कसले दिँदैछ प्रम ओलीलाई मृगौला, कति वैध कति अवैध ?
कानुनको कार्यान्वयनमा कडाइ कि संशोधन ?
प्रकाशित २०७६ फागुन १९ सोमबार
855
Shares
काठमाडौं। दोस्रो पटक चाहिँ बिहेको कुरा छिन्न आउँदा भेट भयो केपी ओलीसँग । उनका बुबा ध्रुव घिमिरे लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय थिए । अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग घिमिरेले छोरीको बिहे गर्न उपयुक्त वर कोही छ भने खोजिपाऊँ भनेछन् । केपी ओलीका काकाका छोरा तारालाई उनले भाइ बनाएकी थिइन् । घिमिरेपुत्री अन्जान उनै तारासँग बिहे गरेर स्कुले जीवनमा टाढाबाट देखेको त्यस दुब्लो मान्छेकी बुहारी हुँदैछु भन्ने सत्यप्रति पूर्णरूपमा अन्जान नै थिइन् त्यस बखत । कुरा छिन्न भनेर आएका केही मानिसमा ओली पनि थिए, जसले हँसिली अन्जानलाई देखेपछि भनेछन्, ‘यी नानीले मेरो भाइसँग बिहे गरिन् भने म धेरै खुसी हुनेछु ।’
यसअघि प्रकाशित कान्तिपुर दैनिकको समाचार सामग्रीमा यो कुरा उल्लेख छ । जसको अर्थ हुन्छ– ओली र उनलाई मृगौला दिने बुहारीका पति (भाइ) एउटै पेटका नभएर दुई भाईका छोराहरु हुन् ।
मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ सालमा आयो । त्यसपछि यो ऐन सबैले पालना गर्नुपर्छ । ऐनले मृगौला दान दिने र लिने नजिकको नातेदारको बारेमा प्रष्ट भनेको छI ऐनको दफा २ को ठ ले “नजिकको नातेदार” भन्नाले "अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाई, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासु, ससूरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजु, बुहारी, मामा, माइजु, भान्जा, भान्जी, साला, साली, फूपु, फूपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाँई, जेठान सम्झनु पर्छ," भनेेको छI
१४ क, अङ्ग दान दिन सक्ने बारेमा यो व्यवस्था गरिएको छ–
(१) देहायको व्यक्तिले विरामीलाई आफ्नो अङ्ग दान दिन सक्नेछ ।
(क) विरामीको नजिकको नातेदार ।
(ख) दुई वा दुईभन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्काको परिवारको सदस्यले लिन दिन सक्ने ।
पहिलो पटक ओलीले ग्रहण गरेको मृगौला आफ्नै भाइकी श्रीमती (अरु भाइ होइन) बाहेकले अंगदान गरेको अवस्थामा लिन मिल्दैन । तर ओलीले कसरी प्राप्त गरे ? यसको कानुनी प्रश्न अहिले पनि जिउँदो छ।
भाइ नाता लगाएर गर्ने हो भने मामाको छोरा भाइ, सानिमाको छोरा भाइ, फुपुको छोरा भाइ, काकाको छोरा भाइ, अर्को हजुरबुबाको छोरा भाइ सबैले दिन मिल्ने थियो तर यसको कानुनमा उल्लेख छैन।
यदि दायरा फराकिलो हुन्थ्यो भने ऐनमा नै यो यो नाताको भाइले दिन मिल्छ भनेर उल्लेख हुन्थ्यो होला तर लेखिएको छैन । नत कानुन संसोधनमा कसैको ध्यान गएको छ। यसको अर्थ एउटै बाबु आमाको भाइ र उसकी श्रीमती बाहेकले मृगौला दिन मिल्दैन ।
तर यहाँ मृगौला लेनदेनको विषयमा सगर्व घोषणा हुँदापनि कानुन आकर्षित भएन । तर यस्तै प्रकरणमा अन्य कतिपय नागरिकले कानुनी झमेलामा फस्नु परेको छ।
मृगौला प्रत्यारोपण गरेका एक कानून व्यवसायी भन्छन, ‘प्रधानमन्त्री ओली प्रत्यारोपणको चरणमा छन् । यो मानवीय संवेदनाको विषय हो । तर पहिलाको जस्तै गोलमटोल नाता प्रमाणित गरेर हुने प्रत्यारोपण भने कानुनी दृष्टिमा वैध हुन्न।’
तर यस्तै प्रत्यारोपणमा गर्दा कोही जेल जाने अनि प्रधानमन्त्री ओलीको बारेमा आँखा चिम्लिने हो भने सबैलाई समान ढंगले लागू हुने गरि कानुनमा संसोधन आवश्यक छ।
संसदले यसमा ध्यान पुर्याउन आवश्यक छ। प्रधानमन्त्री ओली दोस्रोपटक पनि मृगौला प्रत्यारोपण अन्तिम तयारी गरिरहँदा फेरि पुरानै प्रश्न उठ्न थालेको छ। प्रधानमन्त्री ओलीलाई यो पटक मृगौला कस्ले दिँदैछ अनि त्यो कति वैध छ की अवैध ? आशा छ प्रधानमन्त्रीको सचिवालयले जानकारी दिनेछ।