करेलीकाँडा ४० भन्दा धेरै बासिन्दा अज्ञात रोगले परे थला
प्रकाशित २०७६ फागुन १९ सोमबार
479
Shares
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाँउका बासिन्दा अज्ञात रोगका कारण थला परेका छन् । मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाँउमा अज्ञात रोगले ४० भन्दा धेरै गाउँका बासिन्दा थला परेका स्थानीय सुवास लामाले जानकारी दिए ।
“पैँतालीस घरधुरी भएको करेलीकाँडा गाँउमा अधिकांश रोगले थला परेको एक साता धेरै भइसक्यो, घरैपिच्छे बिरामी देखिन थालेका छन्”, उनले भने, “एकपछि अर्को गरेर गाँउभरि नै रोग फैलिन लागिसक्यो, औषधि भने छैन ।”
अज्ञात रोगका कारण साना बालबालिकादेखि वृद्धवृद्धासम्म सिकिस्तै बिरामी परेका छन् । गाँउबाट स्वास्थ्यचौकी टाढा भएकाले बिरामी नै हिँडेर पुग्ने अवस्था नभएको उनले जानकारी दिए । उक्त रोगबाट ग्रसित बिरामीमा एक्कासी टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिने गरेको स्थानीयले बताएका छन् ।
उक्त लक्षण देखिएका बिरामीसँगै बसेर कुरा गरेको केही समयपछि स्वस्थ व्यक्तिमा पनि ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिने गरेको अर्का स्थानीय विष्णु बुढाले बताए । “एकै घरका नौ जनासम्म बिरामी छन्, दैनिकजसो रोग फैलँदै छ, औषधि नभएकाले सबैले औषधि खान पाएका छैनन्” उनले भने ।
उक्त लक्षण देखिएका बिरामी गाँउदेखि एक घण्टा समय लाग्ने त्रिपुराकोट बगरमा रहेका निजी क्लिनिकमा पनि उपचारका लागि आउने गरेका छन् । केही दिनयतादेखि करेलीकाँडा गाँउबाट मात्रै दैनिकजसो उपचार गर्न बिरामी आउने गरेका मनिष मेडिकलका सञ्चालक गोरबहादुर विकले जानकारी दिए ।