दुधे बालक च्यापेकी महिला पिट्ने इन्स्पेक्टर कारबाहीमा
प्रकाशित २०७६ फागुन १८ आइतबार
393
Shares
काठमाडौं । हेमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने प्रहरी निरिक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेल कारबाहीमा परेका छन् । हेम खत्रीको घरमा श्रेष्ठमाथि लाठी प्रहार गर्ने इन्स्पेक्टर पौडेललाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट प्रहरी परिसर ललितपुर तानिएको छ ।
हेमालाई बिहीबार भैसेपाटीस्थित पूर्व जर्नेल हेम खत्रीको निवासमा प्रहरीले निर्मम कुटपिट गरेको थियो । माला शाह नाम गरेकी एक महिलाले आफुलाई हेम खत्रीले लामो समय सम्बन्धमा रहेर धोका दिएको दावी गर्दै खत्रीको घर घेर्न केही अधिकारवादीलाई लिएर पुगेकी थिइन् ।
जसमा दुधे बालक च्यापेर हेमा पनि पुगेकी थिइन् । घरबाट महिलाहरुलाई निकाल्नेक्रममा इन्स्पेक्टर पौडेलले बालक च्यापिरहेकी हेमालाई लखेटी लखेटी पिटेका थिए।
प्रहरी प्रधान कार्यालयबाट निर्देशनपछि ललितपुर प्रहरी परिसरले छानविन शुरु गरिएको छ । निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
भैँसेपाटी प्रहरी प्रभागका प्रमुख पौडेल आफै घटनास्थल पुगेर महिलामाथि हातपातमा उत्रिएका थिए। प्रारम्भिक छानबिनमा उनको गल्ती देखिएपछि प्रहरी परिसर ललितपुर तानिएको हो । उनले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।