर्‍यौं । बाबाले भाइ र म नथाकुन भनेर विभिन्न कुराहरु गर्नु हुन्थ्यो । हामीलाई फोटो खिच्न भन्नु हुन्थ्यो । भाइले निक्कै राम्रो फोटो खिच्ने भएको हुदा बाबाले ल फोटो खिच भनेर भनिहाल्नु हुन्थ्यो ।

सिढिको ठाडो उकालो, सालघारीको जंगल जाडो मौसम भएपनि हाम्रो शरिरमा पसिना बग्न थालीसकेको थियो । सालघारीको जंगल भएपनि अन्य बोट विरुवाहरु पनि प्रसस्त रहेछ । चराचुरुङ्गी, जंगली जनावर र तीर्थालु अन्य यात्रु सहित हाम्रो यात्रा अघि बढीनै रहेको थियो । हामी सबै दृश्य आखाले हेर्दै मनमा सजाइ राखेका थियौं । फेरि पाँच सय पाँच सिढी चढेपछि अर्को चौतारी अयो । त्यहाँ पनि हामीले विश्राम गर्‍यौं । केही तस्वीरहरु खिच्यौं ।

भाइलाई मेरो हिडाई ढिलो भएर सिढीको बाटो छोडेर ठाडो जंगलको बाटो केही माथि पुगेर हामीलाई करिरहन पथ्र्यो । बाबा मेरो पछिपछि हिड्नु हुन्थ्यो । तिमीलाई गाह्रो भएको छ कि भन्नु हुन्थ्यो म हास्दै भएको छैन भन्थे । बाबाले घरिघरि मलाई पछाडिबाट उकालो उक्लन सपोर्ट गरिदिनु हुन्थ्यो । म खासै थाकेकी र हिड्न नसकेकीत थिइन । तर पनि बाबाले मलाई गाह्रो हुन्छ कि भनेर निक्कै केयर गर्नु हुन्थ्यो । हामी रमाईलो गर्दै उक्लि रहेका थियौं । मैले यसैबेला जमुना मम्मीलाई संझिए भारतको तीर्थ यात्रा कठिन भएको मलाई सुनाउनु भएको थियो । मम्मीको पित्त थैलीमा पत्थरी रहेछ । त्यसैले गाह्रो बनाएको भन्नु हुन्थ्यो ।

बाबाले हामीलाई हिड्नका लागि हौसला दिइरहनु हुन्थ्यो । केही हिडेपछि नबसीकन ठाडैं एकछिन उभिय भन्नु हुन्थ्यो । यसरी पनि थाकेको शरिरमा थकाई हराउदो रहेछ मलाई यो अनुभव भयो । बाबाको प्रेरणाले होला खासै थकाई लागेको अनुभव भएन । हामी तलबाट माथि उक्लदा घाम लागेको थिएन । मौसम चिसो नै थियो । तर हिडाइले गर्दा जिउ भने तातेको थियो । यात्रुहरु जाने, आउने क्रम थियो । तर हामीलाई तलबाट आउने अरुले उछिन्न भने सकेका थिएनन् ।

त्यसैगरी फेरि छ सय छपन्न सिढी उक्लीयौं । आराम गर्दै उक्लिए पनि हाम्रो शरिरबाट पसिना निस्किरहेको थियो । हाम्रो हिढाई ढिलो पनि थिएन, छिटो पनि थिएन । एकै नासले हामी हिडिरहेका थियौं । करिव सत्र सय छैसट्ठी सिढी उक्लेपछि हामी मौलाकालीका मन्दिरमा पुग्न सफल भयौं । हाम्रो शरिरलाई आराम दिन बाबाले अब एकछिन बसौं भन्नु भयो । दक्षिण तर्फको बेन्चीमा हामीले एकछिन थकाई मार्‍यौं ।

मन्दिरमा घाम लागि सकेको रहेछ । हामीले देवीको पुजा गर्‍यौं । महादेवको पुजा गर्‍यौं । बाबाले केही रुपैंया भगवानलाई चढाउन भन्नु भयो । मैले लिएर आएकि थिए, चढाए । बाबा र भाइले पनि चढाउनु भयो । हामीलाई देवीको पुजा गरिसकेपछि केही प्रसाद गुरुले दनिु भयो । प्रसाद राख्नका लागि शिव मन्दिरमा पुजा गर्न बस्नु भएको गुरुसँग एउटा झोला माग्यौं उहाँले झोला दिनु भयो । पश्चिम तर्फ रहेको शिवजीको मन्दिरमा पुजा गरेपछि गुरुले दिनु भएको अक्षता र फुल पनि त्यहि झोलामा राख्यौं ।

पश्चिम दक्षिण स्थानमा एक गुरुले महाप्रसाद सहित लिएर बस्नु भएको रहेछ । उहाँ अन्य गुरु भन्दा फरासिलो हुनुहुदो रहेछ । उहाँले हाम्रो बाबालाई सोध्नु भयो तपाईहरु कहाँबाट आउनु भएको हो भनेर । बाबाले हामी काठमाडौंबाट आएको हो । गैडाकोटमा हाम्रो दिदीको घर छ । यहाँ आएको बेलामा देवीको दर्शन गरौं भनेर आएको भन्नु भयो । उहाँले हामी सबैलाई आज यहाँ बसेर प्रसाद(खाना) लिएर मात्र जाऔं भनेर अनुरोध गर्नुभयो । बाबाले हामी अर्को पटक आउछौं भन्नु भयो । उहाँले कर गरिहनु भएको थियो ।

ठूलोबाबा नरहरि आचार्य शान्ति तथा पुर्ननिर्माण मन्त्री हुदा यस मन्दिरमा भवन बनाउन मन्त्रालयबाट सहयोग गरिएको रहेछ । बाबाले यो कुरा गुरुसँग गर्नुभयो । शान्ति मन्त्रालयले दिने भनेको रकम सबै आयो ? गुरुले भन्नु भयो, ३५ लाख सबै आयो र हामीले त्यो भन्दा धेरै खर्च गरेर काम सम्पन्न गर्‍यौं भन्नु भयो । उहाँहरुको कुरा सुनेर म आनन्दित भइरहेकी थिए । साच्चिकै यसरी नै सबै ठाउँमा यसरी नै सदुपयोग हुने  हो भने कति राम्रो हुन्थ्यो होला । हाम्रो देशमा पनि छिट्टै विकास हुन्थ्यो होला भने । मैले मनमनै देवीसँग यही नै प्रार्थना पनि गरे ।

हामीले वरिपरि बस्दै, तस्वीर खिज्दै गर्‍यौं । त्यहाबाट देखिने मनमोहक दृश्यको आनन्द लिइरह्यौं । मन्दिर जस्तो पवित्र स्थानमा हुदा मन निक्कै हर्षित र प्रफुल्लीत भइरहेको थियो । त्यहाँ रहेको दान पेटीकामा हाम्रो गच्छे अनुसार दान दियौं । सबै गुरुहरुसँग विदा लिदै केही बेरको बसाई पछि हामी अब तल झर्ने प्रक्रियामा लाग्यौं । बाबाले अन्तिममा आफुसमेत सहभागी भएर पठाएको योजनाले कस्तो भवन बनेछ भनेर अवलोकन गर्नुभयो । त्यसपछि हामी ओर्लन थाल्यौं ।

झर्ने क्रममा हाम्रो पछाडि आउदै गरेका दुईटा युवकलाई प्रश्न गर्नु भयो तिमीहरु कहाँबाट आएका हौं बाबु हो ? उनले भने यही चितवनबाट नै हो । फेरि बाबाले सोध्नु भयो तिम्रो नाम केहो ? उनीहरुले भने मेरो नाम सुशील सुवेदी हो । अर्कोले भने मेरो नाम सूर्य परियार हो । हामी माथि उक्लदा पनि उनीहरु हामीसँगै उक्लिएका थिए ।

उनीहरुले भने अघि उक्लदा किन बोल्नु भएन भन्ने लागि रहेको थियो । मलाई बोल्न मन लागि रहेको थियो बोल्न सकिन भने । सुशील जापानमा बस्दा रहेछन् । अहिले नेपालमा  आएको बेलामा विवाह गर्न खोजिरहेका रहेछन् । यो कुरा बाबालाई उनले सुनाइरहेका थिए । हामी अन्जान मानिससँगको पहिलो भेटमा नै पनि उनले आफ्ना सबै कुरा खोले । बाबाले पनि उनलाई आफ्नै छोरा जस्तो गरेर सल्लाह दिईरहनु भएको थियो । उनी खुला स्वभावको मानिसका रुपमा हामीले उनलाई चिन्यौं ।

बाबा र उनीहरुको दोहोरो कुरा  हुदा बाबाले भाइ र मेरो परिचय पनि उनीहरुसँग गराई दिनु भयो । म एमएस्सीको विद्यार्थी भाइ १२ कक्षा पढ्दैछन् । उनको दुईवटा कृति सार्वजनिक भइसकेको छ । पहिलो कविताको र दोस्रो उपन्यास हो भन्नु भयो । उनले पनि हाम्रो भाइलाई हेर्दै भने यिनी त धेरै पढ्लान जस्तो देखिन्छन् । पढ्ने मान्छे फरकै हुन्छ भने । अनि फेरि बाबाले सोध्नु भयो त्यस्तो पनि चिनिन्छर ? उनले भने हो चिनिन्छ भने । यस्तै कुरा गर्दै हामी तल झरेको पत्तै भएन । कति छिटै तल आइपुगिएछ । उनिहरु टेप्पोमा चडेर हिडे ।

यतिखेर सुन्तलाको सिजन हो । मौलाकालिकाको फेदमा ससाना सुन्तला एक सय रुपैयाको तिन किलो भन्दै थिए । तर हामीले किनेनौं, किन कि हामीले मुग्लीनबाट नै किनेर आएका थियौं । बाबाले भाइ र मलाई तिमीहरु थाकेका छौं कि भनेर सोध्नु भयो । हामीले थाकेका छैनौं रमाईलो भयो भन्यौं । हामी कुरा गर्दै फुपाजु र फुपुको घरमा आयौं । मम्मीहरुले खाना तयार बनाएर राख्नु भएको रहेछ ।

परिवारसँगको यात्रा रमाईलोका साथै धेरै आनन्दित लाग्छ मलाई । बाबा, मम्मीले समय समयमा हामीलाई घुमाउन लिएर हिडिरहनु हुन्छ । यस्तो यात्राले हाम्रो मानसिकतामा पनि सकारात्मक असर पार्ने रहेछ । यसरी समय निकालेर सबैले यात्रा गर्नु राम्रो हुन्छ । मौलाकालिका देवीको दर्शन गरेर मन प्रसन्न भएको छ । सबैलाई सुख र शान्ति देवीले प्रदान गरुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ