arrow

वुहानबाट ल्याइएका नेपालीको यसरी वित्यो क्वारेन्टाइनको बसाइँ

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार

काठमाडौं । चीनको वुहानबाट सरकारले उद्धार गरेर ल्याएका १७५ नेपालीको स्वास्थ्यमा राम्रो रहेको रिपोर्ट आएपछि सोमबार सबै क्वारेन्टाइनबाट आफ्नो घर फर्केका छन् । क्वारेन्टाइन बसाइँको १४औँ दिनमा गरेको नाक र घाँटीको स्वाबको परीक्षणमा कसैमा पनि कोरोनाको सङ्क्रमण भएको नपाइएपछि आज सबैलाई घर फर्काइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतसहितको सरकारी टोलीले क्वारेन्टाइन पुगेर उनीहरुको बिदाइ गरेको छ । चीनको त्रास छिचोलेर सरकारले उद्धार गरी खरिपाटीस्थित क्वारेन्टाइनमा राखेका १७५ नेपालीको १६ दिनको क्वारेन्टाइन बसाइँ भने खेल्दै, नाच्दै, गाउँदै रमाईलोसँग बितेको छ । शुरुमा अब के होला भन्ने त्रास रहे पनि यही फागुन ४ गते क्वारेन्टाइन छिरेपछि सरकारले गरेको व्यवस्था देख्दा निकै खुशी लागेको उल्लेख गर्दै क्वारेन्टाइनका एक विद्यार्थीले यहाँ आएपछि अब दोस्रो जुनी पाएको अनुभव भएको बताए ।

क्वारेन्टाइनमा टेलिफोनमा कुराकानी गर्दै उनले कतै यहाँ पनि चीनमा जस्तै कोठाभित्र कोचिएर बस्नुपर्ने हो कि, क्वारेन्टाइनका दुई हप्ताको बसाइँ कति कठिन होला, परिवारसँग कहिले भेट्न पाइएला भन्ने मनमा लाग्ने गरेको चिन्ता सरकारले यहाँ गरेको व्यवस्थाले सबै दुःख र त्रास बिर्साएको जानकारी दिए । यहाँ आएपछि खाने, बस्ने राम्रो व्यवस्था गरेको, आवश्यक सबै सामान भन्नेबित्तिकै ल्याइदिने गरेको, स्वास्थ्य जाँचको राम्रो व्यवस्था गरेको, परिवारसँग फोनमै कुराकानी गर्न पाएपछि क्वारेन्टाइनमा चिन्तामुक्त भएर बस्न पाएको उनले बताए ।

क्वारेन्टाइनमै रहेका अर्का एक व्यक्तिले यहाँ आएपछि आफ्नै देशको माया लागेर आएको बताए । उनले भने, “यहाँ आएपछि दोस्रो जुनी पाएको अनुभूति गरियो, त्यसपछि हरेक दिन हामी खेल्ने, नाच गान गर्ने, रमाउने गर्दै सबै पारिवारिक वातावरणमै रहेको अनुभूति भयो, क्वारेन्टाइनमा भन्दा पनि सुविधा सम्पन्न होटलमै बसेजस्तो भयो ।” यो १६ दिनको बसाइँमा बिहान बाहिर निस्किएर शारीरिक व्यायाम गर्ने, भलिबल खेल्ने, व्याडमिन्टन खेल्ने, खाना खाएपछि पनि क्यारेमबोर्ड, लुडो खेल्ने, साथीसँग गफ गर्ने साँझ नाचगान गर्ने गर्दैमा बितेको उनीहरु बताउछन्।

क्वारेन्टाइन बसाइँमा घरका मानिससँग प्रत्यक्ष भेट गर्न नपाए पनि नजिकै भएको महसुस गर्न पाइएको बताउँदै चीनको वुहानका विभिन्न ठाउँबाट आएकासँग क्वारेन्टाइनमा चिनजान गरी सम्बन्ध विस्तार गर्न पाएकामा उनीहरु खुशी छन् । आफूहरु यहाँ आएपछि सबैका परिवारमा खुशी आएको उल्लेख गर्दै यहाँका बासिन्दामा त्रास फैलिएको र घर गाउँ नै छाडेर गएको भन्ने सुन्दा निकै दुःख लागेको उनीहरुले बताए ।

सम्बन्धित निकायले बेलैमा स्थानीय बासिन्दामा जनचेतना फैलाएको भए यहाँका बासिन्दामा त्रास फैलिदैनथ्यो होला भन्ने लागेको उल्लेख गर्दै अहिले स्थानीय पनि त्रास हटाएर घर फर्किएको सुन्दा भने खुशी लागेको क्वारेन्टाइनमा रहेका एक विद्यार्थीले बताए । क्वारेन्टाइनमा रहेका डाक्टर पढ्न चीन गएका एक विद्यार्थीले भने, “म डाक्टर पढ्न चीन गएको हुँ, वुहान कोरोनाको मुहान हो, कोरोना नियन्त्रण गर्न चीनलाई मुश्किल परेको छ, त्यसैले हाम्रो सरकारले कोरोनालाई नर्मल लिनुहुँदैन, बेलैमा सबै प्रकारको सावधानी अपनाउनु आवश्यक छ ।”

क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य रेखदेख गर्दै आएका नेपाली सेनाका क्याप्टेन डाक्टर नवीन फुयाँलले १६ दिनसम्मको बसाइँ नाचगान गर्दै, हाँसखेल गर्दै बितेको बताए । उनीहरुले शारीरिक व्यायामदेखि भलिबल, व्याडमिन्टन, क्यारेम बोर्ड, लुडो खेल्ने, साँझमा नाचगान गर्ने गर्दै रमाइलोसँग बिताएको उल्लेख गर्दै यहाँ रहेका सबैको स्वास्थ्य परीक्षणमा कोरोनामुक्त रिपोर्ट आएकाले आफू खुशी भएको फुयाँल बताउछन्।

क्वारेन्टाइनमा सुरक्षाको जिम्मेवारी सम्हालेका नेपाली सेनाको वीर दल गणका गणपति कर्णेल शिव पौडेलले यहाँ रहेका सबै स्वस्थ रहेका र कोरोना सङ्क्रमित कोही नभएको पुष्टि हुँदा निकै खुशी लागेको बताए । “हामीले सकेसम्म सबै सेवासुविधा दिएर व्यवस्थापन गर्‍र्यौं, आज उनीहरुलाई बिदाइ गर्दा सरकारदेखि सबै खुशी भएको देख्दा हामी पनि खुशी छौँ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ