arrow

कोरोना : सार्वजनिक कार्यक्रम तथा सभा सञ्चालन नगर्न अपिल

कोरोना भित्रन नदिन सचेतना

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
corona-virus.jpg

बागलुङ । कोरोना भाइरसको सङ्क्रमण हुन नदिने गरी देशभरी थालिएका अभियान सफल पार्न जिल्ला प्रशासन कार्यालय बागलुङसहित सरोकारवाला निकायले पनि अभियान थालेका छन् ।

राजनीतिक दलले यो अभियानलाई प्राथमिकतामा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्ण बैठक र काँग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि कोरोना सङ्क्रमणबारे सचेत बन्ने विषयले छलफलको समय पाएको थियो । नेकपाले आगामी चैत १ गतेदेखि थाल्ने भनेको पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानमा पनि कोरोना विरुद्धको सचेतना चलाउने बताइएको छ । पार्टी अध्यक्ष ईन्द्रलाल सापकोटाले यो अभियान जनभेटघाट मात्र नभइ स्वास्थ्य शिक्षा दिने खालको पनि हुने बताए । हरेक घरमा सरसफाइबारे चेतना दिने, स्वच्छ खानपान, बाहिरी सम्पर्कबाट बच्ने विषयको पर्चासमेत बनाएर घर–घरमा बाँड्ने तयारी गरिएको उनले बताए ।

काँग्रेस बैठकमा पनि कोरोना सङ्क्रमणबारे कार्यकर्ता र जनता तहमा अभियान चलाउनुपर्ने बहस चलेको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले बताए । पार्टीको पदाधिकारी चयन, विभाग गठनलगायतका लागि थापाकै अध्यक्षतामा कार्यदलसमेत बनेको उनले बताए । उक्त कार्यदलले पार्टीको विवाद मिलाउनेदेखि आम जनतालाई स्वास्थ्य शिक्षामा साथ दिने कामसमेत गर्ने बताइएको छ ।

प्रशासनले भने सार्वजनिक कार्यक्रम तथा सभा सञ्चालन नगर्न र आम नागरिकलाई पनि भीडभाडमा नजान अपिल गरेको प्रजिअ गौलोचन सैंजुले बताए । उनले कारागारका बन्दीलाईसमेत स्वास्थ्यको ख्याल गर्न र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिइएको जानकारी दिए । क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी भएकाले घटाउँदा स्वास्थ्य समस्या कम हुने सुझावसमेत आए पनि त्यो भने सम्भावना नहुने उनले बताए ।

सङ्क्रमणबाट बचाउने अभियानकै लागि अधिकांश विद्यालयले यही फागुन २८ गते देखिनै परीक्षा सञ्चालनको तयारी गरेका छन् । आगामी चैत ५ गतेभित्र परीक्षा सकेर एक महिना लामो बिदा दिने विद्यालयको तयारी छ । सरकारले पनि यो अभियानको थालनी गरेकाले सबै विद्यालयमा तयारी भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ