नेपाल ट्रेड युनियन कांग्रेसको ७४ औं स्थापना दिवसमा कसले के भने ?
प्रकाशित २०७६ फागुन २२ बिहिबार
514
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार कम्युनिष्ट राज्यसत्ता निर्माण गर्न उद्यत रहेको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसको ७४ औं स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले आफ्नै पार्टीका नेताहरुले समेत प्रतिपक्ष कमजोर भएको भन्ने अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै सरकारको विरोध गर्ने निहुँमा कुर्सी र रेलिङ भाच्ने काम नगर्ने बताए ।
उनले आफ्नो पार्टीको हार हुने थाहा हुँदा हुँदै पनि दिगो शान्ति र लोकतन्त्रको लागी निर्वाचन गराएको बताउँदै लोकतन्त्रको रक्षाको लागि कांग्रेस सक्षम रहेको बताए ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले दुई तिहाई मतको दुरुपयोग गर्दै स्वेच्छाचारी ढङ्गले अगाडि बढिरहेको टिप्पणी गरे । उनले लोकतन्त्र नै खतरामा पर्ने अवस्था सिर्जना भैसक्दा पनि प्रतिपक्ष सशक्त बन्न नसकेको बताए ।
पार्टी नेता कृष्णप्रसाद सिटौलाले सबैले मिलेर ल्याएको लोकतन्त्रलाई नेकपाकै खतरा रहेको बताउँदै सरकारले श्रमिक अधिकार कुण्ठित गर्नेदेखि राज्यका अंगहरुलाई नेकपाको शाखा जस्तो ठानेको आरोप लगाए ।
ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले सरकार श्रमिकको अधिकार बन्देज लगाउन उद्घत रहेकोले कांग्रेस सजग हुनु पर्ने बताए ।
जिफण्टका अध्यक्ष विनोद श्रेष्ठले जुनसुकै दल सत्तामा पुगे पनि श्रमिकको काम नगरेको गुनासो गरे । सार्कटुकका महासचिव लक्षण बहादुर बस्नेतले सरकारले श्रमिकको जिवन स्तर उठाउने नीति कार्यक्रम ल्याउनु पर्ने बताए ।
ट्रेड युनियन कांग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा योजनाले समेट्नु पर्ने बताए । उपाध्यक्षहरु तेजेन्द्र कार्की , अजय राई, आबद्ध संघका अध्यक्षहरु पदमराज रेग्मी , भगवती खड्का र सविरमान विकले वर्तमान सरकार श्रमिक विरोधि कार्यमा उद्यत रहेको आरोप लगाए ।
कांग्रेसका पूर्व सभापति स्व गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा विसं२००३ साल फागुनमा विराटनगर क्षेत्रको मिल्स मजदुरहरुको अधिकारका लागि आन्दोलन भएको दिनलाई ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आइरहेको छ ।
यसका संस्थापक अध्यक्ष गिरिजा प्रसाद कोईराला नै हुन् ।